गोर्खा वारियर-२ : बाँकी छायांकन सिन्धुलीदेखि सुरु, २०२२ को अन्त्यमा प्रदर्शन तयारी – Nepal Press

गोर्खा वारियर-२ : बाँकी छायांकन सिन्धुलीदेखि सुरु, २०२२ को अन्त्यमा प्रदर्शन तयारी

काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरले रोकिएका फिल्मको छायांकन अहिले धमाधम सुचारु हुँदैछन् । मिलन चाम्सको निर्माण एवं निर्देशन रहेको ‘गोर्खा वारियर २’ सुटिङ बिहीबारदेखि सिन्धुलीमा सुरु भएको छ ।

त्यहाँको माडीस्थित कालीगाउँमा पूजाआजासहित दोस्रो सेड्युलको छायांकन सुरु भएको जानकारी निर्देशन चाम्सले दिए । कोरोनाको दोस्रो लहरअघि फिल्मको ४० प्रतिशत छायांकन सकिएको छ ।

सिन्धुलीसहित दमौली, मलेसिया र बेलायतमा बाँकी भाग खिचिने जानकारी चाम्सले दिए । ब्रिटिस गोर्खा सैनिकको वीरता र संघर्षको गाथा चित्रण गर्ने फिल्मको मुख्य भूमिकामा रितेश चाम्सले अभिनय गरिरहेका छन् ।

११७ जनाको क्रिउसहित सुचारु भएको बाँकी छायांकन अझै एक महिना निरन्तर हुने जनाइएको छ ।

सिन्धुलीमा रितेश र विजय लामाले मुख्य दृश्यहरुको लागि फिल्म खिचिरहेका छन् । सन् २०२२ को अन्त्यमा रिलिज लक्ष्य राखिएको फिल्ममा रेविका गुरुङ, रियर राई, शिशिर वाङ्देल, भुवनसिंह राई, बुद्धि तामाङ, कविता आले, विरुद्ध घले, सारा राईको समेत अभिनय छ ।

‘गोर्खा वारियर-२’ रिलिजपछि मात्र फिल्म हलमा प्रिक्वेल प्रदर्शन गर्ने निर्देशक चाम्सको तयारी छ । फिल्मको छायांकनलाई २ वटा क्यामेरा प्रयोगमा आएको छ । यसले दृश्यको आयामलाई फराकिलो तुल्याउने र समयको बचत हुने आशा पनि निर्देशकले लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *