झलनाथको प्रष्टीकरण- मैले पार्टी फुटाउँदैछु भनेर सुनियोजित रूपमा प्रचार गरियो – Nepal Press

झलनाथको प्रष्टीकरण- मैले पार्टी फुटाउँदैछु भनेर सुनियोजित रूपमा प्रचार गरियो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्दैछ भनेर सुनियोजित रूपमा हल्ला चलाइएको प्रष्टीकरण दिएका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि नेकपा एस पनि फुट्न लागेको चर्चाकाबीच नेता खनालेले प्रष्टीकरण दिएका हुन्।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केहि दिनअघि मात्र तत्कालीन जनता समाजवादी पार्टी नेपाल समेत विभाजित भएको छ । यही सिलसिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ । केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’

उनले पार्टी आफ्नो पार्टीको १० औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको उल्लेख गरेका छन्।

उनले थपेका छन्, ‘देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूलाई परिष्कृत र परिमार्जित गर्दैछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ, देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ । त्यसै कारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्त्वहरू आतंकित भएका छन् । त्यसैले उनीहरू प्रतिक्रियावादीहरूका मक्किइसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरू लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोसिस गर्दैछन् ।’

पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्त्वहरूका अनर्गल प्रचारबाट होसियार बन्न आग्रह गरेका छन्। उनले वर्तमान नयाँ सत्ता समीकरणमा समर्थन रहेको समेत जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर