एमाले महाधिवेशनले चितवनलाई विश्वमाझ चिनायो : व्यवसायी – Nepal Press

एमाले महाधिवेशनले चितवनलाई विश्वमाझ चिनायो : व्यवसायी

चितवन । कोरोना महामारीले थलापरेको चितवनको होटल व्यवसाय नेकपा एमाले महाधिवेशनले एकाएक जुरुक्क उठेको छ । महाधिवेशनले होटल क्षेत्र मात्रै होइन सबै क्षेत्र चलायमान बनाएको छ ।

महाधिवेशनबाट सबैभन्दा धेरै गुल्जार बनाएको यहाँका होटल व्यवसायीले आर्थिक मुनाफा मात्रै लिएका छैनन् देश तथा विदेशमा आफ्नो व्यवसायिक क्षमता देखाउन पाएकोमा गर्व गरेका छन् ।

उनीहरुले चितवनको व्यवस्थापन, यहाँको पर्यटन क्षेत्रलाई लाखौं नेपालीको बीचमा प्रतक्ष्य तथा विभिन्न संचार माध्यमबाट गरिएका प्रतक्ष्य प्रशारणबाट सबै ठाउँमा थप परिचय दिलाउन सकेको बताएका छन् ।

होटल एशोसियसनको भनाइमा होटलमा मात्रै १० करोडको कारोबार हुने प्रारम्भिक आंकलन गरिएको छ । यो प्रतिनिधि, पर्यवेक्षक र नेताहरुका लागि छुट्टाइएको विवरण मात्रै हो ।

यो भन्दा निकै धेरै संख्यामा देशभरका नेताहरु महाधिवेशन पहिले नै यहाँ आएर तयारी थालेदेखि समापनसम्मका बस्ने भएका कारण होटल व्यसायको कारोबार पूर्वयोजना गरेभन्दा निकै धेरै बढी हुने व्यवसायीको विश्लेषण छ ।

चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय भएसँगै यहाँको चहलपहल शुरु भएको यहाँका साना तथा ठूला व्यवसायीहरुले बताएका छन् । महाधिवेशनका लागि देशभरका लाखौं कार्यकर्ता चितवन आएका कारण होटल व्यवसायमात्रै होइन धेरै क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ ।

होटलसँगै यहाँका धेरै व्यसायीहरुले यसको लाभ लिएका छन् ।

होटल मोनालिसा चितवन प्रालिका संचालक केशव खनालले महाधिवेशनले सौराह क्षेत्रको होटल व्यवसायलाई थप बलियो बनाएको बताए ।

‘दशैंदेखि बिस्तारै बढ्न थालेका यहाँको चाप महाधिवेशन घोषणा भएसँगै ह्वात्तै बढायो’, उनले भने ‘महाधिवेशनले सौराहवासीलाई होइन सिंगो चितवनवासीलाई विश्वसँग थप पहिचान बढाएको छ, होटल मात्र होइन यातायात, रेष्टुरेन्ट, किराना तथा फलफूल पसल, डेरी तथा साना ठूला खाजा पसलमा थेगिनसक्नु भीड छ, खुम्चिएको हरेक व्यवसाय यसले चलायमान बनायो यसले दीर्घकालीन रुपमै सकारात्मक सन्देश दिएको छ ।’

होटल एशोसियसन चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार महाधिवेशनले यहाँको होटल व्यवसायलाई मात्रै होइन हरेक व्यवसायलाई सकारात्मक सन्देश दिएको छ ।

अहिले जिल्लामा रहेका साना तथा ठूला सबै होटलहरु बुक भएका छन् । यहाँ रहेका १ सय ३० वटा ठूला होटल तथा त्यतिकै संख्यामा रहेका साना होटलमध्ये ६५ सय बेड तीन दिनका लागि पार्टीले नै बुक गरेको उनले बताए ।

३५ सय बेड पार्टीले नै भुक्तानी दिने गरी सम्झौता गरी ५० प्रतिशत भुक्तानी लिएको भट्टराईको भनाइ छ ।

महाधिवेशनले यहाँका साना होटल तथा रेष्टुरेन्टहरुमा केही दिनदेखि थेगिनसक्नु भीड लागेको छ । मिडटाउन होटलका संचालन दीपक तिमिल्सिनाका अनुसार केही दिनयता पहिलेको भन्दा तेब्बर कारोबार भइरहेको बताए ।

‘हामीले त महाधिवेशन भनेको नेता आउने भाषण गर्ने भन्ने बुझेका थियौं, यो त जलेसा रहेछ मान्छे त कति हो कति आए, हिसाब नै नहुने रहेछ, नेताहरु मात्रै आएनन् धेरै शुभेच्छुकहरु पनि आउने रहेछन्, चितवन महाधिवेशन तोक्ने नेताहरुलाई धन्यवाद भन्न चाहन्छु ।’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर