‘ट्रबलसुटर’ सिटौलाको कति छ शक्ति, बन्लान् त सभापति ? – Nepal Press
कांग्रेस नेतृत्वका चर्चित प्रत्याशी- २

‘ट्रबलसुटर’ सिटौलाको कति छ शक्ति, बन्लान् त सभापति ?

काठमाडौं । २०७२ साल फागुन १९ गते, काठमाडौंको बत्तीसपुतलीबाट नेपाली कांग्रेसको राजनीतिमा नयाँ धारको उदय भयो । लामो समयदेखि दुई धारको संघर्षबाट गुज्रिएको कांग्रेसभित्र तेस्रो धारको उद्घोष गरेका थिए, कृष्णप्रसाद सिटौलाले ।

१३ औं महाधिवेनको परिणाम आफ्नो पक्षमा पार्न त सिटौला सफल भएनन् तर उनको कदमले कांग्रेसको विद्यमान समीकरण भत्कियो । दोस्रो चरणको निर्वाचनमा सिटौलाको साथ पाएपछि सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए । त्यसयता कांग्रेसको मूल राजनीतिमा सिटौला नेतृत्वको तेस्रो धार सधै निर्णायक रह्यो । १४ औं महाधिवेशनको संघारमा पार्टीभित्रको ‘निर्णायक छवि’ जोगाउन सिटौला प्रयासरत छन् ।

ट्रबलसुटर सिटौला

कांग्रेसवृत्तमा सिटौलालाई ‘संकटका नेता’ मानिन्छ । पार्टीको आन्तरिक संकटमात्रै होइन राष्ट्रिय राजनीतिका कतिपय जटिल संकटको पनि हल सिटौलाले खोजेका छन् । सिटौला उनै व्यक्ति थिए जसले तत्कालीन गृहमन्त्रीको हैसियतमा राजा ज्ञानेन्द्रसँग वार्ता गरेर नारायणहिटी खाली गराएका थिए ।

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रूपमा राष्ट्रिय राजनीतिको ‘नाडी छाम्ने’ अवसर पाएका सिटौलाले अधिक मौका खेर हुन दिएनन् । कुनै पनि विषयमा तर्क राख्नसक्ने, समन्वयकारी रूपमा प्रस्तुत हुनसक्ने र असहमत पक्षलाई पनि सहमत गराउन सक्ने क्षमताका कारण लामो समय राष्ट्रिय राजनीतिका निर्णायक खेलमा ‘प्लेमेकर’ बनिरहे सिटौला ।

संकटको समाधानकर्ता अर्थात ‘ट्रबलसुटर’ भनिने सिटौला शान्तिप्रक्रियादेखि संविधान निर्माणसम्म निर्वाह गरेको भूमिकाका लागि परिचित छन् । शान्ति प्रक्रियामा गिरिजाप्रसाद र संविधान लेखनमा सुशिल कोइरालाको मुख्य सहयोगी रहेका सिटौला पार्टी नेतृत्वमा पुग्न प्रयासरत छन् । गिरिजाप्रसाद र पुष्पकमल दाहालबीच मध्यस्थकर्ता बनेका सिटौलाले सुशिल कोइरालाको नेतृत्वमा बनेको संविधानको मस्यौदा लेखे ।

‘मेरो समूह लोकतान्त्रिक छ । साथीहरूलाई कसैसँग भेट्न छलफल गर्न बन्देज छैन । जसले जता छलफल गरे पनि मेरो जानकारीमा छ । सबैले मसँग सेयर गर्नुहुन्छ । पार्टीको हितका लागि कामका लागि त सबैले सबैलाई भेट्नुपर्‍यो नि । मैले पनि त शेरबहादुरजी, रामचन्द्रजी, प्रकाशमानजी, शशांकजी, शेखरजी लगायतसँग पटक- पटक भेटेको छु ।

आफ्ना समर्थकबाट शान्ति र संविधानका ‘आर्किटेक्ट’ भनिएका सिटौलाले आफूलाई ‘गिरिजाबाबु’ र ‘सुशिलदा’ को वैचारिक उत्तराधिकारी बताउने गरेका छन् । अघिल्लो महाधिवेशनमा ३ सय २४ मत पाएका सिटौला यसपटक पनि सभापतिको प्रत्याशी रहेका छन् ।

गौशालामा सम्पर्क कार्यालय खोलेर भेटघाट बढाएका सिटौला विगतमा भन्दा आफ्नो समूह अझ विस्तार हुने दावी गर्छन् । यद्यपि कांग्रेसको आन्तरिक राजनीतिमा ‘ट्रबलसुटर’ सिटौलाकै समूह ‘ट्रबल’ मा रहेको विश्लेषण हुने गरेको छ ।

विचार समूहदेखि ‘भागबण्डा’ सम्म

१३ औं महाधिवेशनका दौरान सिटौला आफ्नो समूहलाई ‘विचार समूह’ भन्न रुचाउँथे । उमाकान्त चौधरी, गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधानजस्ता नेताहरूको साथले सिटौलाको समूह ‘नौलो देखिन’ सफल भएकै थियो ।

तरुण दल, नेविसंघ र महिला संघका नेता कार्यकर्तासंग निरन्तर संवादमा रहँदा सिटौला आफ्नो ‘विचार समूह’ ले पार्टी हाँक्ने दावी गर्थे । फरक-फरक विषयमा अन्तरक्रिया र बहसका नियमित श्रृखंला चलाएर सिटौलाले कार्यकर्तालाई व्यस्त राखेकै थिए । प्रारम्भका दिनमा वैचारिकजस्तो देखिए पनि प्रकारान्तरले कांग्रेसभित्रको भागबण्डामा हिस्सेदारी लिन सिटौला पछि परेनन् ।

नेपाल विद्यार्थी संघको महाधिवेशनमा देउवा पक्षसँग गठबन्धन गरेर बहुमत पदाधिकारीसहित सिटौला समूह स्थापित भयो । महिला संघमा देउवा-सिटौला गठबन्धनले ‘क्लीन स्वीप’ गर्दा सिटौला समूहको तागत ह्वात्तै बढेको थियो ।

तरुण दलमा निर्वाचन नगरी कार्यसमिति छान्ने सहमति देउवा-पौडेल समूहले गर्दासम्म निर्वाचनबाट नेतृत्व ल्याउन सिटौलाले राखेको अडानले उनको कद बढाएकै थियो । यद्यपि परिणाममा सिटौलाले पनि भागबण्डा पाए ।

देउवाले अध्यक्ष र पौडेलले महासचिव लिँदा सिटौलाको भागमा उपाध्यक्ष पर्‍यो । त्यसयता पार्टीभित्र सिटौलाले भाग माग्नुपरेन । सिटौलाको ‘विचार समूह’ भागबण्डाको राजनीतिक छायाँमा पर्दै गयो । केन्द्रीय सदस्यको मनोनयनदेखि विभाग गठन हुँदै नेविसंघमा समेत सिटौलाले ‘मनग्गे’भाग लिए ।

अघिल्लो महाधिवेशनको संघारमा सुशिल कोइरालाको निधन भएपछि मात्रै उनले सभापति लड्ने तयारी थालेका थिए । यसकारण त्यतिबेलाभन्दा अहिले सिटौलाले पर्याप्त तयारी गरेका छन् । केन्द्रदेखि तलसम्म, भ्रातृदेखि शुभेच्छुक संस्थासम्म छुट्टै गुट हुनु सिटौलाका लागि ‘प्लस पोइन्ट’हो ।

१३ औं महाधिवेशनमा ‘विचार समूह’ भनिएको ‘सिटौला समूह’ भागबण्डामा यति लचक हुँदै गयो कि ‘जसले जताबाट पाउँछ उतै लिन मिल्ने’ नीति हावी हुँदै गयो । नेविसंघमा विधान विपरीत ९ जना महामन्त्री र जम्बो पदाधिकारी बनाउन सिटौला सहमत भएपछि ‘तेस्रो धार’ बारेका ‘नयाँ भ्रम’ सबै चिरिए । यद्यपि एक परम्परागत गुटका रूपमा सिटौला समूह कांग्रेसभित्र स्थापित नै रह्यो ।

सिटौला कति निर्णायक ?

कांग्रेसवृत्तमा सिटौलाको तागतलाई व्यक्तिगतभन्दा उनले नेतृत्व गरेको समूहको तागतसँग तुलना गर्नु उपयुक्त हुन्छ । १३ औं महाधिवेशनमा सिटौला सभापति रहेको प्यानलमा गगन थापाले महामन्त्री र उमाकान्त चौधरीले कोषाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । पार्टीभित्र संख्यात्मक दृष्टिले ‘तेस्रो स्थान’ मा भएपनि सिटौला समूह ‘निर्णायक’ नै मानिन्छ ।

सिटौला समूह जता ढल्क्यो त्यतै पल्लाभारी हुने स्थिति छ । नेविसंघ र महिला संघमा सिटौला-देउवा समूहले जित्यो भने डीएलए र ट्रेड युनियन कांग्रेसमा सिटौला-पौडेल समूहले जित्यो । पार्टीका अधिकांश तहमा सिटौला समूहले जसलाई समर्थन गर्‍यो उसैले जित्ने अवस्था विद्यमान छ । यही अवस्थाको लाभ लिएर आसन्न महाधिवेशनमा आफ्नो समूह विस्तार गर्ने सिटौलाको योजना छ ।

‘सबैसँग झगडा गर्नुहुँदैन पछि अप्ठ्यारो पर्छ । तल जोसँग मिल्दा जितिन्छ उसैसँग मिलेर आउनुहोला’, आफ्नो समूहका नेता कार्यकर्तासँग सिटौलाले भन्ने गरेका छन् । निकटस्थसँग सिटौलाले क्रियाशील सदस्यता छानबिन टुंगिएपछि महाधिवेशनकेन्द्रित विशेष अभियान थाल्ने बताउने गरेका छन् ।

कति सबल, कति दुर्बल ?

नेपाली कांग्रेसको झापा सभापति हुँदै केन्द्रीय सदस्य र महामन्त्रीसम्म भइसकेका सिटौला कांग्रेसभित्र ‘तार्किक र चतुर’ नेतामध्ये पर्छन् । समस्या समाधानको सूत्र पहिल्याउन सक्ने, समन्वय गर्न सक्ने र संगठनका लागि खटिनसक्ने उनको खुबी हो ।

अघिल्लो महाधिवेशनको संघारमा सुशिल कोइरालाको निधन भएपछि मात्रै उनले सभापति लड्ने तयारी थालेका थिए । यसकारण त्यतिबेलाभन्दा अहिले सिटौलाले पर्याप्त तयारी गरेका छन् । केन्द्रदेखि तलसम्म, भ्रातृदेखि शुभेच्छुक संस्थासम्म छुट्टै गुट हुनु सिटौलाका लागि ‘प्लस पोइन्ट’हो ।

शान्तिप्रक्रिया र संविधान निर्माणमा गरेको योगदानका कारण सिटौलाप्रति अनुदार जमात पार्टीभित्र र बाहिर पनि छन् । त्यसबाहेक कतिपयले उनलाई ‘कोठे राजनीति’ र ‘तानाबाना बुन्ने’ नेताका रूपमा पनि आलोचना गर्छन् ।

सिटौलालाई प्रश्न- गुट कसरी जोगाउनुहुन्छ ?

सिटौला समूहमा रहेका गगन थापा, प्रदीप पौडेल लगायतका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि नजिक छन् । सिटौला समूहकै नेताहरू उमाकान्त चौधरी, शिवप्रसाद हुमागाई , भीमसेनदास प्रधान सभापति देउवासँगको हिमचिममा छन् ।

स्वतन्त्र समूहका रूपमा रहिरहन सिटौलाले दुवैतर्फ पाइला बढाइरहेका नेताहरूलाई रोक्नुपर्ने चुनौती छ । यस्तो प्रतिकूलतामा गुट कसरी जोगाउनुहुन्छ ? नेपाल प्रेसको प्रश्नमा सिटौला सदा झैं मुस्कुराउँदै प्रस्तुत भए ।

‘मेरो समूह अझ विस्तारित हुन्छ । हेर्दै जानुहोला’, सिटौलाको जवाफ थियो ।

‘कसरी ?’

जवाफमा सिटौलाले भने- ‘मेरो समूह लोकतान्त्रिक छ । साथीहरूलाई कसैसँग भेट्न छलफल गर्न बन्देज छैन । जसले जता छलफल गरे पनि मेरो जानकारीमा छ । सबैले मसँग सेयर गर्नुहुन्छ । पार्टीको हितका लागि कामका लागि त सबैले सबैलाई भेट्नुपर्‍यो नि । मैले पनि त शेरबहादुरजी, रामचन्द्रजी, प्रकाशमानजी, शशांकजी, शेखरजी लगायतसँग पटक- पटक भेटेको छु । गगन, प्रदीप वा उमाकान्त भीमसेनले पनि कांग्रेसकै नेता त भेटेका हुन् । त्यसैले केही फरक पर्दैन । कसैले यसैका आधारमा हाम्रो समूहलाई मूल्यांकन गर्छ भने त्यो कमजोर बुझाइ हो ।’

‘तपाईंले नै रणनीतिक रूपमा दुवैतिर पठाउनुभएको हो ?’

सिटौलाले फेरि मुस्कुराउँदै भने- ‘त्यस्तो कुनै रणनीति छैन । अहिले सबै टिम छरपस्ट छ । देउवाजीकोमा निधिजी पनि उम्मेदवार हो । रामचन्द्रजीको टिममा पनि धेरै जनाको दावी छ । मेरो टिममा त्यस्तो केही छैन । मैले अहिले यत्ति भन्छु की कांग्रेसलाई मात्रै होइन देशलाई हाँक्न सक्ने टिम मसँग छ । यसपटक पहिलेजस्तो सानो टिम हुँदैन । केन्द्रीय सदस्यदेखि सभापतिसम्म पूर्ण टिम बनाएर हामी प्रतिस्पर्धा गर्छौं ।’

संस्थापनइतरको साझा उम्मेदवार बन्ने सम्भावना कत्तिको छ ?

छलफल त भइरहेको छ । तर अहिले सबै साथीहरूले आफ्नो पोजिसन राखिरहनुभएको छ । स्थानीय अधिवेशन अगाडि सबैले आफ्नो पोजिसन राख्ने नै हो । मैले सबैको दावीलाई सकारात्मक रूपमा लिएको छु । मेरो पनि दावी छ, तयारी छ । तल्लो तहको अधिवेशनपछि नयाँ परिस्थिति बन्छ । महाधिवेशन भनेको स्टेप बाई स्टेप प्रोसेस हो । नयाँ स्टेपमा पुगेपछि नयाँ कुरा आउनसक्छ । सबैले आफ्नो परिस्थिति विश्लेषण गर्नेछन् । प्रतिस्पर्धा त ओप्पन छ नि । सबैले प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । अहिलेलाई यत्ति भन्छु, हाम्रो समूह अझ मजबुत हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर