बढुवा भएका १३ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान – Nepal Press

बढुवा भएका १३ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका १३ जना जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) निरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहकाबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

समारोहमा निमित्त प्रहरी महानिरीक्षक शाहीले बढुवापछि पश्चात राज्य, नागरिक र संगठनप्रति उत्तरदायी भई नयाँ जिम्मेवारी अनुसार संगठनको आशा र भरोसा पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । बढुवाले दर्जा अनुसारको जिम्मेवारी बढ्ने र संगठनप्रति थप उत्तरदायी हुनुपर्ने भएकोले प्राप्त अनुभव र जिम्मेवारीलाई संगठन र राज्यप्रति जवाफदेही भई बफादार रुपमा कार्य गर्नुपर्ने उनले बताए ।

नागरिकले राज्यको तर्फबाट प्रहरीको उपस्थिति खोज्ने भएकोले संविधान र ऐन कानुनको अधिनमा रही प्राप्त जिम्मेवारी अनुसार भूमिका निर्वाह गरी नागरिकमा प्रहरीको उपस्थिति झल्काउनुपर्ने शाहीले जोड दिए । उक्त अवसरमा बढुवा भएका अधिकृतको तर्फबाट बोल्दै प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिशकुमार कर्णले मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा ईमानदारीताका साथ बढुवासँगै थपिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षक(डीआईजीपी) लगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो । गृह मन्त्रालयले सचिवस्तरीय निर्णयबाट मंसिर १२ गतेबाट लागू हुनेगरी दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *