वागमती प्रदेशसभा बैठकमा एमाले नजाने, बैठक रोकिए बहुमत सांसदको हस्ताक्षरको तयारीमा गठबन्धन – Nepal Press

वागमती प्रदेशसभा बैठकमा एमाले नजाने, बैठक रोकिए बहुमत सांसदको हस्ताक्षरको तयारीमा गठबन्धन

मकवानपुर । वागमती प्रदेश सरकार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भनिए पनि प्रदेशसभाको बैठकको एजेण्डा अन्योल बनेको छ ।

आजका लागि आह्वान गरिएको बैठक सार्न एमाले वागमती प्रदेश कमिटीले सभामुखलाई पत्र पठाएर आग्रह गरेको छ । अन्तिम समयमा आएर बैठक स्थगित गर्न खोज्नु अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यको सरकारको आयु बढाउन खोजिएको भन्दै टिप्पणीसमेत बढेको छ ।

अपरान्ह ३ बजेका लागि आह्वान गरिएको बैठक सारेर यही ११ कात्तिकका लागि संसद बोलाउन सत्तारुढ एमालेका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभा सचिवालयमा प्रस्ताव पठाएका छन् ।

पार्टीको वडा र पालिका अधिवेशनका कारण व्यस्तताले बैठकमा उपस्थित हुन नसक्ने भएकाले समय सार्न एमालेले आग्रह गरेको हो । आजको बैठक सभामुखले राखे पनि एमालेका सांसदहरू उपस्थित नहुने निरौलाले बताए ।

उनले भने, ‘हामीले प्रदेशसमा विहीबारका लागि बोलाइएको बैठक सार्नका लागि भनेका छौं । सभामुखले बैठक सार्नुभएन भने पनि आजको बैठकमा हामी उपस्थित हुन सक्दैनौं ।’

विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एकीकृत समाजवादी) भने विहीबारका लागि आह्वान गरिएको बैठक नसर्नेमा ढुक्क छन् । सभामुखले यदि बैठक सार्ने प्रयत्न गरेको खन्डमा नयाँ सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखकोमा जाने उनीहरूको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी एमालेले सरकारको आयु लम्ब्याउन खोजे पनि अल्पमतमा परिसकेको सरकार अब टिक्न नसक्ने बताउँछन् ।

एकीकृत समाजवादी बाग्मती प्रदेश संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देल केन्द्रीय सहमतिअनुसार वागमतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने सहमति भएकाले एमालेले बैठक सार्न माग राखे पनि उसको योजना सफल नहुने बताउँछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर