ए डिभिजन लिगः साविक विजेता मछिन्द्रको जितमा सुनिलको दुई गोल – Nepal Press

ए डिभिजन लिगः साविक विजेता मछिन्द्रको जितमा सुनिलको दुई गोल

काठमाडौं । सुनिल बलको दुई गोलप्रेरित साविक विजेता मछिन्द्र क्बलले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा रोमाञ्चक जित निकाल्दै पछिल्लो संस्करणको विजेता मछिन्द्रले उपाधि रक्षा अभियान सुरु गरेको हो ।

राष्ट्रिय टोलीका स्टारले भरिएको टोली मछिन्द्रको जितमा यसैपाली क्ल्बमा भित्रिएका विङ्गर सुनिल बलले दुई गोल गरे । च्यासल युथ क्लबबाट गत सिजनको लिग खेलेका सुनिल यसै सिजन मछिन्द्र आएका हुन् ।

मिडफिल्डर विशाल राईले १२औं मिनेटमा दिएको सुन्दर पासमा सुनिल बलले एनआरटीका डिफेन्डरलाई रनिङमा सहजै बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । विशालले रन दायाँतर्फबाट रन बनाउन तयार भएका सुनिललाई पेनाल्टी एरियाभित्र डेलिभरी दिएका थिए ।

एनआरटीका कुनै पनि खेलाडीको दबाबमुक्त सुनिलले सोही बललाई ६ यार्ड बक्सतर्फ बढाएर बायाँ कुनामा प्रहार गर्दै उत्कृष्ट फिनिस गरे ।

सुरुआती १२ मिनेट नबित्दै पछाडि परेको एनआरटीका क्रितिस रत्न छुन्जुले सातौं मिनेटमा पेनाल्टी एरियाको दायाँ कुनाबाट गरेको प्रहार बाहिरिएको थियो ।

दोस्रो हाफको सुरुदेखि नै साविक विजेता मछिन्द्रमाथि निरन्तर दबाब बनाएको एनआरटीले ५४औं मिनेटमा एरक विषटको गोलबाट खेलमा बराबरी गरेको थियो ।

मछिन्द्रका सेन्टर ब्याक देवेन्द्र तामाङले एनआरटीका स्टेफन समिरमाथि फाउल गरेपछि पाएको फ्रि–किकलाई एरिक विष्टले ३० यार्ड टाढाबाट डाइरेक्ट फ्रि–किकलाई गोलमा परिणत गरेका थिए ।

एरिकले पेनाल्टी एरियाको ठीक अगाडिबाट दायाँ खुट्टाले गरेको सशक्त प्रहार टप राइट कर्नरमा परेको थियो ।

त्यसपछि झनै प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम १० मिनेट बाँकी रहँदा सुनिलले पुनः गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे । बराबरी गोलपछि एनआरटीमाथि निरन्तर दबाब बनाएको मछिन्द्रका कप्तान सुजलले बायाँतर्फबाट दिएको क्रसमा तीव्र गतिमा रन बनाएर सुनिल बल ट्याप इन गर्न सफल भएका थिए । मछिन्द्रका कयौं प्रहारमा बाधक बनेका एनआरटीका गोलकिपर अजित प्रजापती सुनिलको दोस्रो गोलमा मुकदर्शक मात्रै बने ।

पहिलो हाफमा एनआरटीमाथि लगातार आक्रमण गरेको मछिन्द्रका गोल स्कोरर सुनिलले २२औं मिनेटमा गरेको कप्तान तथा गोलकिपर अजितले फर्काएका थिए । सोही ‘रिबाउन्ड’ बलमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठले गरेको प्रहार पुनः गोलकिपर अजितले रोकेका थिए । सोही ‘मुभ’मा मछिन्द्रका फरवार्ड अभिषेकले गरेको गोल अफसाइड भएको थियो ।

मछिन्द्रको रक्षापंक्ति विरलै पार गरेको एनआरटीका नबिन गुरुङले बायाँतर्फबाट गरेको लामो प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै बचाउ गरेका थिए । गत वैशाखमा भएको नेपाल सुपर लिग (एनएसएल) मा प्रभावशाली देखिएका फ्रन्टलाइनका खेलाडी ओलोमोउ मिसोके र स्टेफन समिरलाई आक्रमणको जिम्मेवारी दिएको एनआरटीले एयर बल डेलिभरीका लागि निरन्तर कोसिस गरेको थियो ।

सोही क्रममा पहिलो हाफको इन्जुरी समयमा एनआरटीका एरिक विष्टले मेसोकेका लागि दिएको पास मछिन्द्रका गोलकिपर विशालले असफल पारिदिए। मछिन्द्रविरुद्ध गोल खाएसँगै अगाडि बढेर खेलेको एनआरटीले स्पष्ट मौका बनाउन नसके पनि निरन्तर आक्रमण बुन्ने कोसिस गरेको थियो । यद्यपि, पहिलो हाफ सकिँदासम्म मछिन्द्रको रक्षापंक्तिमा कुनै खतरा बनाउन सकेन ।

दोस्रो हाफमा पनि एनआरटीले मछिन्द्रको पेनाल्टी बक्समा क्यामरुनका फरवार्ड मोसेकोलाई भेट्टाउने कोसिस कायमै राखेको थियो । १८ यार्ड बक्सभित्र रन बनाइरहेका मोसेकोका लागि क्रितिसले ४८औं मिनेटमा दायाँतर्फबाट गरेका क्रसलाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले अगाडि बढेर नियन्त्रणमा लिएका थिए ।

मिडफिल्डर एरिक विष्टले ५२औं मिनेटमा २५ यार्ड टाढा–दायाँतर्फबाट प्रहार गरेको क्रसमा ‘अनमाक्र्ड’ रहेका एनआरटीका डिफेन्डर शिव गुरुङले कनेक्ट गर्न सकेनन् ।

एनआरटीले बराबरी गोल फर्र्काएसँगै खेलमा पुनः पकड जमाएको मछिन्द्रका लागि ६२औं मिनेटमा सुनील बलले गरेका गोलमा अफसाइडका कारण रद्द भएको थियो । त्यसको तीन मिनेट नबित्दै लेफ्ट ब्याक रजिन धिमालको क्रसमा अभिषेक रिजालले हेडरमार्फत गरेको प्रहार टार्गेटमा नपर्दा मछिन्द्र पुनः अग्रता लिनबाट वञ्चित भएको थियो ।

मछिन्द्रका मिडफिल्डर मनिष डाँगीले ७४औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार एनआरटीका गोलकिपर अजितले ‘डाइभिङ’ सेभ गरेका थिए । अजरबैजानी फरवार्ड नुर्लान नोरुजोभको स्थानमा ५९औं मिनेटमा मैदान प्रवेश गरेका मनिषले पेनाल्टी एरिया ठीक अगाडिबाट गरेको सशक्त प्रहार विफल भएसँगै मछिन्द्रले पुनः अग्रताको मौका गुमाएको थियो । गोलका लागि निरन्तर कोसिस गरेको मछिन्द्रका कप्तान सुजलले ७८औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहारमा पुनः एनआरटीका गोलकिपर बाधक बने ।

खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कट्वालले तीन अंक लिन सक्दा आफू सन्तुष्ट भएको प्रतिक्रिया दिए । उनले भने, ‘एनआरटीसँग नेपालमा भएकामध्ये राम्रा फरवार्ड थिए । तर पनि हामीले तीन अंक लिनसक्यौं, यसमा खुशी छु ।’

जितका बाबजुद खेलमा धेरै गोल गर्ने मौका गुमाएको बताउँदै प्रशिक्षक कटवालले रेफ्रीको कमजोरीको कारणले गोल खानु परेको प्रतिक्रिया दिए ।

राष्ट्रिय टोलीका स्टारले भरिएको मछिन्द्रको सुरुआती–११ छनोट र खेलाडी व्यवस्थापनबारे स्पष्ट पार्दै उनले भने, ट्रेनिङमा बेस्ट दिएको खेलाडीलाई नै मैले खेलाउने हो । व्यावसायिक खेलाडी भएपछि खेलाडी आफैँले पनि बुझ्नु पर्छ ।’

यस्तै, एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले खेलबाट सन्तुष्ट रहेको बताए । ‘आज पहिलो खेल हो, म यसबाट सन्तुष्ट छु,’ उनले भने, ‘पहिलो खेल भएकाले पनि सेट हुन गाह्रो भएको थियो ।’ यद्यपि, खेलाडीको प्रदर्शनबाट भने आफू सन्तुष्ट रहेको बताउँदै सानो गल्तीका कारण गोल खानु परेको प्रतिक्रिया दिए ।

‘सन्तुष्ट नै छु, केटाहरूले सानो मिस्टके गरे । विदेशी खेलाडीको व्यक्तिगत प्रदर्शन भए पनि गेमर्मा सपोर्ट भएन । त्यसैले टोलीमा ग्याप देखिएको छ,’ उनले भने, ‘(एरिक विष्टले ५४औं मिनेटमा प्रहार गरेको) फ्रि–किक ट्रेनिको अभ्यास सफल भएको हो ।

एनआरटीविरुद्धको जितपछि महत्त्वपूर्ण तीन अंक हासिल गरेको मछिन्द्रले लिगमा विजयी यात्रा सुरु गरेको छ । मछिन्द्रले दोस्रो चरणको खेलमा १३ गते त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ । यस्तै, पराजित एनआरटीले ब्रिगेड ब्वाइजसँग खेल्ने छ ।

शुक्रबारदेखि सुरु भएको लिगको पहिलो चरण पूरा हुँदा थ्री स्टार, ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लबले जित निकालेका छन् । थ्री स्टारले च्यासल युथ क्लबमाथि ३–० को शानदार जित निकाल्दा ब्रिगेडले विभागीय प्रतिद्वन्दी एपीएफ फुटबल क्लबविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको थियो ।

यस्तै, मनाङले भने जावलाखेल युथ क्लबविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्यो । यसअघिका ६ मध्ये तीन खेल बराबरीमा सकिएका थिए । उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्बलले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेल्दा हिमालयन शेर्पा र संकटाले १–१ गोलको बराबरीसँगै अंक बाँडेका थिए ।

त्यस्तै, सोमाबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको विभागीय डर्बी पनि १–१ गोलको बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर