फैसला नहुन्जेल पाण्डे र भट्ट एमालेकै सांसद, मुद्दामा गएका कारण कारवाही गर्न नमिल्ने – Nepal Press

फैसला नहुन्जेल पाण्डे र भट्ट एमालेकै सांसद, मुद्दामा गएका कारण कारवाही गर्न नमिल्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको मुद्दामा अन्तिम फैसला नभएसम्म उनीहरु नेकपा एमालकै सांसदको हैसियतमा रहने सर्वोच्च अदालतले प्रष्ट पारेको छ ।

मंगलवार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासको दिएको अन्तरिम आदेशको गलत ब्याख्या भएको भन्दै सर्वोच्च स्रोतले उनीहरुलाई नेकपा एसमा जान पाउँ भनी निवेदन दिएको आधारमा कुनै कारवाही नगर्नूमात्र भनिएको प्रष्ट पारेको छ ।

सर्वोच्चका एक उच्च अधिकारीले भने, ‘पाण्डे र भट्टले नेकपा एसमा जान पाउने र एमालेको दुई सिट घट्यो भन्ने ढंगले समाचार आएपछि श्रीमानहरु अचम्मित हुनुभयो । खासमा उनीहरुले निर्वाचन आयोगमा सनाखत गर्न पाउँ भनेको र अदालतमा मुद्दा दायर गरेको आधारमा सांसद पद जानेगरि कुनै कारवाही नहोस भनेर तत्काललाई आदेश दिएको हो ।’

भोलि फैसलामा उनीहरुले अर्को दल रोज्न दिएको निवेदन र सनाखत सही ठहरेमा यसबीचमै उनीहरुमाथि कारवाही भएर पदमुक्त गरिएको अवस्थामा उनीहरुको हक हनन् हुने भएकाले तत्काल एमालेबाट हुनसक्ने कारवाहीलाई मात्र रोकिएको सर्वोच्चले प्रष्ट पारेको छ ।

ती अधिकारीले भने–उनीहरु दुईजना एमालेकै सांसद हुन्,हिजोको आदेशले उनीहरु नेकपा एकीकृत समाजवादीका सांसद भए भन्ने जसरी प्रचार भयो त्यो होइन । तर एमालेले तत्काल उनीहरुमाथि कुनै कारवाही नगरोस् र त्यो कारवाहीका आधारमा पदमुक्त नहुन् भनिएको हो ।

सर्वोच्चले मंगलवार निवेदकहरु पाण्डे र भट्टले नेकपा एसमा आबद्ध हुने गरि भदौ ८ गते निर्वाचन आयोगमा निवेदन गरेको आधारमा उनीहरुको सो दलमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही नगर्नू, नगरानू भनी मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर