विचार र विधानको एजेण्डासहित बद्री पाण्डे सह-महामन्त्रीको उम्मेदवार – Nepal Press

विचार र विधानको एजेण्डासहित बद्री पाण्डे सह-महामन्त्रीको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले १४ औं महाधिवेशनमा सह–महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । कांग्रेस विधान अनुसार पिछडिएको क्षेत्रका लागि छुट्याइएको सह–महामन्त्री पदमा बाजुराका पाण्डेले उम्मेदवारी घोषणा गरेका हुन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै पाण्डेले कांग्रेसलाई वैचारिक रुपमा स्पष्ट र विधानअनुसार चल्ने बनाउनका लागि रहेको बताए । आफू १२ औं महाधिवेशनमा तत्कालीन सेती अञ्चल र १३ औं महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएको स्मरण गर्दै पाण्डेले हार वा जित जे भएपनि सह–महामन्त्रीमा उम्मेदवार बन्ने बताए ।

‘मेरो उम्मेदवारी एकपटकका लागि हो । १५ औं महाधिवेशनमा म फेरी सह–महामन्त्री लड्दिन । कि उपसभापति बनेर नीतिमा काम गर्छ कि त महामन्त्री बनेर संगठनमा काम गर्छु । यसपटक सहमहामन्त्री बनेर विचार र विधानको लागि काम गर्छु’, पाण्डेले भने ।

कांग्रेस केन्द्रीय समितिमा रहँदा आफूले नेता भन्दा नीति र व्यक्तिभन्दा विधिलाई प्राथमिकता दिएको भन्दै पाण्डेले कांग्रेसमा नेतृत्व परिवर्तन चाहने पक्षधरबीच सहकार्य हुनुपर्ने बताए । ‘नढाँटी भन्दा म पुरानो संस्थापनको मान्छे हुँ । गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालको लिगेसीसँग जोडिन्छु । नेतृत्व परिवर्तनको पक्षमा हुने समूहबाट सह–महामन्त्री लड्छु’, उनले भने ।

पाण्डेले कांग्रेसमा ९५ प्रतिशत नेता कार्यकर्ता इमान्दार र निष्ठावान रहेको बताए । यद्यपि पार्टीभित्र ५ प्रतिशतको वर्चस्व देखिनु दुःखद रहेको उनको भनाई छ ।

‘९५ प्रतिशत इमानदार कार्यकर्ता सधै पाखा लाग्नुपर्ने र ५ प्रतिशत सुकिलामुकिलाको मुठ्ठीमा कांग्रेस रहनुपर्ने अवस्थाको अन्त्य गर्न मेरो उम्मेदवारी हो’, पाण्डेले भने । नेपाल विद्यार्थी संघको पृष्ठभूमीबाट आएका पाण्डे नेविसंघमा २ कार्यकाल उपाध्यक्ष रहेका थिए । संविधानसभा सदस्यसमेत रहेका पाण्डे राष्ट्रिय सभाका पूर्व सांसद पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर