सेनाद्वारा प्रहरीलाई ३०० थान हतियार हस्तान्तरण – Nepal Press

सेनाद्वारा प्रहरीलाई ३०० थान हतियार हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापालाई सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उक्त परिमाणको इन्सास, एसएलआरलगायतका हतियार र सोको गोली एवं आवश्यक पार्टपुर्जा हस्तान्तरण गरेका हुन् ।

मन्त्रिपरिषद्को गत जेठ १७ को निर्णयानुसार सेनाले १० हजार ८१८ नाल हरियार तथा १४ लाख ९४ हजार १६ थान गोली र आवश्यक पार्टपुर्जा प्रहरीलाई तीन चरणमा उपलब्ध गराउने छ । प्रहरीले तालीम, विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा अन्य ठूला कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि ती हतियार माग गरेको थियो । उपलब्ध गराइएका हतियारको मर्मत तथा सञ्चालनसम्बन्धी तालीमसमेत सेनाले प्रहरीलाई प्रदान गर्नेछ ।

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल बैशाख महिनासम्ममा हस्तान्तरण गरिसक्ने जानकारी दिइएको छ ।

यसबाट नेपाल प्रहरीको क्षमता अभिवृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास सेनाले लिएको सैनिक जनसम्पर्क तथा निर्देनालयले जनाएको छ ।

शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा उत्पन्न हुने अवस्थाको प्रतिकार्यसमेतमा प्रयोग हुने उक्त हतियारले प्रहरीको क्षमता अभिवृृद्धि गर्नेछ । प्रहरीको अनुरोधमा सरकारबाट भएको निर्णयबमोजिम सेनासँग भएको जगेडा हतियार प्रहरीलाई उपलब्ध गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

यसअघि सेनाले सशस्त्र प्रहरी बल नेपाललाई सन् २०२० जुलाई २९ मा ६०० थान इन्सास हतियार उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा लगायत उच्च सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर