ओलीको फिल्म सुटिङ, पहिलो सट दुई टेकमा ओके (भिडिओ) – Nepal Press

ओलीको फिल्म सुटिङ, पहिलो सट दुई टेकमा ओके (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो केहीबेरका लागि ‘बहालबाला प्रधानमन्त्री’ भए । तर, वास्तविकतामा नभएर फिल्म सुटिङमा ।

रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा ओलीले प्रधानमन्त्रीको भूमिका निभाएका छन् । सो चलचित्रको सुटिङ आज एमालेको पार्टी कार्यालय च्यासलमा भएको थियो ।

चलचित्रको सुटिङका लागि ओलीले ११ बजे समय दिएका थिए । तर, उनी २ बजेतिर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार छिरे । प्रधानमन्त्रीसँग भेटघाट सकेर साढे ३ बजेतिर बल्ल ओलीको च्यासलमा इन्ट्री भयो ।

ओलीले सुटिङ गर्नुअघि क्यामरामा धुपबत्ती गरे । निर्देशक ढुंगानाले ओलीलाई उनको भूमिका र अहिले खिचिने सटबारेमा थोरै व्रिफिङ गरे । त्यसपछि सुटिङ सुरु भएको थियो ।

निर्माणपक्षले सुटिङको रिपोर्टिङका लागि सञ्चारकर्मीलाई पनि निम्त्याएका थिए । तर, उनीहरूलाई सुटिङको दृष्य कैद गर्न भने दिइएन । आफैंले बोलाएर खिच्न नदिएपछि सञ्चारकर्मीहरू रुष्ट बनेका थिए ।

पहिलो सटमा ओलीले आफ्नो कार्यकक्षबाट हिँडेर मिटिङ हलमा प्रवेश गरेको दृष्य खिचियो । यो दृष्य दुई टेकमा ओके भएको थियो । मिटिङ हलमा प्रधानमन्त्रीलाई भेट्न एसिडपीडितहरू पर्खिरहेका थिए । उनीहरूसँग ओलीले गरेको संवादको सुटिङ गरिएको छ ।

यो चलचित्रमा ओलीसँगै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन् । नेपालको सुटिङ केही दिनअघि भएको थियो ।

-तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *