‘उपेन्द्रजीको पार्टीलाई हामीले उद्धार गरेका हौं, अब आत्मालोचना गरेमात्रै एकता सम्भव’ – Nepal Press
नेपाल टक

‘उपेन्द्रजीको पार्टीलाई हामीले उद्धार गरेका हौं, अब आत्मालोचना गरेमात्रै एकता सम्भव’

काठमाडौं । यतिबेला जनता समाजवादी पार्टीको एउटा हिस्सा सरकारमा छ भने अर्को हिस्सा विपक्षी गठबन्धनमा छ । महन्थ ठाकुर नेतृत्वको समूह सरकारमा महत्वपूर्ण हिस्सासहित उपस्थित हुँदा उपेन्द्र यादव नेतृत्वको समूह विपक्षी गठनबन्धनमा सक्रिय छ ।

२०७७ साल बैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी गठन भएको थियो । एकता र समायोजनको प्रक्रिया नसकिँदै जसपा विभाजनको संघारमा पुगेकोहो । एकपक्षले अर्को पक्षलाई गरेका कारवाही निर्वाचन आयोगको पछिल्लो निर्णयबाट अस्वीकृत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक सहकार्य गर्ने वा नगर्ने भन्ने विषयमा विवाद बढ्दा जसपाको दुवै समूह समानान्तर अभ्यासमा सक्रिय हुँदै आएका छन् ।

लामो समयदेखिको विवादले निरन्तरता पाउँदा जसपाको एकतावद्ध यात्रा सम्भव छ वा छैन ? भन्ने प्रश्न पेचिलो बनेको छ । यही सन्दर्भमा जसपाको महन्थ ठाकुर नेतृत्वको समूहका नेता डा.सुरेन्द्र कुमार झासँग नेपाल प्रेसका लागि नकुल अर्यालले गरेको कुराकानी प्रस्तुत छ नेपाल टकमा–

जसपा नेपालबारे निर्वाचन आयोगले हालै दिएको निष्कर्षलाई कुन रुपमा लिनुभएको छ ?

निर्वाचन आयोगले दिएको निर्णयबाट समानताका आधारमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको प्रष्ट भएको छ । पार्टीमा २ अध्यक्ष प्रणाली रहेको छ र जसको प्रथम अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ । निर्वाचनको आयोगको निर्णय हाम्रो अपेक्षा अनुसारकै छ । अर्का अध्यक्ष उपेन्द्र यादवजीको समूहले पार्टीको प्रथम अध्यक्ष लगायतलाई नै कारवाही गर्ने भनेर दिनुभएको पत्रलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

निर्वाचन आयोगले पार्टीको विधान र राजनीतिक दलसम्बन्धी कानून अनुसार गरेको निर्णय हाम्रा लागि स्वभाविक नै छ । यसका लागि हामी निर्वाचन आयोगलाई धन्यवाद समेत दिन्छौं । आयोगले जसपालाई एकतावद्ध बनाएर लैजान अन्तिम अवसर पनि दिएको छ । उपेन्द्रजीहरुले पार्टी एकताको आवश्यकता, आन्दोलनको उद्देश्य र पार्टीहित सोच्ने हो भने राजनीतिक रुपमा सच्चिन जरुरी छ ।

महन्थ ठाकुर नेतृत्वको तपाईहरुको समूहको अबको कदम चै के हुन्छ ?

हामीले आपसमा सल्लाह गरिरहेका छौं । विवादको सुरुवात हाम्रो तर्फबाट भएको होइन । उपेन्द्रजीहरुले एक पछि अर्को गल्ती गर्दै गइरहनुभएको छ । अघिल्लो वर्ष बैशाखको १० गते राति राजपा गएर उपेन्द्रजीको पार्टीलाई उद्धार गरेको हो । उपेन्द्रजीहरुले मधेश आन्दोलनको कार्यभार सम्झनुभयो भने अझै केही सम्भावना छ ।

हाम्रो आधार एउटै हो, राजनीतिक एजेण्डा एउटै हो भने आफ्नो तर्फबाट भएका कमजोरीमा आत्मालोचना गरेर आउनुभयो भने जति नै समस्या भएपनि एकीकृत जसपा सम्भव छ । तर विगतमा एकपछि अर्को विवादित काम जुन गर्नुभयो । प्रदेशका सांसददेखि पार्टीकै प्रथम अध्यक्षलाई कथित कारवाही घोषणा गर्नुभएको छ ।

एकीकृत जसपाको सम्भावना कठिनै भए पनि असम्भव भने होइन । विवाद, कारवाही र पार्टी एकता संकटमा पार्ने काम उपेन्द्रजीको समूहबाट भएको हो । त्यसैले पार्टी एकताका लागि सच्चिने पहल पनि उहाँहरुले नै गर्नुपर्छ । यसमा नै केन्द्रित रहेर हामीले पनि छिट्टै निर्णय लिन्छौं ।

पार्टी एकता जोगाउनेबारे औपचारिक/अनौपचारिक रुपमा संवाद भइरहेको छ त ?

दोस्रो तहका नेताहरुको बीचमा पार्टी एकता जोगाउनेबारे छलफल भइरहेको छ । छलफल जारी छ र हामी निष्कर्षमा पुगिसकेका छैनौं । म आफ्नै उपेन्द्रजीसँग २ साताअघि एकतावद्ध भएर जानेबारे संवाद गरेको हुँ ।

तर अहिलेसम्मको प्रयासले मूर्तरुप लिन सकेको छैन । एकीकृत भएर जाने काम बादलपारीको घामजस्तै भएपनि निर्वाचन आयोगको निर्णयबाट एकता असम्भव भने भइसेकको छैन । अझैपनि पार्टीको एजेण्डा र एकताबारे जिम्मेवार हुने हो भने जसपा जोगाउन सकिन्छ ।

तपाईहरुका बीचमा त कसले पहिला नयाँ पार्टी घोषणा गर्ने भन्नेमा मात्रै अलमल भएको हो भनिन्छ नि !

नयाँ पार्टी घोषणा गर्ने सवालै उठ्दैन नि ! जनता समाजवादी पार्टी नेपालको प्रथम अध्यक्ष माननीय महन्थ ठाकुरजी हुनुहुन्छ । उहाँ पार्टीको हरेक समिति र संसदीय दलमा कम्फर्टेबल बहुमतमा हुनुहुन्छ । त्यसैले हामीले नयाँ पार्टी खोल्नुपर्ने छैन ।

कुनै व्यक्तिले नयाँ पार्टी खोल्न सक्छ । पार्टीको नीति निर्णय र एजेण्डा छाड्नेहरुले त पार्टी छाड्नैपर्छ नि । तर हाम्रो लागि जसपा नै निर्णायक हो । महन्थजीको नेतृत्वमा जसपा नेपालले आफूलाई अझ बढी जिम्मेवार र सक्षम बनाएर लैजान्छ ।

यतिधेरै विवाद छ अब जसपा एक रहन्छ वा रहन्न ?

हामी त अहिलेको अवस्थालाई अवसर बनाउन चाहन्छौं । नेताहरुले कुण्ठा त्याग्नुपर्‍यो । उपेन्द्रजीले गलत निर्णय गर्नुभएको छ । महन्थजी जत्तिको सिनियर नेताको अपमान गर्नुभयो । रातारात पार्टी फुटाउन तयार हुने मान्छे लिएर उहाँहरु हिड्नुभएको छ । आजसम्म भएका कमजोरीप्रति आत्मालोचना गर्नुभयो भने एकता कायम रहन्छ ।

ठाकुरकै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्दै हुनुहुन्छ हो ?

यो विल्कुल गलत हो । नयाँ दल खोल्नुपर्ने कुनै आवश्यकता हामीर्ला छैन । महन्थ ठाकुरजीको नेतृत्वमा पार्टी अगाडि बढ्छ । कसैले जसपाको मुद्धा र संगठनलाई कमजोर गराउन चाहेको छ भने त्यसको प्रतिवाद हामी गर्छौ । यो पार्टी लाखौ जनताको भावनासँग जोडिएको छ । मधेश आन्दोलनले उठाएका महान् एजेण्डाको यसले अगुवाई गरिरहेको छ । राजनीतिक रुपमा जसपाले अझ धेरै गर्न बाँकी छ । त्यसैले हामी जसपाको मूलधारको रुपमा रहन्छौं । जसपाको जनमत हामीसंग छ । नयाँ पार्टी खोल्ने कुरा हामीले सोचेको पनि छैनौं ।

लामो समयदेखि जसपाको विवाद निरन्तर छ । यसको वारपार कहिले हुन्छ त ?

हामी बाहिरका दुश्मनसँग लडिरहेका छैनौं । पार्टीभित्रकै साथीहरुका बीचमा सहमति बढेको देखिन्छ । यसलाई हामीले लडाई वा वारपार गर्ने विषयका रुपमा बुझेका छैनौं । जसपाको दायित्व भनेको आफ्ना नेता, कार्यकर्ता र एजेण्डाको रक्षा गर्नु हो । महन्थजीको नेतृत्वमा रहेको समूह समझदारी बनोस् भन्ने पक्ष छ । कसैसँग लडाइँ गर्न हामी चाहदैनौं ।

पार्टीका केही साथीहरु जो जसपाको मूलधारबाट बरालिनु भएको छ, उहाँहरुलाई संवादबाटै साथ लिएर जान सकिन्छ भन्ने हामीलाई लागेको छ । वारपार गर्नुभन्दा बढीभन्दा बढी कार्यकर्ताको साथ हासिल गर्न हाम्रा लागि महत्वपूर्ण छ । जसले पार्टी विभाजको चाहना राख्नुभएको छ उहाँहरु सच्चिनुको विकल्प छैन । उहाँहरु सच्चिनु भएन भनेपनि महन्थ ठाकुरजीको नेतृत्वमा जसपा नेपाल अगाडि बढ्छ । एकता नचाहनेहरु छुट्नुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर