प्रचण्डको दाबी- राष्ट्रपति, प्रधानमन्त्री जो-जो भए पनि देश माओवादीकै नेतृत्वमा छ – Nepal Press

प्रचण्डको दाबी- राष्ट्रपति, प्रधानमन्त्री जो-जो भए पनि देश माओवादीकै नेतृत्वमा छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिरसमेत माओवादीलाई ‘अपराजय’ शक्तिका रुपमा स्वीकारिएको बताएका छन् । अहिले राष्ट्रपति, प्रधानमन्त्रीजस्ता पदहरुमा जोजो भए पनि देश माओवादीकै नेतृत्वमा रहेको उनले दावी गरे ।

चितवनको टाँडीमा सोमबार आयोजित अगूवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी कमजोर हुँदा र सुस्ताउँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको उल्लेख गरे । प्रतिक्रियावादी षडयन्त्रका विरुद्धमा पार्टीले विद्रोहको झण्डा उठाएको र त्यसमा सफल भएको उनको भनाइ छ ।

‘अहंकार र दम्भले ग्रस्त भएका तत्वलाई बालुवाटारबाट गलहत्याएर बालकोटमा र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पुर्‍याउने कामको अगूवाई हाम्रो पार्टीले गरेको हो । अहिले जनता र क्रान्तिकारीमा नयाँ आशा र विश्वास पैदा भएको छ । देशभित्र मात्र होइन देशबाहिर पनि कुन मान्यता स्थापित भएको छ भने माओवादी केन्द्रले मात्रै राष्ट्रलाई एकतावद्ध राख्न सक्छ र यो नै नेपालको अपराजय शक्ति हो । यो सामान्य कुरा होइन । निकै ठूलो कुरा हो,’ प्रचण्डले ब्याख्या गरे ।

एक-डेढ वर्षदेखि पार्टी केन्द्रको क्रियाकलापले देशको राजनीति माओवादी केन्द्रकै वरिपरी रहेको पुष्टि हुने उनले बताए । प्रचण्डले भने, ‘अहिले पनि नेपाल माओवादीकै राजनीतमा छ, माओवादीकै नेतृत्वमा छ भन्ने एक–डेढ वर्षयता हाम्रो क्रियाकलापबाट देखिएको छ । प्रधानमन्त्री जोसुकै भए पनि राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरी छ । यो विश्वासलाई दह्रोगरी तपाईंहरुले आत्मसात गर्नुपर्यो । जनतामा लैजानुपर्‍याे ।’

माओवादी असफल भयो भने राष्ट्र हुने प्रचण्डको भनाइ थियो । ‘बिचार गर्नुहोला, यो कति भयानक कुरा छ,’ उनले भने, ‘हामीले हजारौंको बलिदान गरेर देशलाई यति ठूलो परिवर्तनमा ल्याएका हौं, यसलाई कमजोर बनाउने छुट हामीलाई छैन । त्यो अपराध हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर