ओलीको प्रश्न: एउटै क्लास दोहोर्‍याउँदिन भनेको हो, तर क्लास सकिएपछि के गर्ने ? – Nepal Press

ओलीको प्रश्न: एउटै क्लास दोहोर्‍याउँदिन भनेको हो, तर क्लास सकिएपछि के गर्ने ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्षमा दोहोरिन सक्ने संकेत गरेका छन् । आफूले विगतमा ‘एउटै क्लास नदोहोर्‍याउने’ भनि दिएको अभिव्यक्तिलाई उनले चतुरतापूर्वक बचाउ गरे ।

आज सम्पादकहरुसँगको अन्तरक्रियामा एमालेमा लगाइएको उमेरहद र ओलीको फेरि अध्यक्ष बन्न सक्ने सम्भावनाबारे सोधिएको थियो । सम्पादकहरुले विगतमा दिएको अभिव्यक्ति सम्झाएपछि ओलीले जवाफ दिएका हुन् ।

उनले भने, ‘हो मैले एउटै क्लास दोहोर्‍याउँदिन भनेको थिएँ । क्लास छैञ्जेल दाहोर्‍याएर पढ्दिन भनेको हो, तर क्लास सकिएपछि के गर्ने ? महाविद्यावारिधि गरिसकेपछि पढ्न छोड्छ मान्छेले ? प्रधानसम्पादक भइसकेपछि काम गर्न छोड्छ ? अध्यक्षभन्दा मास्तिर ठाउँ भएको भए माथि जान्थेँ । छैन त के गर्ने ?’

प्रधानमन्त्री बन्दा पावर केन्द्रित गरेको भन्ने सम्पादकको आरोपमा पनि उनले घुमाउरो जवाफ दिए ।

‘पावर केन्द्रीत गरेकै हो । रक्षा मन्त्रालय मेरै मातहत, गृह मन्त्रालय मेरै मातहत, अर्थमन्त्रालय मेरै मातहत, सिंगै मन्त्रिपरिषद् र सरकार मेरो मातहत राखेरै चलाएको हो । संवैधानिक व्यवस्था त्यस्तै छ । चलाउने त्यसरी नै हो । सबै मैले नै नियुक्त गर्ने र नेतृत्व गर्ने हो भने एउटा सचिवले चलाउने ठाउँमा मैले हेरेँ र त्यहाँबाट पावर आयो भन्ने कस्तो परिभाषा हो ?’ ओलीले भने ।

आफू प्रधानमन्त्री बन्दा पत्रकारले ‘भाटे कारवाही’ गरेको उनले बताए ।

‘म प्रधानमन्त्री बन्दा पत्रकारले गरेका भाटे कारवाहीका डाम अझै पनि होलान् । कसलाई के सजाय भयो ? पत्रकार त त्यत्रो भाटे कारवाही गर्छन् मलाई भने राजनीति गर्नेले छोड्छन् होला ?’

पार्टीभित्र आलोचना गर्नेहरु नभएको र आफ्नो विरुद्ध कसैले बोल्न नसक्ने कुरा पनि गलत भएको ओलीले बताए ।

‘एमालेभित्र यत्रो क्वारल मच्चाए मान्छेहरुले । यति गालीगलौज गरे । तैपनि भन्दैछन् केपी ओलीविरुद्ध कसैले बोल्न सक्दैन । बोलेको मात्र होइन के-के गरेको छ गरेको छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर