नेप्सेको ओरालो यात्रा, कारोबार घट्दा लगानीकर्ता आशावादी ! – Nepal Press

नेप्सेको ओरालो यात्रा, कारोबार घट्दा लगानीकर्ता आशावादी !

काठमाडौं । धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीको सूची प्रकाशन गरेसँगै सेयर बजार परिसूचक नेप्से निरन्तर घटीरहेको छ ।

जेठ ३१ गते हालसम्मकै उच्चतम अंक ३०२५.८३ अंकको बिन्दु पुगेको नेप्से १८२ अंकले घट्दै २८४३ अंकको बिन्दुमा कारोबार ओर्लिएको छ । सेयर बजार परिसूचक नेप्सेसँगै करोबारमा पनि कमी आएको छ ।

जेठ ३० गते नेपालको सेयर बजारको इतिहासमा नै सबैभन्दा धेरै १९ अर्ब ४२ करोड रुपैयाँ कारोबार भएको यो साता कारोबारको रकम घटेर ७ अर्ब ३ करोडमा सीमित भएको छ ।

असार १ गते धितोपत्र वोर्डले कम्जोर वित्तीय भएका, पीई अनुपात १०० भन्दा कम रहेका र एक वर्षको अवधिमा नै ३ सय प्रतिशत भन्दा बढी सेयर मूल्य कायम भएका कारण देखाउदै कम्पनीहरूको सूची प्रकाशन गरेको थियो । जसको असर स्वरुप लगानीकर्ताका मनोबलमा कमी आई बजारमा घटेको विश्लेष्ण भइरहेको छ ।

बढ्दो बजारमा धितोपत्र बोर्डले अनावश्यक हस्तक्षेप गरेको भन्दै पुँजी बजारमा भावनाले बढी काम गर्ने भएकाले मूल्यलाई आधार बनाउनु गलत भएको भन्दै बोर्डको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भयो । सर्वोच्च अदालतले रिटको सुनावाई गर्दै सूची प्रकाशनबारे बोर्डलाई कारण देखाउ आदेश जारी गर्‍यो ।

त्यस्तै अर्थमन्त्री विष्णु पौडलले पनि वोर्डका अध्यक्षलाई अर्थमन्त्रालयमा बोलाइ बजारमा अनावश्यक हस्तक्षेप नगर्न निर्देशन दिएका थिए ।

बोर्डले ५१ कम्पनीको सूची प्रकाशन गर्नुभन्दा अगाडि नै ठूला लगानीकर्ताहरू बजारलाई घटाउनुपर्ने पक्षमा रहेको देखिन्छ । बोर्डका निर्णयका जानकारी पाएका ठुला लगानीकर्ताले यसअघि नै सेयर बेचेर नाफा बुक गरिसकेका थिए । उनीहरू अहिले पनि बजारलाई केही समय घट्न दिने र सस्तो मूल्यमा सेयर किन्ने पक्षमा रहेका देखिन्छ ।

बोर्डको निर्णयका कारणबाट मात्रै लगानीकर्ताले ‘पेनिक सेल्स’ गरेर मात्रै बजार घटेको भने पक्कै पनि होइन । बोर्डको निर्णयबाट हतोसाहितसँग सँगै बजारका आधारभूत पक्षहरूले पनि पछिल्लो समय काम गरिरहेको देखिन्छ ।

असार मसान्तसम्ममा चालू आर्थिक वर्षका लागि लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थामा लिएको ऋणको साँवा व्याज भुक्तानी गर्नुपर्ने समय पनि भएकाले लगानीकर्ताले सेयर बिक्री गरिरहेका छन् ।

निषेधाज्ञा खुकुल्लो हुँदै जादा अन्य आर्थिक क्रियाकलापहरु बढेका कारण बजार गिरावट आएको देखिन्छ । निषेधाज्ञाको समयमा घरमा बसेर अनलाइन प्लेटफर्ममार्फत् लगानी गरिरहेका उद्योगी व्यवसायीहरूले व्यापार व्यवसाय सञ्चालनका लागि ध्यान दिन थालेका छन् ।

त्यस्तै नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको तेस्रो समीक्षाले बैंक तथा वित्तीय संस्थालाई असार १० गते पछी माइक्रो फाइनान्स कम्पनीको सेयर बिक्री गर्नका लागि म्याद तोकेको छ । असार १० गतेपछि माइक्रो फाइनान्सको सेयरमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले कम्तिमा ६ महिना सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ ।

मौद्रिक नीतिमार्फत् सेयर बजारमा जाने कर्जाको मार्जिन ल्याण्डिङ मूल्याङ्कन अवधि १ सय ८० दिनबाट झारेर १ सय २० दिन कायम गरिएको छ भने ओभरड्राफ्ट कर्जा विस्तारमा केही कडाइ गरिएको कारण पनि बजारमा गिरावट आएको देखिन्छ ।

त्यस्तै पछिल्लो समय सरकारले आन्तरिक ऋण उठाएका कारण बजारमा तरलता अभावका कारण बैकको ब्याजदर बढेको छ भने कर्जा विस्तारमा बैंकहरूले केही कडाइ गरेका छन् । ११ वटा वा णिज्य बैंकहरूको सीसीडी अनुपात राष्ट्र बैंकले तोकेको सिमा ८५ प्रतिशत नजिक रहेकाले उनीहरूले ५ प्रतिशतमा स्थायी तरलता सुविधाको प्रयोग गरी कर्जा विस्तार गरिरहेका छन् ।

सरकारले पुँजीगत खर्च गर्न नसक्दा पनि बैंकमा तरलताको अभावका कारण ब्याजदरमा बढेको छ ।

यसका अतिरिक्त आगामी बजार हल्ला पनि बजार घटाउन काम गरेको देखिन्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले सेयर बजारमा जाने कर्जामा कडाइ र ब्याजदर बढ्न सक्ने जस्ता अनुमानका कारण पनि सेयर बजारमा गिरावट आएको देखिन्छ ।

लगानीकर्ता के भन्छन् ?

वाणिज्य बैंक, इन्स्योरेन्स कम्पनी,वित्त कम्पनी र केही जलविद्युत कम्पनीको निषेधाज्ञामा पनि वित्तीय प्रतिवेदन राम्रो भएकाले ‘पेनिक’ हुनुनपर्ने लगानीकर्ता बताउँछन् । अब कम्पनीहरूले लांभाश वितरण गर्ने समय आएकाले बजार घट्नु आवश्यक नरहेको उनीहरूको भनाइ छ ।

लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले धितोपत्र बोर्डको निर्णयले लगानीकर्ताको मनोवलमा असर गरे पनि बजार घट्नुपर्ने समय नरहेको बताए ।

‘वित्तीय अवस्था बलियो भएका कम्पनीहरू छनोट गरी खरिद गर्ने हो भने कम्पनीहरूले लाभांश वितरणको समय आएको छ,’ उनले भने । उनी वाणिज्य बैंकहरूको सेयरको मूल्य अझै पनि कम रहेकाले लगानीकर्ता उचित प्रतिफल पाउने संभावना रहेको बताउँछन् ।

धितोपत्र बोर्डले कर्नरिङ, सर्कुलेसन, भित्री कारोबार जस्ता भएको बताए पनि त्यसलाई नियमन गर्ने कानून वोर्डसँग नभएको अर्यालको भनाइ छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको १५ प्रतिशतसम्म सेयर खरिद गर्न पाउने व्यवस्था गरेपनि वोर्डले कुन कम्पनीको कति सेयर खरिद गर्न पाउने व्यवस्था नगरेकाले इन्साइडर कारोबार, सर्कुलेसन वा कर्नरिङ भयो भन्ने आधार नरहेको उनले बताए ।

‘धितोपत्र बोर्डले घटेको समयमा वित्तीय अवस्था कमजोर भएको कम्पनीको सूची प्रकाशन गर्नुपर्नेमा वुलिस बजारलाई हस्तक्षेप गर्दा साना लगानीकर्ताहरु मार परे,’ उनले भने ।

अर्का लगानीकर्ता लगानीकर्ता ताराप्रसाद फुलेल धितोपत्र बोर्डका निर्णयले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताउँछन् । कारोबार रकम घट्नुले बजारमा ‘पेनिक सेल्स’ कम भएको र यसले बजार बढ्ने संकेत गरेको उनको भनाइ छ । ‘धितोपत्र बोर्डको निर्णयले नेप्से र कारोबारको रकम घटेपनि लगानीकर्ता निरास हुनुपर्ने अवस्था छैन । कारोबार रकम घट्नुले लगानीकर्ताले पर्ख र हेरको अवस्थामा छन् । यसले गर्दा बजार बजार फेरी बढ्ने संकेत गरेको छ’, उनले भने ।

नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियार सेयर बजारमा ‘बुलिस ट्रेण्ड’ अझै बाँकी रहेको बताउँछन् । धितोपत्र बोर्डको निर्णयले लगानीकर्तालाई पेनिक गराए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘नेपालमा मात्रै होइन भारत, अमेरिका, बेलायत, चीन लगायतका मुलुकमा पनि बजार बढेको छ । धितोपत्र बोर्डले यस्तो वेला हस्तक्षेप नगरेको भए उचित हुने थियो । बैंक, इन्स्योरेन्स कम्पनी, जलविद्युत कम्पनीहरुले कोभिडको समयमा पनि राम्रो आम्दानी गरेकाले प्रतिफल आउने समय भएकाले लगानीकर्ता निरास बन्न आवश्यक छैन’, उनले भने ।

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाए पनि निक्षेपमा पनि ब्याजदर घटाउदा मुनाफामा नघटेकाले लांभाश राम्रै आउने उनको विश्वास छ । त्यस्तै इन्स्योरेन्स कम्पनीहरूको दाबी भुक्तानी बढेपनि इन्स्योरेन्स गर्ने ग्राहकको संख्या बढेकाले यस क्षेत्रबाट पनि प्रतिफलको आशा गर्न सकिने र जलविद्युत कम्पनीहरुको विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गरिरहेका ती कम्पनीबाट पनि राम्रो लाभांशको अपेक्षा गर्न सकिने उनको मत रहेको छ ।

पछिल्लो समयमा नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको मार्जिन ल्याण्डिङ मार्फत करिव १ खर्ब हाराहारीमा कर्जा प्रवाह भएको छ । त्यस्तै विदेशमा रहेका नेपालीहरू पनि अनलाइन प्रणाली मार्फत दोस्रो कारोबार आकर्षित भएका छन् । इन्टरनेट बैंकिङ मार्फत् तथा ‘एनसीएजएल’ मार्फत सेयर भुक्तानी गर्न मिल्ने भएकाले नेपालको सेयर बजारमा लगानीकर्ताहरू आकर्षित भएको देखिन्छ ।

दोस्रो बजारमा हाल ७ लाख नेपालीहरुले अनलाइन मार्फत करोबार गरिरहेका छन् । पछिल्लो समय कोरियाबाट सबैभन्दा धेरै लगानीकर्ताहरू दोस्रो बजारमा छिरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर