कोभिड विरुद्धको खोप विस्तार गर्न निर्देशन – Nepal Press

कोभिड विरुद्धको खोप विस्तार गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले खोप केन्द्रको विस्तार गर्न र आमनागरिकलाई कोभिड विरुद्धको खोप छिटो, छरितो र प्रभावकारी ढङ्गले उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) को सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, मन्त्रालयका सचिव डा. रोशन पोखरेल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिलगायतसँग यसको समाधान व्यवस्थापन, उपचार, रोकथाम र नियन्त्रणका लागि भएको छलफलपछि समितिले खोपको दायरा बढाउन निर्देशन दिएको हो ।

समितिले भीडभाड कम गर्न आवश्यक व्यवस्था गर्न र कोरोनाको जोखिम भएको जिल्लामा ‘कन्ट्याक्ट टे«सिङ’ लाई प्रभावकारी बनाउने परीक्षणको दायरा बढाउन निर्देशन गरेको छ ।

सरकारी अस्पतालमा ‘पीसीआर’ परीक्षण निःशुल्क गर्न र निजीमा शुल्क समायोजन गर्न पनि भनिएको छ । समितिले अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई घरघरमै खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रत्येक प्रदेशमा खोप भण्डारणको व्यवस्था गरी यसलाई प्रभावकारी बनाउन र अस्पतालमा आवश्यकतानुसार दक्ष जनशक्ति व्यवस्था गर्न भनिएको छ ।

समितिले अस्पतालमा आइसियु, भेन्टिलेटर, अक्सिजनलगायत आवश्यक कुराको व्यवस्था गर्न र कोभिड विरुद्धको खोप वितरणको अभिलेख राख्न पनि निर्देशन गरेको छ ।

कोभिडको उपचार, रोकथाम र नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन र खटिएका डाक्टर, नर्सलगायत सबै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता तुरुन्त उपलब्ध गराउन निर्देशन गरिएको छ ।

नेपाल भारत सीमा नाकामा ‘होल्डिङ सेन्टर’ सञ्चालनका आवश्यक प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर