लगातार तेस्रो जित निकाल्दै चितवन ईपीएलको प्ले अफमा – Nepal Press
ईपीएल

लगातार तेस्रो जित निकाल्दै चितवन ईपीएलको प्ले अफमा

काठमाडौं । मोहम्मद शहजादको अविजित अर्धशतकप्रेरित चितवन टाइगर्स शुक्रबार भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्ले अफमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो । १ सय २४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चितवनले १६.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनका लागि ओपनर इशान पाण्डे शून्यमा पेभेलियन फर्केका थिए । तर, शहजादले वान् डाउनमा आएका भीम सार्कीसँग उत्कृष्ट साझेदारी गर्दै चितवनलाई सहज जित दिलाए ।

शहजादले ५२ बलमा ७ चौका र २ छक्कासहित ६३ रनको महत्त्वपूर्ण इनिङ खेल्दा भीमले पनि ४२ बलमा ५ चौका र २ छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेले ।

पोखराका लागि विक्रम शोबले एक विकेटबाहेक अन्य बलरले सफलता हात पारेनन् ।

टस जितेर ब्याटिङ रोजेको चितवन टाइगर्सले १ सय २३ रनको योगफल तयार गरेको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामै पहिलो पटक ब्याटिङ रोजेको पोखराले खराब सुरुआत गरेको थियो । तर, अपेक्षित ब्याटिङ गर्न नसक्दा पोखराले ठूलो लक्ष्य तयार गर्न सकेन ।

ओपनर रित गौतमलाई दोस्रो ओभरमै चार रनको योगफलमा गुमाएको पोखराको माथिल्लो ब्याटिङ कर्डर ‘कोल्याप्स्ड’ भएसँगै ठूलो योगफलतर्फ लम्किन सकेन ।

पोखराले ओपनर रिचार्ड लेभीबाहेक सुरूआती चार ब्याट्सम्यानलाई १० भन्दा कम रनमा गुमाएको थियो । यद्यपि, पोखराका लागि असेला गुणारत्ने र विवेक यादवले ५६ रनको साझेदारी गर्दै टोलीलाई १०० रन नजिक पुर्याएका थिए ।

यादवले पोखराका लागि महत्त्वपूर्ण ५३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४५ बलमा ३ चौका र ३ छक्कासहित प्रहार गरेका थिए ।

यस्तै, चितवनका लागि साहब आलमले आफ्नो कोटाको चार ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान सोमपाल कामीले पनि चार ओभरमा १२ रन खर्चेर १ मेडनसहित एक विकेट लिए ।

अर्का तीव्र गतिका बलर कमलसिंह ऐरीले पनि ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए ।

भैरहवा ग्लाडिएटर्सविरुद्धको पहिलो खेल वर्षाले प्रभावित भएसँगै पोखराले १/१ अंक बाँडेको थियो । यस्तै समयमा सुरु हुन नसकेको दोस्रो खेलमा भने पोखराले ७ ओभरको खेलमा ललितपुर प्याट्रिओट्सलाई ९ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, सुरुआती दुई खेलमा जित निकालेको चितवन पनि लगातार तेस्रो जित निकाल्दै प्लेअफ नजिक पुगेको छ । पहिलो खेलमा भैरहवा ग्लाडिएटर्सलाई २ विकेटले पराजित गरेको चितवनले दोस्रो खेलमा काठमाडौं किङ्ग्स-११ लाई ३ विकेटले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर