प्रधानमन्त्रीको आशंका- धादिङमा स्याल कराउने र भोलिपल्ट कुखुरा हराउने कसरी भयो ? (भिडियो) – Nepal Press

प्रधानमन्त्रीको आशंका- धादिङमा स्याल कराउने र भोलिपल्ट कुखुरा हराउने कसरी भयो ? (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको न्याय सम्पादन र निष्पक्षतामाथि प्रश्न उठाएका छन् । हालै आफूले विस्तार गरेको मन्त्रीपरिषदलाई बदर गर्ने अदालतको आदेशका सन्दर्भमा उनले शंका व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको भनिएको अभिव्यक्ति र सर्वोच्चको आदेशबीचको तालमेललाई लिएर शंका व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीको निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा उनले प्रचण्डको नाम नलिइकन भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ?’

‘एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ । नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।’

गत असार ८ गते सर्वोच्च अदालतले जेठ २१ र २७ गतेको मन्त्रीपरिषद विस्तार तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसको अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतले २१ जना मन्त्रीहरुलाई पदमुक्त गर्दैछ भन्ने अभिव्यक्ति दिएको एकाध मिडियामा समाचार आएका थिए । ओलीले हरेक प्रणालीले आफ्नो सहीपना र सर्वश्रेष्ठता आफ्नै कामले प्रमाणित गर्नुपर्ने बताए । त्यसअघि नै प्रणालीलाई भत्काउन खोज्नु खतरनाक भएको उनको टिप्पणी थियो ।

एक पूर्वप्रधानमन्त्रीले विदेशी टेलिभिजनलाई दिएको अभिव्यक्तिमा पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाए । खुल्लमखुल्ला विदेशी हस्तक्षेपको अपेक्षा गर्नेहरूले नै आफूलाई आडम्बरी देशभक्त भनी टिप्पणी गर्ने गरेको उनको भनाइ थियो । ओलीले भने, ‘एकजना पूर्वप्रधानमन्त्रीले एउटा विदेशी टेलिभिजनको संवाद कार्यक्रममा भाग लिएको मैले देखेँ । यो माईक्रो म्यानेजमेन्टमा लाग्न हुँदैन, तपाईंहरू माईक्रोम्यानेजमेन्टमा नलाग्नुहोस् । ठूला कुरामा हात हाल्नुहोस् न । पोलिसी म्याटरमा हात हाल्नुहोस् न । जथाभावी किन हुन दिईरहनुभएको छ तपाईंहरु ? उहाँको भनाई थियो । मलाई आश्चर्य लाग्यो । तैपनि आफूलाई देशभक्त नै हुँ भनेर हिँडिरहेका छन् ।’

‘अर्को पूर्वप्रधानमन्त्रीजी खुलेआम भन्छन्- ‘के हेरेका होलान् हाम्रा लोकतान्त्रिक मित्रहरु, छिमेकीहरुले ? यस्तो हुँदा पनि के हेरेका होलान् भनेको के ? के चाहीँ गरिदिनुपर्ने ? फेरि उहाँहरू फलानाको देशभक्ति भनेको चाहीँ नक्कली देशभक्ती हो । आडम्बरी देशभक्ति हो भन्छन् ।’ ओलीले प्रजातन्त्र र संविधानविरुद्ध अराजकता ल्याउन खोज्नेविरुद्ध एकजुट हुन महन्त ठाकुरलाई साथमा लिएको बताए ।

उनले भने, ‘उहाँहरूले महन्त ठाकुरजीलाई प्रधानमन्त्री बन्दिनोस् भन्दा सही हुन्छ । मैले महन्तजीलाई साथ लिएँ, मैले उहाँलाई लिड गरिदिनोस् हामीलाई भनेको छैन । म तपाईंका पोलिसीका पछाडि जान्छु भनेको छैन । अर्को कुरा उहाँहरूसँग कुनै एग्रिमेन्ट पनि गरेको छैन । मैले प्रजातन्त्रका विरुद्ध, संविधानका विरुद्ध नेपालमा जस्तो अराजकता ल्याउन खोजिएको छ त्यसको विरुद्ध उहाँहरुको साथ लिएँ । त्यो चाहीँ हुनुहुनामी के-के भईहाल्यो ? महन्तजीलाई प्रधानमन्त्री हुनुहोस् भनेर डबलीमा बुद्धिजीवीहरु साक्षी राखेर भनेको होइन ? टेलिभिजनमा खिचाएको होइन ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर