मध्य तराईका कुख्यात डाँका पासवान पक्राउ – Nepal Press

मध्य तराईका कुख्यात डाँका पासवान पक्राउ

जनकपुरधाम । पछिल्ला केहि वर्षदेखि मध्य तराईमा भएका डकैतीका घटनामा संग्लग्न रहेको पाइएका कुख्यात डाँका चन्दन पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

विदेह नगरपालिका ४, धनुषाका ४० वर्षीय पासवान सिरहाको लहान नगरपालिका–७ स्थित सुनचाँदी व्यावसायी राजेश शारडाको घरमा भएको डकैती घटनामा पनि संग्लग्नता देखिएको प्रहरीले जनाएको छ । त्यसपछि उनी सर्वाधिक खोजीको सूचीमा थिए । घरमा आएको विशेष सूचना पाएका प्रदेश प्रहरीले मंगलवार साँझ उनलाई पक्राउ गरेको हो ।

०७७ चैत ३० मा शारडाको घरमा हतियारधारी डाँकाको समूह प्रवेश गरी उनका बुवा भगिरथ र परिवारका सदस्यको कञ्चटमा पेस्तोल तेर्साएर सुनचाँदी लुटपाट गरेको घटनामा पासवानको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लहान पठाइएको छ ।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रका अनुसार रुपन्देहीको तत्कालीन चिल्हिया गाबिस ६ का फतेसिंह राणा र उत्तमकुमार क्षेष्ठको घरमा भएको डकैती घटनामा पनि पासवानको संग्लग्नता रहेको थियो । त्यहाँका प्रहरीले पनि उनीमाथि डाँका मुद्दा दर्ता गरेको छ ।

यस्तै डकैतीका घटनामा संलग्न पासवानमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पनि मुद्दा दर्ता छ । पासवानमाथि अन्य ठाउँमा पनि मुद्दा रहेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर