क्रिकेट विवाद समाधानउन्मुखः टी-२० विश्वकप क्वालिफायरको बन्द प्रशिक्षण सुरू – Nepal Press

क्रिकेट विवाद समाधानउन्मुखः टी-२० विश्वकप क्वालिफायरको बन्द प्रशिक्षण सुरू

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरूबीच उत्पन्न विवाद समाधानउन्मुख बनेको छ । कप्तान परिवर्तनबाहेकको निर्णय फिर्ता लिन क्यान सहमत भएपछि खेलाडीहरू विवाद समाधानका लागि सकारात्मक देखिएका छन् ।

हिजो क्यानले असन्तुष्ट खेलाडीहरूको तर्फबाट पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँग बैठक गरेको थियो । उक्त वैठकमा दुई पक्षबीच सहमति भएको क्यान पदाधिकारीहरूले बताएका छन् । ज्ञानेन्द्र व्यक्तिगत रूपमा असन्तुष्ट रहे पनि विवाद समाधानका लागि लचिलो बनेका हुन् ।

क्यानले आजैबाट टी-२० विश्वकप क्वालिफायरको बन्द प्रशिक्षण सुरु गरेको छ । क्यान सचिव प्रशान्त विक्रम मल्लका अनुसार १० बजेसम्म २० जना खेलाडीहरू बन्द प्रशिक्षणका लागि पुगेका छन् । यसअघि १७ जना खेलाडीहरूले मात्रै आएकोमा आज ४ खेलाडी थपिएका हुन् । ९ जना खेलाडी अझै मैदानमा अनुपस्थित छन् । कप्तान सन्दीप लामिछाने भने अहिले अष्ट्रेलियामा नै छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई बन्द प्रशिक्षणमा सहभागी हुन आज साँझ ६ बजेसम्मको समय दिइएको बताए ।

‘धेरै खेलाडीहरू आइसकेका छन् र बन्द प्रशिक्षण सुरु भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका खेलाडीलाई बेलुका ६ बजेसम्मको समय दिएका छौं ।’

क्यानले खेलाडीसँग कप्तान परिवर्तनको निर्णय यथावत राखेर अन्य कावाही फिर्ता लिने प्रस्ताव गरेको थियो । क्यानको उक्त प्रस्तावमा मल्ल सन्तुष्ट छैनन् । यद्यपि, आफूसँग अरु खेलाडीहरूको पनि करिअर जोडिएकाले उनी दबाबमा परेको स्रोतले बतायो । अरु खेलाडीहरूले ज्ञानेन्द्र बन्द प्रशिक्षणमा गए आफूहरू पनि जाने नत्र नजाने बताइरहेका छन् ।

आफूलाई अपमानजनक तरिकाले कप्तानीबाट हटाइएको भन्दै ज्ञानेन्द्रले यो निर्णय क्यानले सच्याउनुपर्ने अडान लिएका थिए । तर, अरु विषयमा लचिलो भए पनि कप्तान परिवर्तनका विषयमा क्यान अडिग देखिएको छ । प्रशिक्षण दासानायकेले पनि यसमा क्यानलाई साथ दिएपछि ज्ञानेन्द्र गलेका छन् ।

क्यानले चार खेलाडीहरूलाई ६ महिना सेन्ट्रल कन्ट्राक्टमा नराख्ने निर्णय फिर्ता लिने र ग्रेडिङको विषयमा आफूहरूले उठाएका असन्तुष्टि सम्वोधन गर्ने विषयमा विज्ञप्ति जारी गरे बन्द प्रशिक्षणमा फर्किने मनस्थितिमा उनी पुगेको बुझिएको छ । यही सन्देश प्रशिक्षक पुबुदु दासानायकेमार्फत उनले क्यानलाई पठाएका छन् । तर, क्यान भने लिखित प्रतिबद्धता व्यक्त गर्ने मनस्थितिमा छैन ।

सचिव मल्ल क्यानका अध्यक्षले प्रशिक्षकसमेतको उपस्थितिमा प्रतिबद्धता जनाइसकेकाले लिखित वक्तव्य जारी गरिरहनु नपर्ने बताए ।
‘हाम्रो तर्फबाट खेलाडीको ६ महिने कारबाही फुकुवा गर्ने प्रतिबद्धता अध्यक्षज्यूले नै व्यक्त गर्नुभएको छ, यही नै पर्याप्त छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *