हौसिएर फजुल खर्च नगर्न आग्रह गर्दै ओलीको दसैँ शुभकामना – Nepal Press

हौसिएर फजुल खर्च नगर्न आग्रह गर्दै ओलीको दसैँ शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको अवसरमा शुभकामना दिएका छन् । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्नेमा उनको जोड छ ।

ओलीले शुभकामना सन्देशमार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्ने अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा नकारात्मक प्रवृत्तिहरू देखिएको भन्दै एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न आव्हान गरेका छन् ।

‘यी चाडपर्वहरू केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रबन्धका आधार पनि हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरू यिनै सामाजिक प्रवन्धहरूका आधारमा विकसित भएका छन्’, ओलीले शुभकामनामा भनेका छन्’, यी चाडपर्वहरूका सकारात्मक अन्तर्यहरु, जो महान् र जीवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता पर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोगहीन जस्तो बनाउँछ ।’

चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्षलाई हटाउँदै जानुपर्ने भन्दै ओलीले औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित नहुने बताएका छन् ।

यस्ता अभ्यासलाई सच्याएर चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनु आवश्यक रहेको उनको जोड छ । कोरोना महामारी कायमै रहेकोले भौतिक घुलमिलमा सजगता अपनाउन आग्रह गर्दै ओलीले स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसरण गर्न अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर