‘अति रक्षात्मक’ बन्दा भारतसँग चुकेको नेपाल – Nepal Press

‘अति रक्षात्मक’ बन्दा भारतसँग चुकेको नेपाल

सुनिललाई रोक्ने ‘अस्त्र’ भेटिएन

काठमाडौं । साफ च्याम्पियनसीपमा उत्कृष्ट सुरूआत गरेको नेपालले आइतबार राति माले रंगशालामा भारतलाई ०-१ ले खेल सुम्पिएपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पत्रकार सम्मेलनमा स्वीकार गरे, ‘कृपया खेलाडीलाई दोष नदिनुस् । मेरो रणनीति फेल खाएको हो । उनीहरूले कडा प्रतिस्पर्धा गरे ।’

प्रशिक्षकले यसरी हारको एकल जिम्मेवारी लिए पनि मैदानमा नेपाली टिमको प्रदर्शनलाई समीक्षाको दायराबाट बाहिर राखिहाल्न सकिन्न । नेपालका लागि फेरि एकपटक बाधक बने कप्तान सुनील क्षेत्री । उनलाई रोक्ने अस्त्र फेरि पनि नेपालसँग भएन र यही नै हारको कारण बन्यो ।

नेपालविरूद्ध सुनीलले गोलका चारवटा अवसर पाए । यसमध्ये ८२ मिनेटमा पाएको चौथो र अन्तिम अवसर नै नेपाललाई पराजित गर्न पर्याप्त बन्यो ।

आफ्नै ‘विङ’ बाट खेल्ने आक्रामक मिडफिल्डर ब्रान्डन फर्नान्डेजले डिबक्सभित्र हानेको बल फारुक चौधरीले हेडिङ गर्दै नेपाली ‘गोल-लाइन’ को ‘सिक्स यार्ड’ भित्र खसालेका थिए । ‘अनमार्क’ रहेका सुनिलले बल भूइँमा ठोकिन नपाउँदै भली गोल गरे ।

यो भन्दा २ मिनेटअघि ब्रान्डनकै ‘इन्सुइङ कर्नर’ मा डिबक्सभित्र सुनीलले ‘फ्रि हेड’ को मौका पाएका थिए । तर, त्यसलाई गोलमा परिणत गर्न नसकेपछि जर्सीले अनुहार लुकाउँदै सुनिलले आफ्नो निराशा व्यक्त गरेका थिए ।

समग्रमा भन्नु पर्दा, भारतविरूद्धको खेलमा नेपाल एक अंक चोर्ने रणनीतिअन्तर्गत उत्रिएको देखिन्थ्यो । त्यो रणनीति पूरा नभएपछि प्रशिक्षक अल्मुताइरीले माफी माग्नुबाहेक अर्को विकल्प थिएन । जुन उनले पत्रकार सम्मेलनमा गरे ।

बंगलादेश र श्रीलंकासँग खासै जम्न नसकेका सुनिल नेपालविरूद्धको खेलमा चारैतिर छाएका देखिन्थे । गोलको मौका चुक्दा उनी आफ्ना साथीसँग झर्किए पनि । उनको त्यो व्यवहारले नेपालविरूद्धको खेल भारतका लागि कति महत्वपूर्ण थियो भन्ने प्रष्ट हुन्छ ।

नेपालको रणनीति गोल गर्नेभन्दा भारतलाई रोक्नेमात्रै देखियो । सुरूदेखि नै रक्षात्मक तरिकाले खेल्नु नै नेपालको भूल भयो । खेलको ७० मिनेटसम्म नेपाली डिफेन्डरले भारतको अंग्रपक्तिलाई अल्झाएर राखे । नेपालले बराबरी नतिजामा पनि सन्तोष मान्ने थियो । तर, ८२ औं मिनेटमा गोल खाएपछि नेपालले खेलमा फर्किन समय नै भएन ।

गोल खाएसँगै नेपाली ‘डिफेन्स-लाइन’हल्लिन पुग्यो । यसको कारण थियो, ‘विङ’ बाट खेल्ने दुई आक्रामक मिडफिल्डर लिस्टन कोलाको र फारुक चौधरीको मैदान प्रवेश । खेलको अन्तिम २० मिनेटमा नेपाल थप रक्षात्मक बनेपछि भारतका क्रोएसियाली प्रशिक्षक इकेर स्टिमाकले डिफेन्डर मन्दिर देसाईको स्थानमा ‘आक्रामक मिडफिल्डर’ लिस्टन र ‘रक्षात्मक मिडफिल्डर’ यासिरको ठाउँमा पुनः अर्का ‘आक्रामक मिडफिल्डर’ फारुकलाई प्रवेश गराएका थिए ।

सुनिलले ८२ मिनेटमा नेपालविरूद्ध गोल गर्दा फारुक नै सबैभन्दा प्रभावशाली बनेका थिए । ब्रेन्डनको क्रसमा डिबक्सभित्र हेडिङ गरेका फारुकले दोस्रो बारमा बल हान्ने आँकलनका साथ नेपाली गोलकिपर किरण चेम्जोङले गोल पोस्टको मोर्चा सम्हालेका थिए । तर, उनले सिधै गोल पोस्टमा हेडिङ नगरि ‘सिक्स यार्ड’ मा बल खसाइदिए । सुनिलले नेपाली गोलकिपरलाई कुनै मौका नदिई सहजै गोल गरे । सुनिलले गोल गर्दा उनलाई रोक्ने जिम्मेवारी पाएका रोहित चन्दले पनि पछाडिबाट टुलुटुलु हेर्नेबाहेक केही गर्न सकेनन् ।

भारतविरूद्धको खेलमा नेपाली मिडफिल्डर सेन्टर हाफको माथिभन्दा तल बढी अल्झिए । नेपाली रणनीतिलाई राम्रोसँग बुझेका भारतीय प्रशिक्षकले दोस्रो हाफमा त्यति प्रभावशाली बन्न नसकेका सुनिलका ‘स्ट्राइकिङ पार्टनर’ मनवीर सिंहलाई ५८ मिनेटमा परिवर्तन गर्दै उदान्त सिंह र सुरेश वाङजमको ठाउँमा नेपाली मुलका अनिरुद्ध थापालाई प्रवेश गराएका थिए ।

खेलको सुरुवातमै ५-४-१ को फर्मेसनमा मनिष डाँगीलाई एक्लो स्ट्राइकरको रूपमा खेलाएको नेपालको रणनीति ‘काउन्टर अट्याक’ मा जाने स्पष्ट थियो । तर, मोहन बगानका अनुभवी डिफेन्डर सुवासिस बोस र मुम्बई सिटीका राहुल बेकेले उनलाई हल्लिन दिएनन् । डाँगीको स्थानमा नेपालका प्रभावशाली मिडफिल्डर अञ्जन बिष्टलाई दोस्रो हाफमा प्रवेश गराएको नेपालले भारतको आक्रामक रणनीतिका कारण खासै खेल जमाउन सकेन । यद्यपि उनले खेलको अन्त्यतिर भारतीय डिबक्सबाट गोलको असफल प्रयास गरेका थिए । तेज तामाङले दिएको पासमा डिबक्सभित्रबाट भारतीय गोल पोस्टमा प्रहार गरेका अञ्जनको बल बाहिरिएको थियो । डिबक्सभित्रै ‘अनमार्क’ रहेकका आयुष घलानलाई त्यो बल अञ्जनले पास गरेको भए खेलको नतिजा अर्को पनि हुनसक्थ्यो ।

भारतविरूद्धको खेलमा नेपाली मिडफिल्डर सेन्टर हाफको माथिभन्दा तल बढी अल्झिए । नेपाली रणनीतिलाई राम्रोसँग बुझेका भारतीय प्रशिक्षकले दोस्रो हाफमा त्यति प्रभावशाली बन्न नसकेका सुनिलका ‘स्ट्राइकिङ पार्टनर’ मनवीर सिंहलाई ५८ मिनेटमा परिवर्तन गर्दै उदान्त सिंह र सुरेश वाङजमको ठाउँमा नेपाली मुलका अनिरुद्ध थापालाई प्रवेश गराएका थिए । उनको यो परिवर्तनले नेपाली गोल पोस्टमा भारतीय खेलाडी झन् कठोर बन्ने प्रस्ट संकेत देखिएको थियो । ‘सेन्टर फरवार्ड’ बाट खेल्ने देहरादुनका २३ वर्षीय अनिरुद्धलाई सुनिलपछि भारतीय फुटबलको नेतृत्व गर्नसक्ने खेलाडीको रूपमा हेर्ने गरिएको छ ।

अंक तालिका अनुसार फाइनल पुग्ने टिममा नेपालसँगै भारत, माल्दिभ्स र बंगलादेशको उत्तिकै मौका छ । नेपालले आफ्नो अन्तिम खेल बंगलादेशसँग १३ अक्टोबरमा खेल्नेछ । सोही दिन माल्दिभ्स र भारतको पनि प्रतिस्पर्धा हुनेछ । यी दुवै खेललाई सेमिफाइनलको रूपमा हेरिएको छ ।

समग्रमा भन्नु पर्दा, भारतविरूद्धको खेलमा नेपाल एक अंक चोर्ने रणनीतिअन्तर्गत उत्रिएको देखिन्थ्यो । त्यो रणनीति पूरा नभएपछि प्रशिक्षक अल्मुताइरीले माफी माग्नुबाहेक अर्को विकल्प थिएन । जुन उनले पत्रकार सम्मेलनमा गरे ।

भारतसँगको पराजयपछि नेपाल अंक तालिकाको दोस्रो स्थानमा खस्किएको छ । तर, नेपालको फाइनल पुग्ने अवसर भने कायमै छ । माल्दिभ्सले श्रीलंकालाई आइतबारको पहिलो खेलमा १-० ले पराजित गरेपछि घरेलु टोली ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । नेपाललाई पराजित गरेको भारत ५ अंकका साथ तेस्रो तथा भारतलाई १-१ गोलको बराबरीमा राखेर श्रीलंकालाई हराएको बंगलादेश ४ अंकका साथ चौथो स्थानमा छ । श्रीलंका भने तीन खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अंक तालिका अनुसार फाइनल पुग्ने टिममा नेपालसँगै भारत, माल्दिभ्स र बंगलादेशको उत्तिकै मौका छ । नेपालले आफ्नो अन्तिम खेल बंगलादेशसँग १३ अक्टोबरमा खेल्नेछ । सोही दिन माल्दिभ्स र भारतको पनि प्रतिस्पर्धा हुनेछ । यी दुवै खेललाई सेमिफाइनलको रूपमा हेरिएको छ । किनभने यसबाट छनोट हुने टिमले नै फाइनल खेल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर