अदालतका प्रधानमन्त्री देउवा नियुक्त नहुँदै अल्पमतमा परिसक्नुभो – Nepal Press
नेपाल चिन्तन

अदालतका प्रधानमन्त्री देउवा नियुक्त नहुँदै अल्पमतमा परिसक्नुभो

भदौ १२ को जस्तो असार २८ को राजनीतिक फैसलाले धेरै बेथितिहरू निम्ताउनेछ

सर्वोच्च अदालतको फैसला हाम्रो संविधानका अभ्यास, संसदीय प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ भन्ने कुरा हामीले तत्कालै आफ्नो प्रतिक्रियामार्फत प्रष्ट पारेका छौं । वास्तवमा यो फैसला नभएर राजनीति हो । यसका दुष्परिणाहरूले भविष्यमा पुष्टि गर्ने नै छन् ।

हाम्रो संविधानको एउटा बनावट छ, त्यसमा हाम्रो प्रणालीका सन्दर्भमा प्रष्टसँग उल्लेख गरेको छ । संविधानले संसदीय प्रणाली भन्दै आवधिक निर्वाचनको कुरा गरेको छ । आवधिक निर्वाचनमा जनताले निर्णय गर्छ । जनताले सबै कुराको छिनोफानो पनि गरिदिन्छ । त्यसैले नै संविधानमा जनतामा जाने व्यवस्था गरिएको हो ।

सर्वोच्च अदालतको फैसलाले अब सरकार बनाउने वा प्रधानमन्त्री चयन गर्ने अधिकार जनता,संसद र त्यसका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने नभई सीधै अदालतले भन्ने अवस्था आयो । अब नेपालमा दलीय प्रणाली छैन, कुनै निर्वाचित जनप्रतिनिधि दलको अधीनस्थ हुँदैनन् भन्ने व्याख्या गरिदियो ।

फैसलाको अन्तर्य नै केपी ओलीलाई प्रधानमन्त्रीबाट जसरी पनि हटाउने र शेरबहादुर देउवालाई नियुक्त गर्ने खालको देखियो । अदालतले फेरि संसद पुनःसस्थापना भयो, जसले बहुमत प्राप्त गर्न सक्छ सरकार बनाऊ भनेको भए एउटा कुरा हुन्थ्यो । धारा ७६ (५) को सरकार बनाउनलाई प्रक्रिया आरम्भ गर भनेको भए केही हदसम्म मान्न सकिन्थ्यो ।

फैसलाप्रति मलाई धेरै केही भन्नु छैन तर बेथितिहरूको बिजारोपण हुनेछ । हाम्रो प्रणालीमाथि प्रहार भएको छ ।

त्यो भदौ १२, यो असार २८ अनि माधव नेपाल

यहाँ हामीले स्मरण गर्नुपर्छ कि, २०५२ साल भदौ १२ को फैसलाबारे एमालेले गरेको विश्लेषण सही साबित भयो कि भएन ? त्यसबेला हाम्रो पार्टीको शक्तिसाली महासचिव कमरेड माधव नेपाल भएको बेला सर्वोच्चले संविधान, कानूनको आधारमा नभएर राजनीतिक फैसला गरेको भन्यौं । यो पार्टीको निर्णय थियो र त्यो फैसला मानेर अघि बढ्यौं ।

भदौ १२ को त्यो राजनीतिक फैसलाले प्रधानमन्त्री र प्रणालीमाथि नै कुठाराघात भयो । यदि सर्वोच्चले राजनीतिक फैसला नगरी निर्वाचन भएको भए एमाले बहुमतमा आउने थियो । देश अर्कै ढंगले अघि बढ्ने थियो । तर, हामीलाई जनतामा जानबाट रोकियो । जनताले छिनोफानो गर्न पाएनन । त्यसपछि हामीले भोगेकै हो,प्रधानमन्त्री प्रणाली कमजोर भयो ।

सर्वोच्चको त्यो भदौ १२ को फैसलापछि नेपालको संसदीय प्रणाली कति विकृत भयो ? कस्ता कस्ता खरिदबिक्री र सुरा सुन्दरी प्रकरणहरू भित्रिए । पजेरो काण्ड भित्रियो । तर, जे भए पनि सर्वोच्च अदालतको एउटा राजनीतिक फैसलाले देशको प्रणालीलाई नै विकृत बनाउन सघायो र व्यवस्था नै कमजोर भयो । कतिपयले त माओवादी जनयुद्ध पनि त्यसैको परिणाम भन्ने गरेका थिए ।

असार २८ ले खोलिदिएको बेथितिको बाटो

अहिले आएर सर्वोच्चले फेरि थुप्रे बेथितिहरूलाई उजागर र स्थापित गर्ने ढंगले फैसला दिएको छ । सर्वोच्च अदालतले यस्तो फैसला गर्न पाउँदैन भनौं भने फैसला गर्न उसलाई अधिकार छ । तर, उसले यस्तो कुराहरुमा हस्तक्षेप गर्न खोज्यो कि अब राजनीतिमा बेथितिको स्थिति आउने भयो ।

सर्वोच्चले राष्ट्रपतिलाई प्राप्त अधिकारमाथि अंकुश लगायो । संसदले सरकार बनाउन सक्ने पनि स्थिति रहेन । संसदले सरकार दिनै सकेको थिएन । जनतामा जाने एउटा बाटो थियो, त्यो बाटो पनि विभिन्न नाममा सर्वोच्चले हस्तक्षेप गरेर बन्द गरिदियो । परिणाम के भयो भने सरकार संसदले जन्माएन । राष्ट्रपतिले अपवादको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्न सक्थ्यो तर राष्ट्रपति र जनताले गर्न पाएन ।

केही समय अगाडि स्वयं शेरबहादुर देउवाले हामीलाई सरकारमा जाने जनादेश छैन भन्नुभएको थियो । वास्तवमा त्यो यथार्थ थियो । जनताले शेरबहादुरजीलाई विपक्षीमा बस्नू भनेको थियो । तर, सर्वोच्च अदालतले जबर्जस्ती प्रधानमन्त्री बनाइदियो । यो फैसला त उहाँलाई जसरी पनि प्रधानमन्त्री नियुक्त गर्नका लागि आयो ।

नेकपा विभाजन भएर आज हामी दुईतिर हुँदा पनि नेकपा एमाले भन्दा कांग्रेसको आकार आधा सानो हो । आज अदालतले उहाँलाई जबर्जस्ती प्रधानमन्त्री बनाइदिँदै गर्दा पनि उहाँसँग बहुमत छैन । देउवाजी जनताले बनाएको प्रधानमन्त्री त होइन । गलत ढंगले, गलत फैसलाको आधारमा सर्वोच्चले नियुक्त गर्‍यो ।

बहुमत प्राप्त गर्ने दलको नेता केपी शर्मा ओली जोसँग १२१ जना एमाले र जसपाका २० जना सांसद छन् । तर, त्यसलाई त्यसलाई अदालतले जबर्जस्ती बाटो छेक्ने फैसला गर्‍यो ।

अहिलेको प्रधानमन्त्री (देउवा) भनेको सर्वोच्चबाट नियुक्त भएका हुन् । अब जनता र संसदबाट नआएको प्रधानमन्त्रीले अहिलेका समस्याको समाधान गर्न सक्छन् ? हिजो एउटा विघटनबाट पुनःस्थापित भएर आउँदा त्यत्रो बहुमात प्राप्त सरकारले त समास्या समाधान गर्न सकेको थिएन भने बहुमत नै नभएको प्रधानमन्त्रीले के गर्न सक्नुहोला ?

देउवा जनताका होइन अदालतका प्रधानमन्त्री

शेरबहादुर देउवाजी, जसलाई अदालतले नियुक्त गर्‍यो । जसलाई सरकार चलाउने जनादेश छैन, त्यसले यी सबै समस्या समाधान गर्न सक्ला ? यो गम्भीर प्रश्न हो र यस्ता धेरै बेथितीहरू त समयक्रममा आउनेछन्, यो फैसलाले त्यो बाटोमा लगेको छ हामीलाई ।

फैसलाको अन्तर्य नै केपी ओलीलाई प्रधानमन्त्रीबाट जसरी पनि हटाउने र शेरबहादुर देउवालाई नियुक्त गर्ने खालको देखियो । अदालतले फेरि संसद पुनःसस्थापना भयो, जसले बहुमत प्राप्त गर्न सक्छ सरकार बनाऊ भनेको भए एउटा कुरा हुन्थ्यो । धारा ७६ (५) को सरकार बनाउनलाई प्रक्रिया आरम्भ गर भनेको भए केही हदसम्म मान्न सकिन्थ्यो ।

तर, शेरबहादुरलाई सजिलो बनाइदिन केपी ओलीले दावी गर्न पाउँदैनन् भन्यो । त्यसको मतलब अदालतले सबै कुरालाई मिचेर शेरबहादुरलाई प्रम बनाउन खोजेको देखियो । अदालतले नियुक्त गरेका प्रधानमन्त्रीले अब कसरी पार लगाउनुहुन्छ हामी हेर्छौं ।

शेरबहादुरजी ६१ जना सांसदको नेता हुन् । उहाँलाई माओवादीको ४९ र उपेन्द्र यादवजीको १२ जनाको समर्थन छ । एमाले संसदीय दल अहिले पनि १२१ कै छ र माधव नेपालले अब म विपक्षी गठबन्धनमा छैन भन्नुभएको छ । यो हिसाबले त उहाँले २३ भोट पनि पाउनु हुन्न । उहाँ त अहिले नै अल्पमतमा परिसक्नुभयो ।

बहुमत प्राप्त गर्ने दलको नेता केपी शर्मा ओली जोसँग १२१ जना एमाले र जसपाका २० जना सांसद छन् । तर, त्यसलाई त्यसलाई अदालतले जबर्जस्ती बाटो छेक्ने फैसला गर्‍यो ।

नियुक्त नहुँदै अल्पमतमा रहेको र जसलाई जनादेश समेत छैन उसलाई जबर्जस्ती अदालतले प्रधानमन्त्री घोषित गरिदिएको छ । नेपाली राजनीतिमा यसका धेरै दुष्परिणामहरू भोग्नुपर्ने छ । अहिले हामीलाई हेरेर ठीकै हो भन्ने साथीहरूले पछुताउने दिन टाढा छैनन् ।

(संविधानसभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानीमा आधारित)


प्रतिक्रिया

One thought on “अदालतका प्रधानमन्त्री देउवा नियुक्त नहुँदै अल्पमतमा परिसक्नुभो

  1. 146 jana chai ko ho ni?? Supreme Court ma gaera gawai dine?? Jobro chapayera k bolnu ho satta ka lagi??

Leave a Reply

Your email address will not be published. Required fields are marked *