उर्लिएको कालीगण्डकीले ९ घर बगायो – Nepal Press

उर्लिएको कालीगण्डकीले ९ घर बगायो

कुस्मा । शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका ९ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मंगलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो ।

मंगलबार दिउँसो बहाब केही घटेपनि साँझ फेरि बढेर घर बगाएको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए । उनका अनुसार स्थानीय केशवराज न्यौपाने, लक्ष्मी न्यौपाने, रेशमलाल नौपाने, गोपाल सुनार, शक्ति श्रेष्ठ, माया क्षेत्री र विक्रम श्रेष्ठलगायतको घर बाढिले बगाएको हो ।

अहिले विस्थापित बनेका परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेर पर्वत र स्याङ्जा जोड्ने सेतीखोला माथिको पुलबाट पानी बग्न लागेपछि बजारवासीमा रुवावासी छाएको थियो । अहिलेसम्म मानवीय क्षति भने नभएको पराजुलीले जानकारी दिए । बाढीले भत्काएका घरबाट बजारवासीले अत्यावश्यक वस्तुहरु निकालिएको थियो ।

अहिले स्याङ्जातर्फको बजार पूर्णरुपमा विस्थापित हुने खतरा रहेको छ । त्यसैगरी विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ भने शिला नजिकै रहेका सत्तलहरु समेत बगाएको छ । सेतिवेणीमा रहेको प्रहरी चौकीले विस्थापित भएका घरधुरीलाई सुरक्षित स्थानमा सार्न र सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर