सडकमार्गबाट चितवन जाँदै ओली, बीच बाटोमा रोकेर स्थानीयले गरे स्वागत (तस्बिरहरू) – Nepal Press

सडकमार्गबाट चितवन जाँदै ओली, बीच बाटोमा रोकेर स्थानीयले गरे स्वागत (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चिवनतर्फ लागेका छन् । दुईदिने चितवन बसाइँका क्रममा आज उनी केही नेताहरूसहित काठमाडौंदेखि सडकमार्ग हुँदै चितवन गएका हुन् । दासढुंगादेखि प्रस्तावित अयोध्याधामसम्म पुग्ने ओलीको कार्यक्रम छ ।

गाडी यात्राको क्रममा बीच बाटोमा स्थानीयबासीले ओलीलाई रोकेर स्वागत गरेका छन् । ओलीको स्वागतमा वृद्धवृद्धादेखि, महिला, युवा र कार्यकर्ताको भीड लागेको छ । ओलीसँगै स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य प्रभु साहलगायतका केन्द्रीय नेताहरू छन् ।

ओलीले नारायणगढ-मुग्लिन सडकखण्डस्थित दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नेछन् । २०५० जेठ ३ गते जीप दुर्घटनामा परी तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको रहस्यमय मृत्यु भएको थियो ।

त्यसपछि ओलीले केन्द्रीय महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन गर्नेछन् । भरतपुरको हाकिम चोकमा रहेको चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर सम्बोधन गरेपछि उनले केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्द्घाटन गर्ने कार्यक्रम छ ।

चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ । भरतपुर–१० मदननगरमा एमाले चितवन पार्टी कार्यालयमा सम्पर्क कार्यालय स्थापना गर्न लागिएको हो ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार ओलीले महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रको दिउँसो ४ बजे निरिक्षण गर्नेछन् ।

एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार अध्यक्ष ओलीले १६ गते बिहान भरतपुर– १६ ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा निर्माणाधीन मिनि पानीजहाजको अवलोकन गर्नेछन् ।

ओली १६ गते नै माडी अयोध्याधाम पुग्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर