वाईसीएलको वडा भेलामा लिलामणि पौडेलको प्रशिक्षणः एमाले र माओवादी उस्तै होइनन् (भिडिओसहित) – Nepal Press

वाईसीएलको वडा भेलामा लिलामणि पौडेलको प्रशिक्षणः एमाले र माओवादी उस्तै होइनन् (भिडिओसहित)

काठमाडौं । पूर्वमुख्यसचिव लिलामणि पौडेल घोषित रुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छैनन् । तर, उनले माओवादीका टोले भेलामा पार्टी नेताकै हैसियतले भाषण गर्दै हिँडेको भेटिएको छ ।

हिजो मात्रै रुरुक्षेत्र गाउँपालिका–५ गुल्मीमा माओवादी केन्द्र र वाईसीएलको वडा भेलामा पौडेल सहभागी भए । उनलाई कार्यक्रमको प्रमुख अतिथि बनाइएको थियो । भेलामा सहभागी माओवादी र वाईसीएलका कार्यकर्तालाई उनले विभिन्न निर्देशन दिएका थिए ।

पौडेलले माओवादी नै देशको रुपान्तरणकारी शक्ति भएको बताए । एमाले र माओवादी उस्तै हुन् भन्ने भ्रम चिर्न उनले कार्यकर्तालाई आग्रह गरे ।

हामीलाई प्राप्त भिडियोमा पौडेलका केही अभिव्यक्ति यस्ता छन्-

‘यो व्यवस्था कसले ल्याएको हो ? यो व्यवस्थाको वकालत गर्ने को हो रु स्थापित गर्ने को हो रु समाज रुपान्तरण भनेको त त्यो हो नि । हिजो समाजमा जुन किसिमले पछाडि परेको वर्ग समुदाय थियो । जाति थियो । त्यसलाई राज्यसत्ताको मुलधारमा लैजाने अवसर दिलाउने शक्ति माओवादी केन्द्र हो । लड्यो, लडेर स्थापित गर्यो । संविधानमा, कानूनमा, राज्य प्रणालीमा, व्यवस्थामा । त्यसकारण त तपाईंहरु प्रतिनिधि भइराख्नुभएको छ ।

‘हिजो त त्यो थिएन । अधिकारका रुपमा थिएन । भलै कोही नियुक्त भएका थिए । तर त्यो अधिकार स्थापित गर्ने काम माओवादीले गर्‍याे । त्यसकारण माओवादी वामपन्थी शक्ति पनि हो, रुपान्तरणको एजेन्डा बोक्ने शक्ति पनि हो । तपाईंहरुलाई लाग्ला सबै उस्तै–उस्तै हुन् । एमाले र माओवादी भन्या उस्तै हुन् । यता गए पनि हुन्छ, उता गए पनि हुन्छ । होइन । आधारभूतरुपमा फरक छ । एजेन्डा बोक्ने विषयमा परक छ । राज्य प्रणालीको वकालत गर्ने कुरामा फरक छ ।’

‘सबैभन्दा धेरै कुप्रचार यहीँ भएको छ । हामी मरेर, लडेर, राज्यसत्तासँग पौठेजोरी खेलेर साधनस्रोतहरु ल्याएर यहाँको विकास–निर्माणमा काम गर्ने । अनि, काम गर्ने कालु मकै भालु भन्याजस्तो उनीहरु सोसल मिडियामा चोर, डाँका भनेर लेख्ने र तपाईंहरु प्रतिवाद गर्न नसक्ने । त्यसका दुई कारण छन् ।

एउटा हिजो तपाईंहरुलाई प्रशिक्षण थिएन । हामीले संगठनलाई कसरी लिएर जानुपर्छ भन्ने ज्ञान थिएन । रुपान्तरणका एजेन्डा बोक्ने को हो भन्ने जानकारी थिएन । अर्को, तपाईंहरु संगठित हुनुहुन्थेन । उनीहरु संगठित थिए, तपाईंहरु एक्लाएक्लै हुनुहुन्थ्यो । तपाईंहरुको काम के हो भने यस्तो कुरा आयो भने तुरुन्तै पार्टी कमिटी बस्ने र सत्य पत्ता लगाउने । अनि सूचनाको प्रतिवाद गर्ने ।’

उक्त भेलाले तारा रानाको अध्यक्षतामा माओवादी केन्द्रको २९ सदस्यिय वडा समिति र दुर्गा पुरीको अध्यक्षतामा वाइसीएलको २९ सदस्यीय वडा समिति गठन गरेको छ ।

पूर्वमुख्यसचिव पौडेल माओवादीसँग पहिल्यैदेखि निकट मानिए पनि खुलेर आएका थिएनन् । उनलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्यसचिव बनाएका हुन् । यस्तै प्रचण्ड नेतृत्वको सरकारका पालामा उनी चीनका राजदूत नियुक्त भएका थिए । केपी ओली नेतृत्वको एमाले सरकारले उनलाई फिर्ता बोलाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर