‘रेड टुरिजम’मा चिनियाँ कम्युनिस्ट आन्दोलन – Nepal Press

‘रेड टुरिजम’मा चिनियाँ कम्युनिस्ट आन्दोलन

इतिहास पढाउँदै व्यापार बढाउने चीनको योजना, एकतर्फीरुपमा इतिहास पढाइएको भन्दै आलोचना

चीनमा अहिले निकै लोकप्रीय छ, रेड टुरिजम । यहाँ रेड टुरिजमले आन्तरिक पर्यटन बजारलाई नयाँ आकार नै दिएको छ ।

चीनमा चर्चा पाएको रेड टुरिजमले भारतीय अखबार इन्डियन एक्सप्रेस, हङगकङको साउद चाइना मर्निङ पोस्टदेखि अमेरिकी विश्व च्यानल सिएनएनसम्म चर्चा पाएको छ ।

के हो ‘रेड टुरिजम’ ?

सन् १९२१ को जुलाई २३ मा चिनियाँ कम्युनिस्ट पार्टीको जन्म भयो । हुनान प्रान्तमा जन्मिएका चिनियाँ नेता माओ जेदुङले २७ बर्षको उमेरमा पार्टी स्थापना गरेका थिए । पार्टी स्थापनाको छ वर्षपछि जनमुक्ति सेनाको स्थापना भयो ।

जनमुक्ति सेनाले जापानी उपनिवेशवादी शक्तिदेखि तत्कालीन चीनका शासक चेङ काइसेकका दुवै फौजसँग युद्ध लढ्यो । दोस्रो विश्व युद्ध अगाडिसम्म जापानी र काइसेक दुवै फौजसँग लढेको जनमुक्ति सेनाले दोस्रो विश्वयुद्धपछि निर्णायक युद्ध गर्यो । र, चार वर्षपछि सन् १९४९ अक्टोबर १ मा अहिलेको चीन कब्जा गर्यो ।

बेइजिङको तियानानमेन स्क्वायरमा पुगेर माओले ‘जनवादी गणतन्त्र चीन’ स्थापना भएको घोषणा गरे । र, अहिलेसम्म यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको सत्ता छ । कुनैबेलाको सामान्य मुलुक अहिले विश्वको दोश्रो ठूलो अर्थतन्त्रको भएको छ ।

अमेरिकासँग टक्कर गर्ने स्तरको भएको छ । जमिनदेखि अन्तरीक्षसम्म आफ्नो प्रभाव विस्तार गर्न सफल भएको छ ।

यहीं ऐतिहासिहक घटनाक्रम र यससँग जोडिएका ऐतिहासिक पात्र, परिवेश, स्थानहरुको समग्र यात्रा प्याकेज नै चीनले विकास गरेको ‘रेड टुरिजम’ हो । चीनका नयाँ पुस्तालाई पार्टीको इतिहास पर्यटनको माध्यमबाट चिनाउन यो प्याकेज सुरु भएको हो । यही वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षगाँठ हुनेछेका झन् यसको प्रवद्र्धन व्यापक भएको छ ।

माओको जन्म भएको हुनान प्रान्तको जन्मस्थान साओस्यान, चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो अधिवेशन भएको नान्हु ताल, चीनका उदारवादी नेता देन स्याओपिङ जन्मेको सिचुवान प्रान्तको ग्वाङएन रेड टुरिजमका गन्तव्यहरुमा पर्छन् ।

चिनियाँ जनमुक्ति सेनाले यात्रा गरेका लामा–लामा रुटहरु पनि रेड टुरिजमअन्तर्गत पर्छन् । लोकप्रीय रेड टुरिजमका सहरी गन्तव्यहरुमा बेइजिङ, नान्जिङ र सांङघाइ पर्ने र स्पटहरुमा चाहिँ तियानानमेन स्क्वायर, चिनियाँ राष्ट्रिय संग्रहालय, चिनियाँ कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनको स्मृतिगृहहरु पर्ने ग्लोबल टाइम्सले लेखेको छ ।

पर्यटकहरुलाई भुलाउन चिनियाँ सेनाले जापानी र चेङ काइसेकका सेनासँग गरेको भिडन्त देखाउने नाटक, चित्रकलादेखि विभिन्न उपहार सामग्रीहरु समेत राखिएका छन् । धेरै स्पटहरुमा बेच्नका लागि रातै रंगका स्ट्रबेरीहरु राखिएको ब्लुमबर्ग क्विकटेकले भिडियो सामग्रीमार्फत देखाएको छ ।

सन् २००४ बाट सामान्य चर्चामा आएको चीनको रेड टुरिजम सि चिनफिङ रास्ट्रपति भएर आएपछि व्यापक भएको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् । चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार चीनमा १ सय रुटहरु रेड टुरिजमका लागि बनाइएका छन् । गत मे ३१ मा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले ‘१०० उत्कृष्ट रेड टुरिजम रुटहरु’ सार्वजनिक गरेको थियो ।

रेड टुरिजमअन्तर्गत २ सय बढी स्पट भएको ग्लोबल टाइम्सले लेखेको छ । जसमध्ये ३९ स्पट मात्रै ठूला र दोस्रो तहका सहरमा छन् । अरु सबै स–सना गाउँ तथा सहरमा छन् ।

रेड टुरिजमको प्रचारमा चीन सरकारसँगै निजी क्षेत्र पनि उत्तिकै सक्रिय छन् । चीनको रेलवे विभागले रेड टुरिजमलाई प्रबद्र्धन गर्दै ‘रेड लाइन्स’ रुट बनाएको छ । यस्तै, चिनियाँ हवाई यातायात क्षेत्रमा समेत रेड टुरिजमको रुटहरु बनाइएको छ । यसमा चाइना इस्टर्न एयरलाइन्स, छेन्दु एयरलाइन्स, हैनान एयरलाइन्सदेखि चाइना साउदर्न एयरलाइन्सले सेवा दिइरहेको ग्लोबल टाइम्सले लेखेको छ । ग्लोबल टाइम्सका अनुसार रेड टुरिजमको मुख्य सिजन जुन र जुलाइ महिना हुन् ।

एक वर्षमै साढे एक खर्ब डलर योगदान

चीन सरकार र निजी क्षेत्र आक्रामक प्रचार गरेको रेड टुरिजमको क्रेज बढ्दै गएको विभिन्न देशका संचार माध्यमहरुले लेखेका छन् । ग्लोबल टाइम्सले हालसालै सार्वजनिक गरेको तथ्यांकअनुसार चीनको अर्थतन्त्रमा रेड टुरिजमले सन् २०२० मा एक खर्ब ५४ अर्ब ५० करोडको योगदान गरेको छ ।

क्युनारले सार्वजनिक गरेको ‘रेड टुरिजम विकास प्रतिवेदन’ का अनुसार पछिल्ला विदाहरुमा टिकट बिक्रिदर ६० प्रतिशतले बढेको छ । ग्लोबल टाइम्सका अनुसार रेड टुरिजम क्षेत्रमा भ्रमण गर्ने ८९ प्रतिशत ४० वर्षमुनि छन् ।

सिएनएनका अनुसार चीनको सबैभन्दा ठूलो बुकिङ संस्था सिट्रिपले सन् २०२१ भित्र ५ करोड पर्यटक ल्याउने लक्ष्य लिएको छ । कोभिड–१९ पछि चीनमा पर्यटनको सबैभन्दा राम्रो उत्साह रेड टुरिजम क्षेत्रमै देखिएको छ ।

सिएनएनले हङकङ पोलिटेक्निक विश्वविद्यालयका प्रोफेसर मिमि लीलाई उदृत गर्दै सन् २०२० मा चीनको कुल आन्तरिक पर्यटनको ११ प्रतिशत हिस्सा रेड टुरिजमले लिएको जनाएको छ । सिएनएनका अनुसार सन् २०२० मा १० करोडले रेड टुरिजम क्षेत्र भ्रमण गरेका थिए । यो बर्ष चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पुग्ने भएकोले झनै संख्या बढ्ने अनुमान गरिएको छ ।

रेड टुरिजम क्षेत्रको जनशक्ति व्यवस्थित गर्न चीनको पर्यटन मन्त्रालयले हरेक वर्ष देशभरबाट १०० गाइड छान्छ । तालिमका लागि बेइजिङ ल्याएर थप सक्षम बनाउँछ । १०० गाइडबाट पनि उत्कृष्ट पाँच छान्दै चीनले रेड पर्यटनको सुधार र चर्चा गर्ने गरेको सिएनएनले लेखेको छ ।

रेड टुरिजममार्फत एकतर्फी इतिहास पढाइएको आरोप

चीनसँग फरक मत राख्नेहरुले रेड टुरिजममार्फत सही इतिहास बढाइ नहुने आरोप लगाइरहेका छन् । सिएनएनले आलोचनात्मक टिप्पणी गर्दै भनेको छ– पर्यटकीय गन्तव्य सही भए पनि पर्यटकलाई एकतर्फी कथा मात्रै सुनाइन्छ ।

जापानी अतिक्रमणविरुद्ध चिनियाँ नागरिकले गरेको प्रतिरोधबारे युद्ध संग्रहालयमा राखिएका जानकारीमाथि आलोचकले प्रश्न उठाएका छन् । संग्रहालयमा जापानीसँग लड्न तत्कालीन सत्ताधारी दल ‘कौमिनताङ’ असमर्थ भएको लेखिएको छ ।

जहाँ चिनियाँ जनमुक्ति सेनाले डटेर गरेको बलिदानीको कारण विजय भएको उल्लेख छ । यसैलाई उदाहरण दिँदै सिएनएनले विभिन्न विज्ञहरुको भनाइ लिएर इतिहास एकतर्फी ढंगमा भएको उल्लेख गरेको छ ।

भारतीय अखबार इन्डियन एक्सप्रेसले पनि चिनियाँ कम्युनिस्ट पार्टी र यसका नेताहरुले गरेका खराब काम र असफलता लुकाएर राम्रा पक्ष मात्रै रेड टुरिजम क्षेत्रमा समेटिएको लेखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर