सदस्यताका कारण महाधिवेशन रोकिँदैन : नेता लेखक – Nepal Press

सदस्यताका कारण महाधिवेशन रोकिँदैन : नेता लेखक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले सदस्यताका कारण पार्टीको आसन्न महाधिवेशन नरोकिने स्पष्ट पारेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक लेखकले पार्टीले दिएको जिम्मेवारी अनुसार तोकिएको मितिमा क्रियाशील सदस्यता टुंगो लगाउन समिति प्रतिबद्ध रहेको बताए ।

‘क्रियाशील सदस्यताकै कारण महाधिवेशन प्रभावित हुन्छ कि भन्ने चर्चा पनि चलेको छ । म स्पष्ट पार्छु हामी सदस्यताको विषय टुंग्याउँछौं, सदस्यताको कारण महाधिवेशन रोकिँदैन’, लेखकले भने ।

उनले असार ६ गतेसम्म क्रियाशील सदस्यताउपर उजुरी आह्वान गरिएको भन्दै मापदण्ड अनुसार सबै जिल्ला र क्षेत्रको सदस्यता टुंगो लाग्ने बताए । ‘सदस्यता छानबिन समितिले मापदण्ड बनाएको छ । त्यही मापदण्डका आधारमा सदस्यतासम्बन्धी विवाद टुंग्याउँछौं’, लेखकले भने ।

संवैधानिक बाध्यताका कारण पनि महाधिवेशन सार्ने अवस्था नरहेको भन्दै लेखकले महाधिवेशन सम्पन्न गर्न पार्टीका सबै तहको समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर