कर्णालीमा २४ प्रतिशत जनप्रतिनिधिले रोजे नेकपा एस, सबैभन्दा बढी सल्यानमा सनाखत – Nepal Press

कर्णालीमा २४ प्रतिशत जनप्रतिनिधिले रोजे नेकपा एस, सबैभन्दा बढी सल्यानमा सनाखत

सुर्खेत । कर्णाली प्रदेशमा करिब २४ प्रतिशत एमालेका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन आयोगको कार्यालयका अनुसार कर्णालीमा एमालेले करिब १५ सय जनप्रतिनिधि जितेको थियो । उनीहरु मध्ये ३ सय ५० जनाले नयाँ पार्टी रोजेका हुन् ।

एमालेले जितेकामध्ये सबैभन्दा बढी सल्यानमा समाजवादीतर्फ सनाखत भएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख मधुकरकुमार शाहका अनुसार एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाअध्यक्ष र ५७ वडा सदस्यले नयाँ पार्टीमा सनाखत गरेका छन् । सल्यानमा एमालेबाट १४२ जनाले विजय प्राप्त गरेका थिए ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार नेकपा एमालेबाट १५ जनाले नेकपा एस पार्टीका लागि सनाखत गरेका छन् । कार्यालय प्रमुख दुर्गा चालिसेका अनुसार वडा अध्यक्ष वीरेन्द्रनगरका तीन वडाअध्यक्ष र ६ सदस्य गरी नौ जना, चौकुनेका एक वडा अध्यक्ष, एक कार्यपालिका सदस्य र एक वडा सदस्य गरी तीन जना, पञ्चपुरी नगरपालिकाका एक वडाअध्यक्ष, एक वडा सदस्य गरी दुई जना र भेरी गंगा नगरपालिकाका एक वडा सदस्य गरी पन्ध्र जनाले नेकपा एस पार्टी रोजेका छन् । एमालेबाट सुर्खेतमा २१८ जना निर्वाचित भएका थिए ।

जिल्ला निर्वाचन आयोग दैलेखका अनुसार स्थानीय तहमा एमालेबाट ३१५ जना निर्वाचित भएका थिए । तीमध्ये नेकपा एस रोज्नेहरुको संख्या ६२ रहेको आयोगले जनाएको छ ।

रुकुम पश्चिमबाट एमालेका दुई वडाअध्यक्ष र नौ वडा सदस्यमध्ये एक वडाअध्यक्ष र दुई सदस्यले मात्रै सनाखत गरेको निर्वाचन आयोगको रुकुम पश्चिम कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय डोल्पाका अनुसार नगरप्रमुख एक जना, वडाअध्यक्ष ८ जना, वडा सदस्य १० जना, जिल्ला समन्वय समिती चार जना, महिला सदस्य आठ जना, दलित महिला सदस्य ६ जना, कार्यपालिका सदस्य ५ जना गरी ४२ जनाले सनाखत गरेका छन् । एमालेबाट निर्वाचनमा २ सय ४४ जना विजेता बनेका थिए ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार एमालेका ९५ जना जनप्रतिनिधिहरु विजेता बनेका थिए । तीमध्ये एक उपाध्यक्ष, ११ वडाअध्यक्ष र ३२ जना वडा सदस्यले सनाखत गरेर नेकपा एस रोजेका छन् ।

जिल्ला निर्वाचन कार्यालय मुगुका अनुसार नेकपा एमालेले १२५ जनप्रतिनिधी जितेको थियो । त्यसमध्ये २८ जनाले सनाखत गरेर नेकपा एस रोजेका छन् । त्यसमा उपाध्यक्ष एक जना, वडाअध्यक्ष ६ जना, वडा सदस्य ७ जना, महिला वडा सदस्य ४ जना, दलित महिला सदस्य ६, कार्यपालिका सदस्य तीन र जिल्ला समन्वय समिति सदस्य एक जना रहेको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन आयोग हुम्लाका अनुसार नेकपा एमालेका पाँच जनाले मात्रै सनाखत गरेका छन् । एक जना जिल्ला समन्वय सदस्य र चार वडा सदस्यले सनाखत गरेका हुन । एमालेबाट स्थानीय तहको निर्वाचनमा जम्मा कति जितेको हो भन्ने विवरण आयोग कार्यालयले उपलब्ध गराउन सकेन । एमाले अध्यक्ष दलबहादुर रावलले जिल्लाभरि कम्तिमा सत्तरी भन्दा बढी जनप्रतिनिधिले विजय प्राप्त गरेको बताए ।

जिल्ला निर्वाचन कार्यालय कालिकोटका अनुसार नेकपा एमालेबाट ६५ जनाले सनाखत गरेका छन् । एमालेबाट उम्मेदवार बनेर स्थानीय तहको निर्वाचनमा एक सय ४४ जनाले विजय प्राप्त गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालय जाजरकोटमा नेकपा एमालेबाट नेकपा एसमा छेडागाड नगरपालिका र कुसे गाउँपालिकाबाट वडाअध्यक्षसहित १० जनाले सनाखत गरेका छन् । जाजरकोटमा एमालेबाट निर्वाचित जनप्रतिनिधिको संख्या एक सय पचास रहेको कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख चालिसेले आयोगले नाम र पद गोप्य राख्नु भनेका कारण सार्वजनिक नगरेको बताए । उनले केही दिनमा नै सबै जिल्लाको विवरण आउने र आयोगको कार्यालयले नै नामावली सार्वजनिक गर्ने जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर