४२ जना नेपाली काबुलमा उद्दारको पर्खाइमा, परराष्ट्रले भन्यो : ६ दिनभित्र जसरी पनि झिकाउन पहल हुँदैछ – Nepal Press

४२ जना नेपाली काबुलमा उद्दारको पर्खाइमा, परराष्ट्रले भन्यो : ६ दिनभित्र जसरी पनि झिकाउन पहल हुँदैछ

पेन्टागनको ब्रिफिङ : आजसम्म ८२ हजारलाई उद्दार, थप १० हजार पर्खाइमा

काबुल । परराष्ट्र मन्त्रालयले अफगानिस्तानको राजधानी काबुलमा ४२ जना नेपाली उद्दारको पर्खाइमा रहेको जनाएको छ । बुधबार बेलुका विज्ञप्ति जारी गर्दै मन्त्रालयले ती नेपालीलाई स्वदेश फर्काउने तयारी भएको र काठमाडौंसम्म ल्याउनको लागि सहजीकरण भएको जनाएको छ ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्धरूपमा उद्धारको पर्खाइमा नेपाली नागरिक रहेको र उनीहरुलाई विभिन्न विकल्पबाट झिकाउने तयारी भएको परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताइन् । अहिले नेपाल वायुसेवा निगमको जहाजको आगमन र अवतरणको तालिका हालसम्म खुलिनसकेकोले उद्दारमा ढिलाइ भएको जनाइएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनका निरन्तर समन्वय भइरहेको मन्त्रालयले आज साँझ विज्ञप्ति निकालेर जनाएको हो । मन्त्रालयले अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा आफ्नो नामसहितको विवरण दर्ता गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ ।

अमेरिका लगायतका विदेशी मुलुकका नागरिकले काबुल छाड्ने समयसीमा ३१ अगस्टसम्म कायमै छ । तालिबानले पनि सो समयसीमा मुलुक छाड्न भनिसकेकाले अहिले काबुलबाट आफ्ना नागरिकलाई उद्दार गर्न ठूला मुलुकहरु लागिपरेका छन् ।

तालिबानले अफगानिस्ताको सत्ता नियन्त्रणमा लिएपछि अहिलेसम्म ८२ हजार ३०० जनालाई उद्दार गरिएको छ भने ३१ अगस्टको सयमसीमासम्म थप उद्दार हुने अमेरिकाले जनाएको छ । अझै १० हजार भन्दा बढी मानिसहरु उद्दारको पर्खाइमा रहेको पेन्टागनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर