व्यापक तर शान्त तेस्रो लहर ! टेकु अस्पतालमै छैन बिरामीको चाप – Nepal Press
कोरोना महामारी

व्यापक तर शान्त तेस्रो लहर ! टेकु अस्पतालमै छैन बिरामीको चाप

कुन अस्पतालमा कति बिरामी ?

काठमाडौं । नेपालमा कोरोना महामारी सुरू भएयता पहिलोपटक मंगलबार एकैदिन १० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भयो । आज फेरि संक्रमित संख्या ११ हजार नाघेको छ । यसले कोरोनाको तेस्रो लहर उत्कर्षमा पुगेको संकेत गर्छ ।

गत जेठको पहिलो साता एक दिनमा १० हजारनजिक संक्रमण पुष्टि भएको थियो । तर, गत भदौदेखि ओरालो लागेको संक्रमण फेरि पुस तेस्रो सातादेखि उकालो लागेको छ । पछिल्लो एक सातामा ३८ हजार ३०४ जना संक्रमित थपिएका छन् । हिजो सर्वाधिक १० हजार २५८ जनामा कोभिड १९ पुष्टि भयो ।

संक्रमणको गति हेर्दा यतिबेला अस्पतालहरु अस्तव्यस्त अवस्थामा हुनुपर्ने हो । यसअघिका महामारी यो बिन्दुमा पुग्दा अस्पतालमा बेड पाउन निकै संघर्ष गर्नुपर्ने स्थिति थियो । यसपाली भने पहिलेजस्तो संकट उत्पन्न नभएको अस्पतालहरुले जनाएका छन् ।

संक्रमणदरको अनुपातमा गम्भीर बिरामीको संख्या कम रहेको तथ्यांकले देखाएको छ । त्यसैले अस्पताल पुग्ने र भर्ना हुनेहरु पनि कम छन् । उपत्यका लगायत देशैभरका अस्पतालमा कोभिड बिरामीको चाप अनुमान गरिएभन्दा निकै कम छ ।

भर्ना हुने क्रम बढेको भए पनि उनीहरुमा गम्भीर प्रकारका लक्षणहरु नदेखिएको अस्पताल स्रोतहरु बताउँछन् । अस्पताल पुग्ने प्रायलाई रुघा-खोकी र ज्वरो देखिएको छ । यस्तो लक्षण देखिएका धेरै बिरामी घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । विभिन्न खालको दीर्घरोग तथा अन्य रोगको कारण अवस्था जटिल भएकाहरु अस्पताल भर्ना भएका छन् ।

पुसको पहिलो सातासम्म उपत्यकामा रहेका अस्पतालका कोभिड वार्ड, आईसीयू, भेन्टिलेटरमा न्युन संख्यामा बिरामी थिए भने केही अस्पतालमा एउटा पनि कोभिडका बिरामी थिएनन् । तर अहिले संक्रमणदर बढेसँगै विस्तारै भर्ना हुने क्रम बढ्दै गइरहेको छ ।

पुस २८ गते उपत्यकाका अस्पतालहरुमा जनेरलमा १८९, एचडीयुमा १२७, आइसीयुमा ३७ र भेन्टिलेटरमा ११ गरी ३६४ जना कोभिड संक्रमित उपचाररत थिए । मंगलबारको तथ्यांक हेर्दा जनरलमा २३५, एचडीयूमा ३२६, आइसीयूमा ६२ र भेन्टिलेटरमा १५ गरी ६२८ जना कोरोना संक्रमित उपचाररत छन् । एकसातामा अस्पतालमा संक्रमितको भर्ना हुने दर बढे पनि भयावह अवस्था आइनसकेको अस्पतालहरु बताउँछन् ।

टेकु अस्पतालमै खाली बेड

कोभिड उपचारमा अब्बल ठहरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक साताअघि जनरल, आईसीयू, भेन्टिलेटर, एचडीयुमा गरी १३ जना बिरामी थिए । अहिले अस्पतालमा उपचार गराइरहेका बिरामी जम्मा १२ जना छन् ।

हामी बुधबार टेकु अस्पताल पुग्दा जनरल वार्ड लगभग खाली थियो । यसअघिको महामारीका जनरल वार्डमा पनि कोभिडका बिरामी भरिभराउ हुन्थे । अहिले भने कोभिड वार्ड नै नभरिएकाले जनरलमा राख्नु परेको छैन । यदि पहिलेजस्तै चाप बढ्यो भने बिरामी यता सार्न सकिने गरी अस्पतालले तयारी गरेको छ ।

दोस्रो लहरमा जस्तो गम्भीर खालका बिरामीको संख्या बढेको छैन । आजभोलि ज्वरो, खोकी, टाउको दुख्ने, रुघा तथा घाँटी दुख्ने बिरामी अस्पताल आउँछन् ।

‘हेर्दा मौसमी रुघाखोकी जस्तै लक्षण देखिएका बिरामीको पीसीआर परीक्षण गराउँदा पोजिटिभ देखिन्छ । पोजेटिभ देखिएका संक्रमितहरु आफूमा कोरोनाको लक्षणहरु नभएको भन्ने गर्छन्,’ टेकु अस्पतालका फोकल पर्सन डा. विमल शर्मा चालिसे बताउँछन् ।

ज्वरो आउने वित्तिकै कोभिडको शंका लागेर परीक्षण गराउनेको भीड भने अस्पतालमा बढेको छ । कोभिड संक्रमणका कारण बिरामीको चाप बढे पनि गम्भीर बिरामी भने नबढेको डा. चालिसेको भनाइ छ ।

पोजेटिभ आउनेहरुमा पनि अधिकांशमा घाँटी दुख्ने, ज्वरो आउने, रुघा लाग्ने लक्षण देखिएको छ । उनीहरुलाई क्वारेन्टिनमा बस्न सुझाव दिने गरिएको छ । कोरोनाको लक्षण लिएर आउने र पीसीआर गराउनेको संख्या एकदमै बढेको पनि भर्ना गर्नुपर्ने बिरामीको संख्या भने बढेको छैन ।

डा. चालिसेले भने, ‘भर्ना भएकाहरू खोप लगाएका पनि छन्, नलगाएका बिरामी पनि छन् । नलगाएकालाई पनि त्यस्तो गम्भीर खालको लक्षण देखिएको छैन । अक्सिजन चाहिने अवस्था आएको छैन ।’

अरु अस्पतालमा कति बिरामी ?

वीर अस्पतालमा केही समययता विस्तारै कोभिडको बिरामीको चाप बढेको छ । संक्रमणदर एकदमै बढी भए पनि संक्रमित भएर अस्पताल भर्ना हुनेको संख्या भने धेरै छैन ।

मंगलबार अस्पतालमा ९२ जना बिरामी भर्ना थिए । उनीहरुमध्ये १६ जना आइसीयुमा र २ जना भेन्टिलेटरमा छन् । एक साताअघि वीर अस्पतालमा ४३ जना उपचाररत् थिए ।

वीर अस्पतालका फोकल पर्सन डा. प्रज्ववल श्रेष्ठका अनुसार सेकेन्ड वेभमा ९२ जनामा ७० जनालाई अक्सिजन चाहिने हुन्थ्यो । योपटक अक्सिजन चाहिनेलाई पनि थोरै मात्र चाहिएको छ ।

उनले भने, ‘यो पालि लक्षण अलि फरक छ । अहिलेको लक्षण मौसमी रुघाखोकी जस्तो लक्षण लिएर आउनुभएको छ । ’

पहिलो वेभ र दोस्रो वेभजस्तो भएको भए यतिबेला भयावह अवस्था हुने उनको भनाइ छ । यसअघि कोभिडको संक्रमणमा ज्वरो आउने, खोकी लाग्ने मात्र नभएर सास फेर्ने गाह्रो हुने गथ्र्यो । अहिले सासमा समस्या देखिएको छैन ।

बीरका ९२ जनामध्ये ५८ जनाले खोप लगाएका छन् । दुबै डोज लगाउने ४८ जना छन् । श्रेष्ठका अनुसार योपालि ठ्याक्कै रुघाखोकीकै लक्षण छ । तर टेस्ट गर्यो कि पोजेटिभ आउँछ । लक्षण साधारण खालको र रिकभरि पनि चाँडै हुने भएकाले पहिले जस्तो १० सिदन आइसोलेसनमा बस्नु नपर्ने चिकित्कको भनाइ छ । उनीहरुले ५ दिन बस्दा पुग्ने सुझाव दिएका छन् ।

सशस्त्र प्रहरी अस्पतालमा पनि एकहप्ता अगाडि अस्पताल भर्ना हुने संक्रमितको हवात्तै बढेको थियो । त्यसपछि एउटै गतिमा बढिरहेको छ । गत बुधबार एपीएफ अस्पतालमा जेनेरल, एचडीयु, आईसीयू र भेन्टिलेटरमा गरी ३८ जना संक्रमितको उपचार भइरहेको थियो । मंगलबार ११५ जना उपचाररत् छन् ।

संक्रमितमा ज्वरो आउने, घाँटी दुख्ने समस्या धेरै रहेको अस्पतालका फोकल पर्सन डा. प्रविण नेपालले बताए । उनले भने, ‘पहिलाजस्तो आइसीयुमा भर्ना हुनेको संख्या कम छ । एकदमै सिरियस बिरामी नभएको होइन, तर कम छन् । भर्ना भएकामध्ये ८५ प्रतिशतले खोप लगाएका छन् ।’

नेपाल प्रहरी अस्पतालमा अहिले ९२ जना कोभिड संक्रमितको उपचार भइरहेको छ । एक साताअघि जनरल, आइसीयु, एचडीयु र भेन्टिलेटरमा गरी १६ जना उपचाररत थिए । उनीहरुमा गम्भीर खालको लक्षण नदेखिएको प्रहरी अस्पतालका फोकल पर्सन डा. सुन्दर हैजुले बताए ।

केही दिनयता अस्पतालमा कोरोना संक्रमित बिरामीको भर्ना बढेको उनले बताए ।

उनले भने, ‘संक्रमितको भर्ना हुने दर बढेको छ । सिरियस चाहिँ दुई-तीन जना मात्रै छन् । खोप लगाएका बढी छन् ।’

निजामति कर्मचारी अस्पतालमा कोभिड संक्रमितको लागि छुट्याइएको १८ वटै बेड भरिएको छ । एक साताअघि १३ जना उपचाररत थिए ।

कोरोना संक्रमित भर्ना हुने आउने र पीसीआर गर्नेको चाप पनि बढेको छ ।

अस्पतालका फोकल पर्सन डा. विदेश विष्टका अनुसार भर्ना भएका संक्रमितमा पहिलाको जस्तो कडा लक्षण छैन ।

यस्तै पाटन अस्पतालमा पनि कोभिडका बिरामीको चाप बढिरहेको छ । तर संक्रमणदर अनुसार लक्षण नेदेखिँदा भर्ना भएकाहरु पनि सामान्य उपचार गरेर निको भइरहेका छन् ।

अहिले आइसीयु र भेटिन्लेटरमा उपचार भइरहेकाहरु कोभिडभन्दा अन्य रोगका कारण जटिललता भएको अस्पतालका फोकल पर्सन डा. आशिष श्रेष्ठले बताए ।

वीरेन्द्र अस्पताल छाउनीमा पनि बिरामीको चाप बढेको छ । केही दिनयता बिरामी भर्ना हुनेको संख्या केही बढेको अस्पतालकी फोकल पर्सन डा. मुना थापाले बताइन् । एक साता अघि यस अस्पतालमा १४७ जना उपचाररत थिए भने अहिले ८८ जना उपचाररत छन् । यसैगरी त्रिवि शिक्षण अस्पालमा गत साता २१ जना कोभिडका बिरामी थिए भने अहिले ४५ जना बिरामी छन् ।

अस्पतालमा बेड नपाउने अवस्था छैन

शुक्रराज तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमणदर बढेअनुसार संक्रमितहरु अस्पताल भर्ना नभएको बताउँछन् । ओमिक्रोनले नेपालमा मात्र नभई विश्वमा नै संक्रमण तीव्र गतिमा फैलाएपनि गम्भीर नपाएको पाइएको उनले बताए ।

‘दोस्रो वेभमा जस्तो वेड नपाएर अक्सिजन नपाएर रोडमा उपचार गराउनुपर्ने अवस्था आएको छैन,’ उनले भने, ‘अहिले भर्ना भएकाहरु पनि कोभिड देखिएको तर अन्य रोगले असर गरेको बिरामी धेरै छन् ।’

उनका अनुसार ओमिक्रोन भाइरस खतरनाक नभएको अध्ययनले देखाएको छ ।

पुनको भनाइमा सहमत जनाउँछन् टेकु अस्पतालका डा. प्रज्वल श्रेष्ठ पनि । अहिले गम्भीर भएर अस्पताल पुगेका बिरामी एकदमै कम रहेको उनले बताए ।

‘अहिलेको भाइरस स्वासप्रश्वास नलीको माथिल्लो भागमा रहिरहने तर फोक्सोसम्म नपुग्ने भएकाले अरुलाई चाडै सर्नसक्छ,’ उनले भने, ‘तर, गम्भीर एकदमै कम छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर