चार गते सरकार विस्तार हुने प्रचण्डको दावी, चुनावसम्म गठबन्धन नटुट्ने (भिडिओ) – Nepal Press

चार गते सरकार विस्तार हुने प्रचण्डको दावी, चुनावसम्म गठबन्धन नटुट्ने (भिडिओ)

संसोधनपछि मात्र एमसीसी पास गर्न सकिन्छ

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गते सरकार विस्तार हुने बताएका छन् । जनकपुरमा प्रदेश स्तरीय नेतालाई प्रशिक्षण दिएपश्चत काठमाडौं फर्किने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘प्राविधिक कारणले सरकार विस्तार हुन सकेको छैन । असोज ४ गते सरकार विस्तार हुन्छ ।’

गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको पाँच दलीय लोकतान्त्रिक गठबन्धन नटुट्ने दावी गरे । ‘गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएको थियो’, अध्यक्ष प्रचण्डले भने, ‘तर अब तपाईहरु ढुक्कसँग लेख्नुस्– गठबन्धन टुट्दैन । अगामी चुनावसँग यो गठबन्धन रहन्छ ।’

संशोधन गर्ने शर्तमा संविधानमा हस्ताक्षर गरेको भन्दै उनले भने, ‘अहिलेको संविधान संशोधन हुनुपर्छ ।’ दुईपटक संशोधनका लागि प्रस्ताव पनि संसदमा दर्ता भएपनि संशोधन नभएकोमा दुःख व्यक्त गरे ।

उनले तत्कालीन केपी ओली नेतृत्वको सरकारले एमसीसीलाई बिगारेको आरोप पनि लगाएका छन् । प्रचण्डले भने, ‘एमसीसी सम्झौता हुँदा शेरबहादुर देउवा जीकै नेतृत्वमा सरकार थियो । हामी पनि सरकारमा थियौं । त्यतिबेला भएको एमसीसी ओरिजनल सम्झौतामा संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नै थिएन ।’

प्रचण्डले केपी ओली नेतृत्वको सरकारले बिगारेर एमसीसीलाई संसदबाट अनुमोदन गर्ने प्रावधान राखेको तर्क गरे । उनले भने, ‘एक त ओली सरकारले बिगारे । दोस्रो कुरा अमेरिकाका केही मन्त्रीले एमसीसी इन्डोप्यासिफिक रणनीतिको अङ्ग हो भनेपछि झन् विवाद चर्कियो ।’

अमेरिका वा कुनै पनि मित्र राष्ट्रसंग पैसा लिएर विकास गर्नेमा कुनै विमति नरहे पनि संशोधन र परिमार्जन नगरी एमसीसी पास गर्न नसकिने बताए । उनले पैसा र विकास चाहिएकाले संशोधन र परिमार्जनपश्चात एमसीसी पास गर्नुपर्ने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर