एनआरएनए यूकेको मिडिया संयोजकमा सम्पादक शिव भण्डारी – Nepal Press

एनआरएनए यूकेको मिडिया संयोजकमा सम्पादक शिव भण्डारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन भएका छन् । एनआरएनएले आफ्नो नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको सय दिन पूरा भएको अवसरमा लन्डन नेपाल न्यूजका प्रधान सम्पादक समेत रहेका भण्डारीलाई संयोजक पदमा मनोनयन गरेको हो ।

नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल पत्रकार महासंघ यूकेको दुई कार्यकाल सचिवमा निर्वाचित भइ उल्लेखनीय काम गरेका छन् ।

लगनशीलता र मेहेनतका साथ बेलायतस्थित नेपाली समुदायमा सक्रिय पत्रकारको भूमिका निर्वाह गरेका कारण महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका उनले बेलायतमा विगत १२ बर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।

गुल्मी धुर्कोट स्थायी घर भएका भण्डारीले अन्य साथीहरुको सद्भाव सहित करिब एक दशक अघि लण्डन नेपाल न्यूज नामक आफ्नै अनलाइन समाचार पोर्टल सुरु गरेका थिए ।

भण्डारीको नेतृत्वमा सञ्चालित लण्डन नेपाल न्यूज हाल बेलायतमा रुचाइएको अनलाइन पत्रिका मानिन्छ ।

मिडिया संयोजकको रुपमा जिम्मेवारी दिएको प्रति एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरसहितको कार्यसमितिलाई आभार व्यक्त गर्दै सम्पादक भण्डारीले आफूले पाएको जिम्मेवारी पूर्ण दत्तचित्त भएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

सय दिन पूरा भएको अवसरमा विशेष समारोह

यस्तै एनआरएनएले कार्यसमितिको सय दिन पूरा भएको उपलक्ष्यमा सल्लाहकारहरुलाई सम्मानसहित विशेष समारोह आयोजना गरेको छ । अल्डरशटको एम्पायर हलमा २० नोभेम्बरको दिन बेलुका ६ बजे विशेष समारोह आयोजना गरिएको अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए ।

सय दिनको अवधिमा कार्यसमितिले गरेका कामकारवाहीहरु जानकारी गराउने र भावी रणनीति तय समेत गर्नेगरी कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।

‘सेरेमोनी विथ च्यारिटी डिनर’ नाम दिइएको सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गरी राखिएका उद्देश्य पूरा गर्नेगरी तयारीको काम अघि बढाइएको च्यारिटी संयोजक समेत रहेका उपाध्यक्ष गोविन्द खरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर