ए डिभिजन लिगः विभागीय डर्बी १-१ बराबरी – Nepal Press

ए डिभिजन लिगः विभागीय डर्बी १-१ बराबरी

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेलेका छन् । शुक्रबारदेखि सुरु भएको लिगको पहिलो खेलमै साविक उपविजेता आर्मीले तीन अंक लिने मौका गुमायो ।

तीन पटकको च्याम्पियन पुलिसलाई खेल अवधिभर दबाबमा राखेको आर्मीले दोस्रो हाफको सुरुमै गोल खाएको थियो ।

आर्मीका राइट ब्याक गौतम श्रेष्ठले ५०औं मिनेटमा विपक्षी टोलीका बुद्ध बल तामाङलाई फाउल गरेसँगै पुलिसले फ्रि-किक पाएको थियो । तामाङले ५१औं मिनेटमा दायाँतर्फबाट प्रहार गरेको फ्रि–किकमा डिफेन्डर सन्तोष हेमरनले हेडरमार्फत गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

त्यसको ११ मिनेट नबित्दै सब्स्टिच्युट खेलाडी बिबेक बस्नेतले पेनाल्टी एरियाको ठीक अगाडिबाट गरेको सुन्दर गोलसँगै आर्मीले बराबरी गरेको थियो । १-० ले पछि परेपछि विपक्षी पुलिसको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको थियो ।

सुरुमा ठूला मौका सृजना हुन नसके पनि १०औं मिनेटमा आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार टार्गेट थिएन ।

त्यसको चार मिनेट नबित्दै १४औं मिनेटमा जर्ज प्रिन्स गरेको सुन्दर क्रसमा आर्मीका कप्तान भरत खवासले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार बाहिरिएको थियो । जर्ज प्रिन्सले बायाँतर्फबाट दिएको डेलिभरीलाई कप्तान भरतले ‘कन्भर्ट’ गर्न नसक्दा आर्मीले अग्रता लिने सुन्दर मौका गुमाएको थियो ।

सुरुआती २९ मिनेटसम्म आर्मीविरुद्ध दबाबमा परेको पुलिसका लागि १८औं मिनेटमा सुमन लामाले पहिलो पटक करिब ३० यार्ड टाढाबाट प्रहार गरेका थिए । तर, उनको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

पुलिसका अन्जन राईले २२औं मिनेटमा आर्मीका मिडफिल्डर सन्तोष तामाङमाथि खराब फाउल गर्दै विपक्षी टोलीलाई फ्रि-किक दिएका थिए । तर, जर्ज प्रिन्सले १८ यार्ड बक्स ठीक अगाडिबाट गरेको फितलो प्रहारले पुलिसको डिफेन्सिभ वालसमेत पार गर्न सकेन ।

आर्मीका मिडफिल्डर शेशेहाङ आङ्देम्बेले ४३औं मिनेटमा करिब ३५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले बचाएका थिए ।

२०७६ सालमा भएको लिगको पछिल्लो संस्करणमा आर्मीले पुलिसविरुद्ध ४-२ को रोमाञ्चक जित निकालेको थियो । त्यो नाटकीय खेलको ७६औं मिनेटसम्म २-१ गोलको नतिजामा पछाडि परेको थियो । तर, आर्मीले निर्धारित समयको बाँकी १३ मिनेटमा तीन गोल ठोक्दै रवाफिलो जित निकालेको थियो ।

खेलपछि पुलिसका मुख्य प्रशिक्षक अनन्त थापाले एक अंक लिएर पनि सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

‘आजको खेल ‘स्पिडी’ थियो,’ खेलपछिको पत्रकार सम्मलेनमा उनले भने, ‘३ अंक करिब हामीले लिइसकेका थियौं । आक्रामक खेलेका थियौं । तर, एउटा खेलाडीको गल्तीले गोल खान पुग्यौं ।’

यद्यपि, गत सिजन दोस्रो भएको टोलीसँग १-१ को बराबरी खेलेर अंक बाँडेर पनि आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

‘हामी आजको खेलमा सक्यौं भने ३ अंक नभए १ अंक लिने भन्ने योजनासहित मैदानमा उत्रिएका थियौं,’ उनले भने, ‘आर्मीले जसरी आक्रमक गरेको थियो, त्यसैले हामी बराबरीबाट पनि खुशी छौं ।’

गत सिजन २-१ को अग्रता १३ मिनेट जोगाउन नसकेर ४-२ गोलको नतिजामा पराजित भएको टोलीसँग सिजनको पहिलो खेलमा अग्रता लिएर १-१ को बराबरी खेल्नु पुलिसका लागि लिगमा नराम्रो सुरुआत पक्कै होइन ।

‘पहिलो खेल भएकाले यो महत्त्वपूर्ण छ । टोलीको वातावरण र खेलाडीहरूको मनोबलमा यसले धेरै महत्त्व राख्छ,’ प्रशिक्षक अनन्तले भने ।

यस्तै, आर्मीका सहायक प्रशिक्षक राजु तामाङले डिफेन्भिस सन्तुलन नमिलेर गोल खानुपरे पनि समग्रमा टोलीले राम्रो खेलेको प्रतिक्रिया दिए ।

‘समग्रमा हाम्रो टोलीले राम्रो नै खेल्यो । आक्रामक राम्रो भयो । डिफेन्सिभ सन्तुलन केही नमिल्दा हामीले गोल खान पुग्यौं,’ उनले भने, ‘गोलका लागि लगातार आक्रमण गर्यौं गोल निकाल्न सक्थ्यौं । तर, फिनिसिङमा चुकिरहेको छ ।’

पुलिसविरुद्ध आर्मीले पर्याप्त आक्रामण भए पनि फिनिसिङमा तालमेल नभएकाले गोल गर्न समस्या देखिएको उनले बताए ।

‘आक्रामक फुटबल खेलेका थियौं । त्यसैले अगाडि बढेर ‘प्रेसिङ’ गर्ने रणनीमिा खेलेका थियौं,’ उनले भने ।

तर, यसपाली भने कम आँकिएको पुलिसविरुद्ध आर्मीले तीन अंक जोड्न सकेन । यद्यपि, पुलिसले भने उपाधि दाबेदार मानिएको आर्मीसँग १ अंक खोसेको छ । शुक्रबारबाट सुरु भएको लिगको जारी संस्करणमा यो तेस्रो बराबरी हो । यसअघि उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्बलले गोलरहित बराबरी खेलेका थिए ।

यस्तै, शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १-१ गोलको बराबरी खेलेका थिए । शनिबारको दोस्रो खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबमाथि ३-० को फराकिलो नतिजामा पराजित गरेका थियो । आइतबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफविरुद्ध ३-२ तथा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्बलले जावलाखेलमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो ।

पहिलो चरणको अन्तिम खेलमा सोमबार साविक विजेता मछिन्द्र क्बलले न्युरोड टिम (एनआरटी)सँग खेल्ने छ । दशरथ रंगशालामै ४: ४५ बजे सुरु हुने खेलाबाट मछिन्द्रले उपाधि रक्षा अभियान सुरु गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर