मध्य भोटेकोशीको ७५ प्रतिशत काम सकियो, एक वर्षमा सक्ने लक्ष्य – Nepal Press

मध्य भोटेकोशीको ७५ प्रतिशत काम सकियो, एक वर्षमा सक्ने लक्ष्य

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखेर आयोजना निर्माणको काम अहिले पनि धमाधम भइरहेको छ ।

आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्षात् सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य छ । विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४ सय १५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखेर काम भइरहेको छ ।

२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवम् आसपासको क्षेत्रमा आएको बाढी-पहिरोको र कोभिड-१९को महामारी लगायतका समस्याबाट गुज्रिएको यो आयोजना अहिले आएर सम्पन्नता नजिक पुगेको हो ।

प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरुसहितको टोलीले शनिबार निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारीसमेत लिएको छ ।

टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरू र परामर्शदातासँग छलफल गरी २०७९को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाहरुको निर्माण प्रगति उत्साहजनक देखिएको बताए ।

‘आयोजना प्रभावित तथा मुलुकभरका नेपाली नागरिकले महंगो व्याजदरमा ऋण काडेर भए पनि सेयर खरिद गरी आयोजनामा लगानी गरेका छन्, निर्माणमा ढिलाइ हुँदा आयोजानको लागत बढिरहेको छ भने विद्युत बिक्रीबाट प्राप्त हुने अम्दानी गुम्दा लगानीकर्ताले प्रतिफल पाउन सकिरहेका छैनन्’, घिसिङले भने ।

‘निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी संधै तयार छौं, आयोजनाको स्वामित्व लिई टिम बनाएर काम गरौं, अब संसोधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अगाडि बढौं ।’

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रूपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

आयोजनाबाट वार्षिकरूपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमश: रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रूपैयाँ आम्दानी हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *