बालुवाटारको ‘वार रुम’बाट फेक डकुमेन्ट लिक, कांग्रेस महाधिवेशन प्रभावित गर्न अघोषित सचिवालय सक्रिय – Nepal Press

बालुवाटारको ‘वार रुम’बाट फेक डकुमेन्ट लिक, कांग्रेस महाधिवेशन प्रभावित गर्न अघोषित सचिवालय सक्रिय

काठमाडौं । सरकारको नेतृत्वमा आएको ३ महिना पुग्दासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले न त मन्त्रिपरिषद विस्तार गर्न सके न त उनको नीजि सचिवालयले नै पूर्णता पायो । अधिकांश मन्त्रालयको भार आफै बोकेका प्रधानमन्त्री देउवा र उनको ‘अघोषित सचिवालय’ को सक्रियता भने कम छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा सरकार सञ्चालन र राज्य प्रशासनका मात्रै होइन कांग्रेस महाधिवेशनका आन्तरिक तयारीहरु तीव्र पारिएका छन् । अघोषित ‘वार रुम’बाटै देउवाको पक्षमा रेडिमेड न्युज मूलधारका मिडियामा प्रवाह गर्न थालिएको छ । भेरिफाइ नगरी बालुवाटारको वार रुमबाट सम्प्रेषित सामग्री प्रकाशन हुँदा तथ्यमात्र होइन तथ्यांकमै गोलमाल भएको छ ।

प्रधानमन्त्री देउवाले राजनीतिक, पराराष्ट्र, प्रेस, जनसम्पर्क वा आर्थिक सल्लाहकार नियुक्त गरिसकेका छैनन् । तर बालुवाटारभित्र र बाहिर ‘पिएमको सचिवालय’ मा छौं भन्नेहरु बढेका छन् । तीमध्ये अधिकांश बालुवाटार आसपासका ‘होटल तथा रेष्टुरेण्टमा’ भेटिन्छन् भने केही बालुवाटारमै सक्रिय छन् ।

प्रधानमन्त्रीको ‘अघोषित सचिवालय’ ले अहिले प्रधानमन्त्रीका नियमित गतिविधिभन्दा कांग्रेस महाधिवेशनको आन्तरिक रणनीति कार्यान्वयनमा काम गरिरहेको छ ।

बुधबारमात्रै बालुवाटारमा सक्रिय रहेको टिमले महाधिवेशन केन्द्रीत एक रिपोर्ट ‘लिक’ गराएको छ । ‘कांग्रेस पालिका अधिवेशन: देउवा पक्ष सातै प्रदेशमा बहुमतमा’ शीर्षकमा सार्वजनिक गरिएको तथ्यांकमा अधिवेशन भएका ६ सय ५ मध्ये २ सय ५० वटा स्थानीय तहमा सभापति देउवा पक्षले जितेको दावी गरिएको छ ।

त्यस्तै सो रिपोर्टमा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर समूहबाट १ सय ८० जना, पूर्व महामन्त्री कृष्ण सिटौला नेतृत्वको समूहबाट १६ जना, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार पक्षबाट २-२ जना पालिका सभापतिमा निर्वाचित भएको उल्लेख गरिएको छ ।

रिपोर्टमा ४९ जनाको पक्षधरता नखुलेको र ८६ जना जतापनि लाग्नसक्ने लेखिएको छ । मूलधारका सञ्चारमाध्यमले साभार गरेको यो रिपोर्ट कसरी तयार भयो ? भन्ने चै कसैले खोजेका छैनन् । बालुवाटारबाट सार्वजनिक गराइएको रिपोर्ट यत्ति हास्याँस्पद छ की ‘सातै प्रदेशमा देउवा बहुमतमा’ भनिएको छ । जबकी प्रदेश २ मा वडा अधिवेशन समेत सुरु भइसकेका छैनन् । कतिपय जिल्लाको क्रियाशील सदस्यता अझै सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा यतिबेला १४ औं महाधिवेशन लक्षित गतिविधि गर्न झण्डै एक दर्जन कार्यकर्ताले जिम्मा पाएका छन् । तीमध्ये केही पत्रकारहरु पनि रहेका छन् । बाहिर प्रधानमनन्त्रीको सचिवालयमा कार्यरत भनिने उनीहरुको खास काम महाधिवेशन केन्द्रीत तथ्यांक तयार पार्ने, समाचार ‘म्यानिपुलेट’ गराउने र प्रतिनिधिहरुको नामावली र नम्बर तयार गर्ने हो ।

‘१४ औं महाधिवेशनको तयारीका लागि टिम नै खटिएको छ । प्रधानमन्त्रीको सचिवालयमै नियुक्ति दिने भनिएपनि अहिलेसम्म निर्णय भएको छैन तर बालुवाटारको सल्लाहमा हामी काम गरिरहेका छौ’, टिममा सक्रिय एक पत्रकारले भने । ती पत्रकारका अनुसार महाधिवेशन लक्षित प्रचार अभियान अन्तर्गत नै बुधबार ‘देउवा बहुमतमा रहेको’ रिपोर्ट सार्वजनिक गराइएको हो ।

बुधबार सातै प्रदेशको रिपोर्ट सार्वजनिक भएको विषयले देउवाइतर समूहको बैठकमा पनि स्थान पायो । केही नेताहरुले देशभरी देउवाको बहुमत आएको रिपोर्ट कसले बनायो ? भनेर सोधेपछि त्यसबारे खोजनीति सुरु भएको थियो ।

‘पालिका अधिवेशन नै नभएका ठाउँको पनि नाम जोडेर देउवा पक्षले जितेको भनिएको छ । यस्तो फेक काम बालुवाटारबाट नहुनुपर्ने हो’, पौडेल पक्षका एक नेताले नेपाल प्रेससंग भने ।

बालुवाटारबाट प्रचारित ‘रिपोर्ट’ मा ६ सय ५ पालिकामा कांग्रेस अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ । जुन तथ्यसँग मेल खादैन । प्रदेश २ का ८ जिल्लासहित रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलाली लगायतका जिल्लामा कांग्रेसको वडा अधिवेशन नै सम्पन्न भएका छैनन् ।

प्रदेश २ मा १ सय ३६ स्थानीय तह रहेका छन् । अधिवेशन नभएको रसुवामा ५, बाँकेमा ८, कैलालीमा १३, सुर्खेतमा ९, सिन्धुपाल्चोकमा १२ र डोल्पामा ८ स्थानीय तह रहेका छन् । काठमाडौं, काभ्रेपलाञ्चोक लगातयका जिल्लामा १-१ पालिकामा अधिवेशन भएका छैनन् । सरसर्ती हेर्दा नै कांग्रेसमा झण्डै २ सयभन्दा बढी पालिकामा अधिवेशन हुन बाँकी रहेको देखिन्छ । जबकी ६ सय ५ पालिकामा अधिवेशन भइसकेर देउवा बहुमतमा रहेको प्रतिवेदन सार्वजनिक गराइएको छ । त्यसो हुनका लागि मुलुकमा ८ सयभन्दा बढी पालिका हुनुपर्छ । जबकी नेपालमा हाल ७ सय ५३ वटा मात्रै पालिका रहेका छन् ।

हावादारी प्रतिवेदन: निर्वाचन समिति

कांग्रेसको प्रचारित ‘रिपोर्ट’ बारे निर्वाचन समितिसंग नेपाल प्रेसले जिज्ञासा राखेको थियो । ‘निर्वाचन समितिले भनेको बाहेक रिपोर्टको हामी जिम्मा लिन सक्दैनौ । जहाँसम्म आज सार्वजनिक भएको छ त्यो तथ्यसंगत छैन । यतिमात्रै भन्नसक्छु’, निर्वाचन समितिका एक सदस्यले भने । उनले महाधिवेशन प्रभावित गर्न ‘प्रोपोगाण्डा’ गरिएको हुनसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर