गणेश पहाडीसँगै कमलजंग राई दनुवारले पनि छाडे माधव समूह – Nepal Press

गणेश पहाडीसँगै कमलजंग राई दनुवारले पनि छाडे माधव समूह

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले बहिष्कार गरेको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सो समूहका दुई केन्द्रीय सदस्य सहभागी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्‍मा १२ दिन मन्त्री बनेका गणेश पहाडीसहित उनकै गृहजिल्ला सिन्धुलीका तत्कालीन नेकपा एमालेका इन्चार्ज कमलजंग राई दनुवार पनि शुक्रबारबाट ओली पक्षमा खुलेका छन् ।

बालुवाटारमा भएको बैठकमा पहाडी र राई पहिलोपटक सहभागी भएका हुन् । यसअघि नवौं राष्ट्रिय महाधिवेशनमा दुवैजना माधव नेपाल प्यानलबाट निर्वाचित भएका थिए ।

नेकपा विभाजनपछि पनि दुवै नेता प्रचण्ड-माधव पक्षमा थिए । नेकपा एमाले व्युँतिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने बेलासम्म पहाडी माधव पक्षमै रहेर अनुपस्थित भएका थिए ।

तर, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा उभिन नमानेका उनी पछिल्लोपटक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिए । पहाडी र दनुवार एमाले ब्युँतिएपछिको बैठकमा पहिलोपटक सहभागी भएका हुन् ।

यसअघि तत्कालीन नेकपा विभाजनका बेला पूर्वमाओवादी पृष्ठभूमिका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवार र पूर्व सांसद निरु दर्लामी कुँवर केपी ओली पक्षमा लागेका थिए ।

शुक्रबारको बैठकमा उपाध्यक्ष वामदेव गौतमसहित उनीनिकट नेता हरि पुाजुली पनि पहिलोपटक सहभागी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर