अमेरिकाले थप ५५ मिलियनबाट पनि नेपाललाई खोप दिने, यसैमहिना खोप प्राप्त हुने – Nepal Press

अमेरिकाले थप ५५ मिलियनबाट पनि नेपाललाई खोप दिने, यसैमहिना खोप प्राप्त हुने

काठमाडौं । अमेरिकाले थप खोप वितरणको घोषणा गरेको छ । गतसाता सकिएको जी-सेभेनको बैठकमा जनाएको प्रतिबद्धताअनुसार अमेरिकाले विपन्न मुलुकहरुलाई थप ५५ मिलियन डोज खोप वितरण गर्ने घोषणा गरेको हो ।

घोषणा गरिएको यो परिमाणको खोपबाट नेपालले पनि केही हिस्सा प्राप्त गर्ने भएको छ । यसअगाडि जुन ३ मा २५ मिलियन डोजबाट नेपाललाई समेत भ्याक्सिन दिने घोषणा गरेको अमेरिकाले सोमबार बाँकी ५५ मिलियन डोजमा पनि नेपाललाई समावेश गरेको हो ।

अमेरिकाले तत्कालका लागि ८० मिलियन डोज खोप विपन्न मुलुकहरुलाई उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकाले नेपाल लगायतका देशहरुलाई जुनभित्र भ्याक्सिन पठाउने प्रतिबद्धता समेत जनाएको छ ।

बाइडेन प्रशासनले सोमबार गरेको घोषणा अनुसार उसले दिने भनेको भ्याक्सिनमध्ये ४१ मिलियन डोज कोभ्यास संयन्त्रमार्फत वितरण गरिनेछ । जसमा १४ मिलियन ल्याटिन अमेरिका र क्यारेबीयन देशहरुलाई उपलब्ध गराइनेछ । १६ मिलियन नेपालसहित एसियाका १८ देशलाई प्रदान गरिनेछ । १० मिलियन डोज अफ्रिकाका देशहरुलाई दिइनेछ ।

५५ मिलियनमध्ये १४ मिलियन डोज अर्थात् २५ प्रतिशत भ्याक्सिन अमेरिकाले विभिन्न देशहरुलाई सिधै उपलब्ध गराउने भएको छ । त्यसमा पाकिस्तान, बंगालादेश, अफगानिस्तान लगायतका मुलुकहरु समावेश गरिएपनि नेपाललाई समावेश गरिएको छैन ।

अमेरिकाले ५ सय मिलियन फाइजर भ्याक्सिन किनेर विभिन्न ९२ वटा देशहरुलाई प्रदान गर्ने समेत घोषणा यसअघि गरेको थियो । गतसाता सम्पन्न जी–सेभेन बैठकमा बेलायत र अमेरिका लगायतका विकसित मुलुकले १ अर्ब डोज खोप प्रदान गर्ने घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर