आज धनतेरस मनाइँदै, के-के किनिन्छ धनतेरसमा ? – Nepal Press

आज धनतेरस मनाइँदै, के-के किनिन्छ धनतेरसमा ?

काठमाडाैं । दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ ।

मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो ।

कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ ।

आज बिहान ९ बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा नक्षत्रादिको भोगले बिहान ११ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुने मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास नगरपालिका–२ का महेशकुमार झा बताउँछन् ।

घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । दुवै पञ्चाङ्गमा आज नै धनतेरस उल्लेख रहेको झाले बताए।

कात्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धन्वन्तरी जयन्ती पनि आजै परेको छ ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् ।

मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ ।

सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । मिथिलामा आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।

के-के किनिन्छ यस दिन ?

भगवान् धन्वन्तरीलाई पित्तल मनपर्ने भएकाले यस दिन विशेष रूपमा पित्तलका सामानहरू किनिन्छ । नेपाली बजारमा यस दिन विशेषगरी पित्तलका थाल, गिलास, कचौरा, कलशहरूको खरिद–बिक्री हुने गर्छ ।

धनतेरसको दिन किनिएको कुवेर यन्त्र तथा श्री यन्त्रलाई शुभ मानिन्छ । यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने विश्वास गरिन्छ ।

साथै, यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन छ । यसले घरमा शुभफल दिनुका साथै समृद्धि भित्रिने जनविश्वास रहेको छ ।

धनतेसरमा अधिकांशले कुचो किन्ने गरेका पाइन्छ । यस दिन कुचो किनेर घरमा ल्याउँदा पैसाको अभाव नहुने तथा घर परिवारका सदस्यलाई रोगले नसताउने विश्वास गरिन्छ ।

सवारी साधन किन्नेहरू पनि यसै दिनको प्रतीक्षामा रहेका हुन्छन् । यस दिनलाई सवारी साधन किन्न शुभ मानिनुका साथै नेपालमा दसैं/तिहारको अफर पनि चल्ने भएकाले यस दिन सवारी साधनको बिक्रीसमेत अत्यधिक हुने गरेको छ ।

आजदेखि भाइटीकाको दिनसम्म व्यवसाय तथा व्यक्तिगत कारोबारमा उधारो गर्दा अशुभ हुने जनविश्वाससमेत रहेको छ । आजकै दिनदेखि तिहार सुरु भए पनि तिथिमा परेको घटबढका कारण भोलि ९बुधबार० नै काग तिहार र कुकुर तिहार मनाइँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर