के राजनीति ‘ज्यूँदै मर्‍याकाहरू’ ले मात्रै रजगज गर्ने थलो हो ? – Nepal Press
नेपाल चिन्तन

के राजनीति ‘ज्यूँदै मर्‍याकाहरू’ ले मात्रै रजगज गर्ने थलो हो ?

नेताले उद्योग व्यवसायमा लगानी गर्न हुने, व्यवसायीले राजनीति गर्न नहुने ?

जबजब पत्रकार महासंघको निर्वाचन आउँछ, सामाजिक सञ्जालमा बहस चल्छ । पत्रकार भएर पनि राजनीति गर्ने ?

उद्योग वाणिज्य महासंघको चुनावका बेला तिनै पत्रकार उद्योगी व्यवसायीलाई सोध्छन् – व्यवसायी भएर पनि राजनीति गर्ने ?

नेपाल बार एसोसियसनको चुनावताका देशभरका कानून व्यवसायी चुनावी दौडधुपमा हुन्छन् । त्यति नै बेला प्रश्न उठ्छ – कालाकोटेले पनि राजनीति गर्ने ?

चिकित्सको संघको चुनावका बेला यस्तै प्रश्न दोहोरिन्छ- एप्रोन लाएर राजनीति गर्ने ?

पत्रकार, व्यापारी, वकिल, डाक्टर वा जुनसुकै पेशाका मान्छेलाई पनि राजनीतिसँगको आवद्धतालाई लिएर यस्ता प्रश्न सोधिएकै हुन्छ । यस्तो प्रश्न गर्नेहरु को हुन् ? कहाँबाट आउँछन् उनीहरू ? उनीहरु के चाहन्छन् ?

यही समाजका विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरूले नगरेर राजनीति गर्ने प्राणी कुन लोकबाट झर्नुपर्छ भन्ठान्छन् उनीहरू ?

०००

आज विश्वभर प्रजातन्त्र र समृद्धिको अग्रणी मानिने संयुक्त राज्य अमेरिका स्थापनाको बेला आलोचकहरूको चेतावनी थियो-यस्तो संविधानबाट व्यापारीहरूको सरकार बन्नेछ । उनीहरूलाई आम मानिसप्रति जन्मजात नै कुनै सहानुभूति हुँदैन, बरु उदासीनता र अवहेलना हुनेछ ।

यस्तो चेतावनीबारे अमेरिकाका संस्थापकमध्येका मानिने अलेक्जेण्डर हेमिल्टनले सरल उत्तर दिए । उनले भने- हो अमेरिकामा ‘व्हाईट कलर’ हरूको सरकार बन्न सक्छ तर यसले आर्थिक नीति र समृद्धिबारे अमेरिकी जनताको आधारभूत मान्यतालाई असर गर्न सक्दैन । यदि हामी सबै विकास र समृद्धि चाहन्छौ भने केही उच्च वर्गका मान्छेलाई निर्णायक स्थानमा पुर्‍याउँदा के नै हानी हुन्छ र ?

२ सय ३२ वर्षअघि नै अमेरिकामा अलेक्जेण्डर हेमिल्टनले दिइसकेको उत्तरको प्रश्न बोकेर आज नेपाली समाज हिँडिरहेको छ । आजको अमेरिका आलोचकहरूको प्रश्नको भन्दा हेमिल्टनको जवाफको परिणाम हो, कि आज पनि अमेरिका संसारको सफल एवं समृद्ध लोकतान्त्रिक मुलुक हो ।

०००

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिए । कोरोनाको कहरबाट देश र जनतालाई जोगाउँदै देउवाको ‘खोप, खोप र खोप’अभियानलाई सफल बनाउन उनले निर्धारण गरेको प्राथमिकतामाथि प्रश्न उठाउन सकिन्छ ।

यद्यपि यहाँ त पात्रमाथि प्रश्न उठाएर तेजोबोध गरिँदैछ, जस्तो कि उमेश श्रेष्ठ कुनै व्यापार गर्दागर्दै फ्याट्टै मन्त्री बनाइएका हुन् । राज्यमन्त्री श्रेष्ठसँग पंक्तिकारको हालसम्म एकपटक भेट भएको छ र सामान्य परिचयमात्रै भएको छ । यसर्थ राज्यमन्त्रीको ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सँग पंक्तिकारको पनि कुनै ‘स्वार्थको द्वन्द्व’ छैन ।

श्रेष्ठको नियुक्तिको अन्तर्य प्रधानमन्त्री देउवालाई नै बढी थाहा होला । संसदीय शासन व्यवस्थाका कार्यकारी प्रधानमन्त्रीका रूपमा संविधानबमोजिम नै उनले आफ्नो ‘सारथी’ छानेका हुन् । जहाँसम्म सामाजिक सञ्जाल र सडकमा व्यापारीलाई मन्त्री बनाएको भनेर गरिएका आलोचना छन् ती सुझावका रुपमा ग्राह्य छन्, दबाबका रूपमा होइन ।

०००

नेपाली कांग्रेस एक प्रजातान्त्रिक समाजवादी पार्टी हो । कांग्रेससंग जोडिएको समाजवादी पहिचानको निर्माण २०१२ सालमा सम्पन्न वीरगञ्ज महाधिवेशनले गरेको थियो । सो महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका सुवर्ण शमशेरको तस्बिर आज पनि वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँगै जोडिएको हुन्छ । जसप्रति आम कांग्रेसजनको आस्था छ ।

आफ्नो सम्पत्ति राष्ट्रियकरण गरेर समाजवादी नीतिलाई मलजल गर्ने सुवर्णशमशेरको पहिचान एक ‘दाता’ का रूपमा पनि रहेको छ । जसले वीपी कोइरालाको नेतृत्वमा भएको क्रान्तिलाई ‘आर्थिक सहयोग’ मात्रै गरेनन्, शासनमा छँदा जनपक्षीय बजेट ल्याएर आजसम्म स्मरणीय छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकै नेतृत्वमा कुनैबेला कांग्रेसले प्रजातन्त्रका निम्ति क्रान्ति गरेको थियो । उनै मातृकाको भनाइ छ- वीपी र सुवर्णजीलाई इतिहासले अभिन्न व्यक्तित्वका रूपमा हेरेको छ । उनीहरूबीचको समझदारी, समन्वय र सामञ्जस्यता अद्भूत थियो । यो पनि सही हो कि म त क्रान्तिको डिक्टेटर मात्रै थिए तर धन परिचालनमा सुवर्णजी र जनपरिचालनमा वीपी नै निर्णायक थिए । धनमात्र भनिदियो भने अर्थ विकृत हुनसक्छ, सुवर्णजीमा दानशीलताको प्रचुरता थियो ।

राजनीतिक दलका लागि परिचालन महत्वपूर्ण पाटो हो । यसका लागि आर्थिक पक्ष बलियो हुन जरुरी छ । राजनीतिक आन्दोलन र क्रान्ति ‘रित्तो पोल्टा’बाट सम्भव हुँदैन । त्यसका लागि योजनाबद्ध कार्यक्रमहरू कार्यान्वयन हुनुपर्छ । जसका लागि विचार र व्यक्तिमात्रै होइन व्यवस्थापन पनि जरुरी हुन्छ । व्यवस्थापनको त्यो पाटो पैसाबिना सम्भव छैन । आफ्नै आत्मकथामा वीपीको भनाइ छ- क्रान्तिकारीले क्रान्ति गर्ने हो भने सबैको सहयोग लिनुपर्छ । कसैसँग पैसा लिए पनि हुन्छ, त्यसमा कुनै सर्त हुनुभएन ।

जब पार्टी र क्रान्ति हाँक्न शुभेच्छुकको सहयोग लिने कुरा वीपीका लागि सामान्य थियो भने अहिले झन् त्यसको आवश्यकता नहुने कुरै भएन । नेपालका हरेक राजनीतिक दल समाजका हरेक पेशा र वर्गमा आफ्नो प्रभाव बढाउन चाहन्छन् । स्वभाविक हो हरेक क्षेत्रका व्यक्तिहरु राजनीतिक र वैचारिक निकटताका कारण आफूले विश्वास गरेको पार्टीलाई ‘सकेको योगदान’ गर्न तत्पर रहन्छन् । यो अन्यथा होइन । यसको पारदर्शीतामाथि बहस हुनसक्छ तर औचित्यमाथि होइन ।

०००

भोजपुरबाट झरेका उमेश श्रेष्ठ नेपाली नीजि क्षेत्रका सफल उद्यमी हुन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा उनले सिर्जना गरेको रोजगारी प्रशंसनीय छ । सफल उद्यमी बन्ने कुरा त्यति चानचुने होइन । उद्यमशीलतामा पाएको सफलता अन्यत्र खोज्नु अन्यथा होइन । जसरी आमरूपमा ‘आफ्नै खुट्टामा उभिएको स्वाभिमानी नेता’ हामी खोज्छौँ, त्यो को हो ?

पार्टीका स-साना कार्यक्रम देखि ठूला आन्दोलनका लागि समेत व्यापारीकहाँ चन्दा माग्न पुग्ने नै ‘स्वाभिमानी नेता’ हो र ? अथवा ‘राजनीतिलाई नै पेशा’ बनाएर देखिने इलमबिना हैसियत वृद्धि गरिरहेकाहरू ‘स्वाभिमानी नेता’ हुन् ?

राजनीति गर्नेसँग उद्यमशीलता भएन भने उसको ‘स्वाभिमान’ चन्दाको चेक बुझेकै दिन गर्ल्याम्म ढल्छ । त्यसैले हरेक राजनीतिज्ञको देखिने पेशा वा व्यवसाय जरुरी हुन्छ । जसबारे आम नागरिकले थाहा पाउने मात्रै होइन प्रश्न गर्नेसम्म स्थिति रहोस् ।

आज चप्पल पड्काउँदै सिंहदरबार छिरेका नेता ‘करोडौंको गाडीमा’ सवार हुँदा प्रश्न उठ्दैन तर सयौंलाई ‘करोडौंको गाडी’ चढ्ने हैसियतमा पुर्‍याएका उद्यमीले राजनीतिमा अपमानित हुनुपरेको छ । आफ्नै बुतामा सफल कहिलएका उद्यमीलाई राजनीतिबाटै किनारा लगाउने अभियानको अगुवाइ कसले गर्दैछ ? उनीहरु के चाहन्छन् ? आदिकवि भानुभक्तको एउटा कविता छ- ‘ज्यूँदै मर्‍याको भनी नाम कस्को, उद्यमबिना वित्दछ काल जसको । के नेपालको राजनीति ‘जिउँदै मरेका’ हरूको रजगजको केन्द्र बन्नुपर्ने हो ?’

०००

योग्य व्यक्ति ठाउँमा पुगेन भन्ने गुनासो नेपालमा भइरहन्छ । विज्ञताका आधारमा अवसर दिइनुपर्छ भन्ने आवाज पनि उठ्छ । राजनीतिबाट प्रभावित नहुने कुनै क्षेत्र छैन । उद्यम, व्यापार वा सेवाको क्षेत्रमा लामो समयको अनुभव भएका व्यक्तिहरू राजनीतिमा लाग्नु लोकतन्त्रको हितमा हुन्छ ।

प्रजातन्त्रकै लागि लडाइँ गर्नुपर्ने, जेलनेल र निवार्सनबाट मात्रै राजनीतिक व्यक्तित्व निर्माण हुने र संघर्षको ब्याजबाटै आजीवन अवसर असुल्ने युगबाट नेपाल उम्कनैपर्छ । राजनीति कुनै पेशा होइन ।

राजनीतिलाई पेशासरह मान्नेहरूको भीडबाट अब मुलुकले सही नेतृत्व पाउन पनि सक्दैन । किनकी आजको नेपाललाई सक्षम नेता चाहिएको छ, सिर्फ नेता मात्रै होइन । त्यो सक्षमताको पहिचान हरेक नेताले आफ्नो क्षेत्रमा प्रमाणित गरेको हुनुपर्छ । राजनीतिलाई हरेक पेशा र क्षेत्रका अब्बलहरूको ‘अड्डा’ बनाइनुपर्छ न की इलमबिनाका गफाडीहरूको ‘अखडा’ ।

नेपाल हरेक व्यापारीहरू कुनै न कुनै दलसँग निकट छन् । व्यापारीमात्रै किन समाजको हरेक पेशा र वर्ग राजनीतिक रूपमा विभाजित छ । बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्था भएको हाम्रो जस्तो मुलुकमा ‘दलीय झुकाव’ हुनु अन्यथा होइन, बरु त्यस्तो झुकावको अभाव हुनु चै समस्या हो ।

यद्यपि कोही आफूलाई ‘स्वतन्त्र’ भन्न रुचाउँछ भने उसको स्थानपनि यही सुन्दर व्यवस्थाभित्र छ । राजनीतिमा लागेकाहरुले उद्यमका कुरा गर्न छाडेका छैनन् । कहलिएका युवादेखि पाका नेतासम्मले होटल, पर्यटन, कृषि, उद्योग, निर्माण व्यवसायदेखि रियल स्टेट र खुद्रा व्यापारसम्म हात हालेका प्रशस्त उदाहरण छ । जब राजनीतिज्ञ कहलिएको व्यक्तिले व्यापार गर्न हुन्छ भने व्यापारी कहलिएको व्यक्तिले राजनीति गर्न किन नहुने ? के व्यक्तिको एउटै आयाम हुन्छ र ?

नेपालमा आफ्नो स्वार्थको घडा भर्न मन्त्री बनिरहनु पर्दैन । राजनीतिको कुनै पदमा आसीन नभएका गुमनामहरू पनि चर्चित भ्रष्टाचार मुद्दामा जोडिएका धेरै उदाहरण छन् । व्यापारीले आफ्नो मात्रै स्वार्थ पूरा गर्न चाहने हो भने हाम्रो राजनीति र प्रशासन क्षेत्रका धेरै ‘लुप होल’ हरू उपयोगी हुन्छन् ।

बदमासी गर्न बन्द कोठा काफी छ । कसैले खुल्ला मैदानमा खेल्न खोजेको छ भने विषय प्रष्ट छ की ऊ ‘फेयर प्ले’ का लागि तयार छ । आज मैदानमा उमेश श्रेष्ठहरूले गरेको ‘फउल’ मा सिट्टी बजाउन ‘नेपाली जनता’ तयार हुनुपर्छ । मैदानमै नछिर्दै ‘रातो कार्ड’ देखाउने प्रयत्नले राजनीतिलाई होइन मुलुकलाई नै घाटा हुनसक्छ ।

राजनीतिमा लागेका उद्यमी व्यवसायीको सार्वजनिक रूपमा तेजोबध गर्ने काम निन्दनीय छ । राजनीतिमा ‘संघर्षबाट खारिएका’लाई मात्रै नेता देख्ने दृष्टि सच्याउन जरुरी छ, अब ‘सफलताबाट खारिएका’ हरूलाई पनि बाटो छोडिनुपर्छ । अमेरिकी राजनीतिशास्त्री निकोलास कान्सको बुझाइमा अमेरिकाका करोडपतिहरू मात्रै मिलेर पार्टी खोले भने मुलुकको ३ प्रतिशत हिस्सामा उनीहरुको संगठन पुग्नेछ । यद्यपि संसदमा बहुमतसहित ह्वाइटहाउसमा उनीहरुकै नेतृत्व स्थापित हुनेछ । यदि श्रमजीवी, मजदुर र मध्यमवर्गका मान्छेहरु एउटै पार्टीमा भए भने अमेरिकाको आधा हिस्सा उनीहरूसँग संगठित हुनेछ तर सदनमा उनीहरूको प्रतिनिधित्व २ वा ३ प्रतिशत मात्रै हुनेछ । यसको अर्थ मतदाताको मनोविज्ञानसँग मात्रै जोडिएको छैन, अमेरिकाका करोडपतिहरूको ‘ब्रेन’ संग पनि सम्बन्धित छ । विभिन्न क्षेत्रमा सफल कहलिएकाहरूको ‘ब्रेन’ नेपालको राजनीतिलाई कसरी अनुपयुक्त होला ?

कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरी नै राजनीतिमा पुँजीपति वर्गको भूमिकालाई अवमूल्यन गर्न नहुने बताउँछन् । केही समयअघि गिरीले पंक्तिकारसँग भनेका थिए- उद्यम गर्ने , व्यवसाय गर्ने र देशको कानून अनुसार काम गरेर आर्जन गर्नेहरू देशलाई आवश्यक पर्दछन् । समय, काल र परिस्थिति अनुसार लोककल्याणकारी राज्य निर्माणमा समाजका सबै क्षेत्रका व्यक्तिहरुको सहयोग लिनुपर्छ ।

विदेशी सामान आयात गर्ने र बेचेर पैसा मात्रै आर्जन गर्ने व्यापारीलाई कम्युनिष्टहरू दलाल पुँजीपति भन्छन् । कांग्रेसको भाषामा तिनीहरु भुइँफुट्टा हुन् । त्यस्ता भुइँफुट्टा वर्ग होइन की उत्पादन र रोजगार दिनसक्ने जोकोहीलाई कांग्रेसले भूमिका दिनुपर्छ । त्यस्तो भूमिका कांग्रेसको विधान र कार्यकर्ताको मतबाट अनुमोदित हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.