ईपीएलः साविक विजेता ललितपुरको दोस्रो हार – Nepal Press

ईपीएलः साविक विजेता ललितपुरको दोस्रो हार

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को साविक विजेता ललितपुर प्याट्रिओट्स लगातार दोस्रो खेलमा पराजित भएको छ ।

बुधबार बिहान ९:१५ बजे हुने तय भएको खेल मैदान चिसो भएर समयमा सुरु हुन नसकेपछि ७ ओभरमा छोट्याइको थियो । छोटो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले पोखरासामु ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

४२ बलमा ५२ रनको लक्ष्य पछ्याएको पोखराले १ विकेट गुमाएर ६.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । पोखराका लागि ओपनर रित गौतम र रिचार्ड लेभीले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । लेभीले २२ बलमा ५ चौका र १ छक्कासहित ३८ रनको महत्त्वपूर्ण इनिङ खेले ।

बलिङतर्फ ललितपुरका लागि अज्मतुल्लाह ओमारजाईले १ विकेट लिए ।

पहिलो इनिङमा ब्याटिङ गरेको पोखराका कप्तान कुशल भुर्तेल ३ रन बनाएर पेभिलियन फर्किँदा विकेटकिपर ब्याट्सम्यान १९ रनमा आउट भए । यस्तै, पवन सरार्फ ५ तथा अज्मतुल्लाह ओमारजाई १ रनमा आउट हुँदा ओशादा फर्नान्डो १० रनमा अविजित रहे ।

शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरू भएको ईपीएलको चौथो संस्करणको दोस्रो दिनदेखि नै खेल प्रभावित भएका थिए । आइतबारको दोस्रो खेल नै वर्षाले प्रभावित भएपछि त्यसयता खेलहरू टस नै नभइ स्थगित हुँदै आएका छन् ।

पहिलो खेलमा काठमाडौंसँग सात विकेट पराजित भएको ललितपुरको यो दोस्रो खेल हो । पोखराको भने सोमबार बिहान तय भएको काठमाडौं किङ्ग्स-११ सँगको खेल वर्षाले सुरु नै नभइ स्थगित भएको थियो ।

केही बेरमा हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स र विराटनगर वारियर्स प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर