योगी आदित्यनाथ गोरखपुरबाट विधानसभा चुनावमा लड्ने – Nepal Press

योगी आदित्यनाथ गोरखपुरबाट विधानसभा चुनावमा लड्ने

लखनउ । सबै अड्कलबाजीबीच भारतीय जनता पार्टी (भाजपा) ले शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आफ्नो राजनीतिक प्रभाव क्षेत्र गोरखपुरबाट प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ ।

गोरखपुरबाट नै उनले लगातार सन् २०१७ सम्म पाँच कार्यकालका लागि लोकसभामा प्रतिनिधित्व गरेका थिए ।

मध्यान्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघका मन्त्री तथा भाजपा उत्तर प्रदेश निर्वाचनका लागि जिम्मेवार धर्मेन्द्र प्रधानले पहिलो चरणमा ५८ सिटमध्ये ५७ र दोस्रो चरणमा ५५ मध्ये ४८ सिटका लागि उम्मेदवारको सूची सार्वजनिक गरेका छन् ।

भाजपाले प्रयागराजस्थित सिराथु निर्वाचन क्षेत्रबाट उपमुख्यमन्त्री केशवप्रसाद मौर्यलाई मैदानमा उतारेको छ भने मन्त्री श्रीकान्त शर्माले मथुराबाट प्रतिस्पर्धा गर्नेभएका छन् । यसअघि कहिल्यै विधानसभाका लागि निर्वाचन नलडेका आदित्यनाथले अयोध्या वा मथुराबाट प्रतिस्पर्धा गर्न सक्ने अनुमानहरू गरिएको थियो ।

भाजपा नेता हरनाथसिंह यादवले पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई पत्र लेखेर मथुराबाट मुख्यमन्त्रीको सम्भावित उम्मेदवारको घोषणासहित उभ्याउन आग्रह गरेका थिए ।

सन् २०१७ को निर्वाचनमा भाजपाले मुख्य मन्त्रीको सम्भावित उम्मेदवार घोषणा नगरिकन ४०३ सदस्यीय उत्तर प्रदेश विधानसभामा ३०० भन्दा बढी सीट प्राप्त गरेको थियो । भाजपाको चुनावी अभियानमा निर्णायक भूमिका निर्वाह गरेका आदित्यनाथले २६ मार्च २०१७ मा उत्तर प्रदेशको मुख्यमन्त्रीको कार्यभार सम्हालेका थिए ।

आदित्यनाथले सन् १९९८ मा पहिलो पटक गोरखपुरबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरी २६ वर्षकै उमेरमा १२ औं लोकसभामा सबैभन्दा कान्छा सांसद बनेका थिए । उनी नगरको गोरखनाथ मन्दिरका मुख्य पुजारी हुन । उनले आफ्नो धर्मपिता महन्त अवैदनाथको मृत्युपछि सेप्टेम्बर २०१४ मा यो जिम्मेवारी ग्रहण गरेका थिए ।

गोरखपुरका जनताले पुजारी र राजनीतिज्ञको रूपमा उनको छविलाई थप प्रभावशाली बनाउन मुख्यमन्त्रीलाई सघाउने बताएका छन् ।

भाजपा स्रोतका अनुसार आदित्यनाथलाई गोरखपुर नगरको प्रतिनिधित्व गर्नेगरी विधान सभाका लागि प्रतिस्पर्धामा उठाइने छ ।

विगतमा भाजपा उम्मेदवारहरू उदयप्रताप दुबे, रामलाल भाई, अवधेशकुमार श्रीवास्तव, सुनिल श्रेष्ठ, शिवप्रताप शुक्ल र राधा मोहनदास अग्रवालले पार्टीका लागि गोरखपुर (शहरी) सिट सुरक्षित गरेका थिए ।

राधा मोहनदास अग्रवालले सन् २०१७ मा भाजपाको टिकटमा गोरखपुरको शहरी सीटबाट ५५.८५ प्रतिशत मत ल्याएर विजयी भएका थिए ।

उत्तर प्रदेशका ४०३ वटा विधानसभा निर्वाचन क्षेत्रका लागि निर्वाचन फागुन १० गतेदेखि सात चरणमा हुने निर्वाचन आयोगले बताएको छ । उत्तर प्रदेशको विधान सभाको निर्वाचन फेब्रुअरी १०, १४, २०, २३, २७ र माघ ३ र ७ गते सात चरणमा हुनेछ । मतगणना मार्च १० बाट सुरू गरिनेछ ।

रासस/एएनआई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर