फुटबल खेलमा दुई टिमबीच झडप, नियन्त्रणका क्रममा सहकर्मीलाई इन्सपेक्टरको छाडा गाली (भिडियो) – Nepal Press

फुटबल खेलमा दुई टिमबीच झडप, नियन्त्रणका क्रममा सहकर्मीलाई इन्सपेक्टरको छाडा गाली (भिडियो)

सुर्खेत । अखिल नेपाल फुटबल संघ एन्फा जुम्लाले आयोजना गरेको जिल्लास्तरीय फुटबल प्रतियोगितामा आज दुई टिमबीच झडप भयो । झडपलाई नियन्त्रणमा लिन खटिएको प्रहरी टोलीका कमाण्डर प्रहरी निरीक्षक नविन थापा मगरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रहरी निरीक्षक मगरले आफ्ना जवानलाई थर्काउँदै मैदानमा नै अपशब्द बोलेको देखिन्छ । उनी आफैं लाठी समातेर मैदानमा दौडिरहेको देखिएका छन् । उनले अपशब्द बोलेको भिडियो सार्वजनिक भएसँगै अरुलाई कानून सिकाउने प्रहरीकै संस्कारमाथि प्रश्न उठेको छ ।

आज दिउसो भएको खेलमा चन्दननाथ नगरपालिकाको स्थानीय टिम खोलीकोट र गुठिचौर गाउँपालिकाको गज्र्‍याङ्गकोटी टिमबीच खेल भइरहेको थियो । खेलकै क्रममा मैदानमा ढुंगामुढा भयो । स्थानीयका अनुसार मैदानमा भइरहेको ढुंगामुढालाई नियन्त्रणमा लिन प्रहरी खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले प्रहरी निरीक्षकले अरुलाई भन्दा पनि आफ्नै टिममा केही शब्दहरु बोलेको पाइएको बताए ।

‘अरुलाई त्यस्तो खासै केही बोल्नु भएको छैन । आफ्नै सहकर्मीलाई उहाँले निर्देशन दिनु भएको हो,’ उनले भने, ‘दुई पक्षले नै रेफ्रीमाथि आक्रमण गर्न खोजेपछि यस्तो अवस्था आएको थियो ।’

उनले खेलकुद आयोजना गर्ने एन्फाले संयमित बनाउनुपर्नेमा नबनाइएको र सबै जिम्मा प्रहरीलाई दिइनु ठिक नभएको गुनासो समेत गरे । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै त्यसबारेमा आवश्यक जानकारी लिन आफू तयार रहेको उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर