रिटेल पेमेन्ट स्वीच सञ्चालन गर्न एनसीएचएललाई राष्ट्र बैंकको अनुमति – Nepal Press

रिटेल पेमेन्ट स्वीच सञ्चालन गर्न एनसीएचएललाई राष्ट्र बैंकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागि नेपाल क्लियरिङ हाउसलाई स्वीकृति प्रदान गरेको छ ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपश्चात उक्त स्विकृति प्रदान गरिएको हो । हाल उक्त स्वीचमा आबद्ध हुन बैंक/वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरु लगायतसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याउने एनसीएचएलले जनाएको छ ।

विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्यूआरलगायतका विद्युतीय भुक्तानीका माध्यमबीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्वीचको स्थापना गर्ने कार्य अघि बढाउन अघिल्लो आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउसलाई स्विकृति प्रदान गरिएको हो ।

नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ्ग हाउसले दुइ चरणमा कार्यान्वयन गर्न कार्य हुँदै आएको छ । पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआर लगायतका भुक्तानीहरुको लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको छ भने दोश्रो चरणमा कार्डको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको कम्पनीले जनाएको छ ।

नेशनल पेमेन्ट स्वीच सञ्चालनमा आएपश्चात नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्याण्डर्ड पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने बताएको छ । जसअन्तर्गत उक्त स्ट्याण्डर्डको नेपालपे क्यूआर लागू हुने छ भने नेपालभित्र रहेका क्यूआरबीच समेत अन्तरआबद्धता कायम गर्न सकिने छ ।

सेवा बापतको भुक्तानीहरुलाई कुनै पनि बैंक/वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्वीचमार्फत कारोबार र यसको फर्छ्यौट गर्न सकिने छ । वालेट–वालेट बीचको अन्तरआबद्धता कायम गरी एउटा भुक्तानी सेवा प्रदायकबाट अर्को भुक्तानी सेवा प्रदायकमा वालेटबाट नै रकम ट्रान्स्फर गर्ने लगायतका भुक्तानी गर्न सकिनेछ ।

त्यस्तै विद्युतीय आदेशमा आधारित रिक्वेस्ट–टू–पे अन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा आउनेछन् । हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्ट समेत एनसीएचएलमार्फत गर्न सकिनेछ ।

नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुन तथा सोको लागि तयारी गर्न बैंक/वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलाई एनसीएचएलले आवश्यक सहयोग गर्दै आएको छ । पहिलो चरणको पूर्वाधारमा आबद्ध हुन र प्रयोग गर्न यसअघि एनसीएचएलमा आबद्ध भएका सबै सदस्य बैंक/वित्तीय संस्था तथा अन्य सदस्यहरुलाई सिधै उक्त रिटेल पेमेन्ट स्वीचमा पहुँच प्रदान गरिने गरी एनसीएचएलले पूर्वाधारमा लगानी गरेको छ ।

यसले नेशनल पेमेन्ट स्वीच लगायतका उपकरणहरुको कार्यान्वयन गर्न, कारोबारसम्बन्धी डाटा नेपाल भित्रै राख्न र ग्राहकहरुलाई विद्युतीय भुक्तानीको सेवा समेत सहुलियत रूपमा प्राप्त गराउन सहयोगी भूमिका खेल्ने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर