बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ४४ जनाको मृत्यु, ६० जना घाइते र २७ जना बेपत्ता – Nepal Press

बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ४४ जनाको मृत्यु, ६० जना घाइते र २७ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ जना पुरुष, १३ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका नेपाल प्रहरीले जनाएको हो ।

मृत्यु ह्नेमा सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा तीन–तीन जना, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा दुई–दुई जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक–एक जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा म्याग्दी मंगला गाउँपालिका–५ छिस्बाङस्थित थम बहादुर बुढाथोकीको घर बाढीले भत्किँदा घरमा पसल गरी बस्ने मालिका गाउँपालिका–६ दुखु घर भएका २३ वर्षका गजिन रोका र उनकै श्रीमती १९ वर्षका बिना रोकाको मृत्यु भएको छ ।

जेठ ३० गतेदेखि बुधबारसम्म नै बाढीपहिरो र डुबानमा परी ६० जना घाइते भएका छन् । तीमध्ये ३२ जना पुरुष, १४ जना महिला, १० जना बालक र चार जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, धादिङमा छ जना, सिन्धुपाल्चोक र रोल्पामा पाँच–पाँच जना, धनुषा र सर्लाहीमा चार–चार जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा तीन–तीन जना, जुम्ला, चितवन र गोरखामा दुइ–दुइ जना, पाँचथर, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, दार्चुला, बाजुरा र सल्यानमा एक–एक जना रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार जारी छ ।

बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, तीन जना बालक र एक जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा तीन जना, पर्वतमा दुई जना तथा बाजुरा र बाग्लुङमा एक–एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरोमा परेका एक हजार दुई सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा छ सय ५६ जना, चितवनमा चार सय दुई जना, सिन्धुपाल्चोकमा एक सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट आठ–आठ जना, जाजरकोटमा सात जना, गोरखा र दाङमा चार–चार जना र कञ्चनपुरमा तीन जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण रसुवा, मुस्ताङ, बाजुरा, सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ, कास्की लगायतका स्थानमा बुधबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।

बाढीको कारण एक हजार चार सय २८ वटा घर डुबानमा परेका छन् । पाँच सय ४५ वटा घर, ९७ वटा गोठ, ३९ वटा पुल, तीन वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने आठ सय ३६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा चार सय ९६ वटा विपद्‍का घटनाबाट एक हजार एक सय ५४ वटा घर परिवारका पाँच हजार तीन सय ८५ जना मानिस विस्थापित भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *