प्रदेश २ : प्रदेशसभा बैठकमा एमाले र माओवादी सांसदको अवरोध – Nepal Press

प्रदेश २ : प्रदेशसभा बैठकमा एमाले र माओवादी सांसदको अवरोध

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक नेकपा एमाले र माओवादी केन्द्रले अवरुद्ध पारेको छ ।

सभामुख सरोजकुमार यादवले बैठक शुरू गरेलगत्तै एमाले र माओवादीका सांसदहरू उभिएर अवरोध गरेका थिए । उनीहरुले अगामी आर्थिक वर्षको बजेट मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित ल्याइएको भन्दै सच्याउन माग गरेका छन् ।

एमाले सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट पक्षपात र असन्तुलित रहेको बताए । उनले भने, ‘रातो किताव पढ्नेलाई पनि लाज लाग्छ । प्रदेश सरकारको बजेट जस्तो नभएर एउटा निर्वाचन क्षेत्र र नगरपालिकाको बजेट जस्तो भएको छ ।’ उनले रातो कितावलाई ‘ब्ल्याक बुक’को संज्ञा दिए ।

यस्तै नेकपा माओवादी केन्द्रका सांसद दीलिप साहले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मनपरी ढंगले बजेट राखेको भन्दै आपत्ति जनाए । उनले भने, ‘शहीदले देखाएको बाटो बिराएर बजेट ल्याइएको छ । यो शहीदप्रति नै ठूलो अपमान हो ।’

उनले पनि रातो बुकलाई ‘कालो बुक’ भन्दै अबण्डा रकम राखेकोमा आपत्ति जनाए । उनले प्रश्न गरे, ‘अवण्डा रकम गल्ती भर्न राकिएको हो ?’ उनले अब अति भो भन्दै बदनामको भार बोक्न साक्षी बस्न नसक्ने चेतावनी दिए ।

बजेटलाई समानुपातिक र सन्तुलित बनाउनुपर्ने उनले माग गरे । उनले चेतावनी दिए, ‘मन्त्रीको क्षेत्रमा मात्र विकास गरेर हुँदैन । समानुपातिक हिसावले बजेट विनियोजन होस् । नभए हामीले सदन चल्न दिदैनौं ।’

सांसदद्वय विश्वकर्मा र साहले मन्तव्य राखिसकेपछि सभामुख सरोज यादवले बस्न आग्रह गरे । तर, उनीहरू बस्न नमानेपछि सभामुख यादवले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर