एमाले अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु आउँदै – Nepal Press

एमाले अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु आउँदै

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज कपिलवस्तु आउन लागेका छन् ।

एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशन उद्घाट तथा विजयनगर गाउँपालिकामा निर्मित स्वास्थ्य चौकी उद्घाटन गर्न उनी कपिलवस्तु आउन लागेका हुन् ।

आज र भोलि चन्द्रौटामा हुने अधिवेशनका लागि ५५९ जना प्रतिनिधि छनौट भएका छन् । अधिवेशनबाट नेतृत्वका लागि अहिलेका अध्यक्ष डम्मर शर्मा र यसअघिका प्रतिस्पर्धी बाबुराम खनालबीच नै प्रतिस्पर्धा रहेको छ । नेताहरुले सर्वसम्मत नेतृत्व छान्ने प्रयास गरेपनि आकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा त्यो सम्भावना कम रहेको छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष डम्मर शर्मा पुनः एक कार्यकाल आफैले नेतृत्व लिने तयारीका साथ लागेका छन् । उनले आफ्नो कार्यकाल पूरा नभएका कारण पुनः अवसर पाउनुपर्ने भन्दै तयारी गरेका छन् । शर्मा २०७८ पुसमा भएको ९ औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैगरी आगामी नेतृत्वका लागि यसअघिकै प्रतिस्पर्धी बाबुराम खनाल पनि बलियो दावेदारका रुपमा अगाडि सरेका छन् । एमाले कपिलवस्तुका विभिन्न जनवर्गीय संगठन र पार्टीको लामो राजनीति गरेका खनाल जिल्ला सदस्य, सचिव, उपाध्यक्ष हुँदै पार्टीको प्रदेश कमिटी सदस्य बनिसकेका अनुभवी नेता हुन् ।

गत अधिवेशनमा अध्यक्षका लागि उम्मेदवार रहेका खनाल शर्मासँग पराजित भएका थिए । यस्तै एमाले कपिलवस्तुका उपाध्यक्ष रहेका विश्राम प्रसाद थारु पनि अध्यक्षका दावेदार नेता हुन् । नेताहरुका अनुसार शर्मा र खनालबीच नै प्रतिस्पर्धा रहेको छ ।

उपाध्यक्षका लागि बाणगंगा नगर इन्चार्ज शंकर पाण्डे, जिल्ला कमिटी सचिवालय सदस्य भेषराज पाण्डे र पिताम्बर खनालसहितका नेताहरुले तयारी गरेका छन् ।

सचिवमा अहिलेका सचिव सिबी गहतराज, सचिवालय सदस्य विश्व कार्की, बुद्धभूमि नगर इन्चार्ज रहेका देवीप्रसाद बेल्वासे मुख्य आकांक्षीको रुपमा देखिएका छन् । उपसचिवका आकांक्षीहरु एक दर्जनभन्दा बढी छन् । उनीहरु व्यक्तिगत ढङ्गले प्रचारप्रसारलाई जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर