जिल्ला सभापतिलाई एसपीले गोली हान्न खोजेको भन्दै कांग्रेस कार्यकर्ताद्वारा राजमार्ग अवरुद्ध – Nepal Press

जिल्ला सभापतिलाई एसपीले गोली हान्न खोजेको भन्दै कांग्रेस कार्यकर्ताद्वारा राजमार्ग अवरुद्ध

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयमा सरुवा भएका एसपी हिराबहादुर पाण्डेलाई निलम्बन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले सिरहाको जिरोमाइलमा राजमार्ग अवरुद्ध गरेका छन् ।

एसपी पाण्डेले कांग्रेसका सिरहा सभापति एवं पूर्वसांसद रामचन्द्र यादवलाई गोली हान्ने प्रयास गरेको भन्दै कांग्रेस कार्यकर्ताले राजमार्ग २ घण्टा अवरोध गरेका हुन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रंजितकारलाई भेटेर पाण्डेलाई कारबाही गर्ने आश्वासनपछि राजमार्ग संचालमा ल्याइएको छ ।

आन्दोलनमा उत्रेका कांग्रेस कार्यकर्ता सुरेन्द्र यादवले एसपी पाण्डे सोमबार राति सभापति यादवको जिरोमाइलस्थित घरमै आएर गोली हान्ने प्रयास गरेको आरोप लगाए । उनले भने, ‘एसपी पाण्डेलाई निलम्बन गर्नुपर्छ, होइन् भने हामी कडा आन्दोलन गर्छौं ।’

सरुवा गराइदिएको निहुँमा एसपी पाण्डे राति ७/८ जना प्रहरी लिएर सभापतिको घरमै गएको उनको दाबी छ । ‘तथानाम गालीगलोज गरे । सभापति यादव तल ओर्लिनुभएन । पछि सशस्त्रका एसपी र सीडीओ साहेबले एसपी पाण्डेलाई लिएर जानुभयो ‘, उनले भने ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले एसपी पाण्डेलाई आफूले फर्काएको कुरामा कुनै सत्यता नभएको बताए । उनले नेपाल प्रेससँग भने, ‘राति म जिरोमाइल गएकै छैन ।’ उनले एसपी पाण्डेमाथि लागेको आरोपको विषयमा अनुसन्धान भइरहेको र थप कुरा पछि गर्ने बताए ।

एसपी पाण्डेले आफ्नो चरित्रहत्याको प्रयास भएको प्रतिक्रिया दिए । उनले भने, ‘सभापति यादव घरको छेउछाउमा समेत गाको छैन । मविरुद्ध मनगढन्त कथा बुनिएको छ ।’

पाण्डे आज बिहानै काठमाडौं हिँडिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर