मत माग्न थालिसकेँ, भोली मनोनयन दर्ता गर्छु : भीम रावल – Nepal Press

मत माग्न थालिसकेँ, भोली मनोनयन दर्ता गर्छु : भीम रावल

काठमाडौं । एमालेको अध्यक्षका आकांक्षी भीम रावलले आफ्नो उम्मदेवारी घोषणाबाट पछि नहट्ने बताएका छन् । उनले प्रतिनिधिहरुसँग भोट माग्न थालिसकेको भन्दै भोलि मनोनयन दर्ता गर्ने जानकारी दिए ।

महाधिवेशनस्थल सौराहामा आज राति आयोजना हुन लागेको अन्तिम केन्द्रीय समिति वैठकपूर्व कुरा गर्दै रावलले आफू एमालेलाई नेतृत्व गर्न तयार रहेको बताए । हालका अध्यक्ष ओली उमेरले ७० वर्ष काटिसकेको र दुई पटक प्रधानमन्त्री भइसकेकाले बोझ बिसाउने बेला भएको उनको भनाइ छ ।

‘उहाँलाई मैले भनेको छु अब विश्राम लिनुस, हामी तपाईंको अनुभवहरुलाई समेत उपयोग गर्दै पार्टीलाई अगाडि लैजान तयार छौं,’ रावलले भने ।

आफूले उम्मेदवारी दिएपछि भने अध्यक्ष ओलीसँग आफ्नो कुराकानी अहिलेसम्म नभएको उनले बताए ।

यसअघि संसदबाट दिएको राजीनामा फिर्ता लिएकोजस्तै उम्मेदवारी फिर्ता लिन सक्ने सम्भावनाका विषयमा प्रश्न गर्दा रावलले इन्कार गरे ।
‘त्यो र यो विल्कुल फरक प्रसंग हुन्,’ उनले भने, ‘अहिले म अध्यक्षको उम्मेदवार हुँ र भोट पनि माग्न थालिसकेको छु । भोली मनोनयन दिने हो ।’

आफूलाई कसैले पनि सर्वसम्मतिमा पदाधिकारी चयनको विषयमा छलफल नगरेको रावलले बताए । यदि पदाधिकारी थप गरेर सहमति गर्ने प्रस्ताव आयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा रावलले भने, ‘त्यस्तो काल्पनिक कुरा नगरौं ।’

आफूले अहिलेसम्म चुनावी समिकरण नबनाएको रावलले बताए । अर्को पक्षले समिकरण बनायो भने आफूले बनाउन सक्ने उनले जनाउ दिए ।

‘हाम्रो पार्टी निर्णय अनुसार प्यानल बनाएर चुनाव लड्न मिल्दैन, त्यसैले मैले व्यक्तिगतरुपमा उम्मेदवारी दिन लागेको हुँ । तर अर्को पक्षले प्यानल बनायो भने पुनर्विचार गरौंला,’ उनले भने ।

आफूलाई उम्मेदवारी फिर्ता लिनुस भनेर अहिलेसम्म कसैले छलफल नगरेको रावलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर