स्वास्थ्य र कृषिमा केन्द्रित हुँदै लुम्बिनीको बजेट, ३९ अर्ब हाराहारीको आउने – Nepal Press

स्वास्थ्य र कृषिमा केन्द्रित हुँदै लुम्बिनीको बजेट, ३९ अर्ब हाराहारीको आउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेटमा स्वास्थ्य र कृषिलाई बजेटमा प्राथमिकतामा राख्ने भएको छ । यसअघि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा केन्द्रीत रहेर नै बजेट आउने प्रदेश सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री चौधरीले आगामी वर्षको बजेट स्वास्थ्य र रोजगारी सिर्जना गर्न उन्मुख हुने गरी आउने बताए । चौधरीले स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट तयार भइरहेको बताए । बजेटको ठूलो हिस्सा स्वास्थ्य, कृषि, बेरोजगारी अन्त्य, आर्थिक क्षेत्रको पुनरुत्थानमै केन्द्रित हुने उनले बताए ।

प्रदेश सरकारले जेठ २५ मा पेश गरेको नीति तथा कार्यक्रम ३० गते बहुमतले पारित भएपछि असार १ गते बजेट ल्याउन सरकारलाई सहज भएको छ ।

गतवर्ष ३७ अर्ब ३५ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि करिब ३९ अर्ब हाराहारीको बजेट ल्याउन लागेको छ । गतवर्षको तुलनामा २ देखि साढे ३ अर्ब बढीको बजेट आउने आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ ।

आगामी वर्षको बजेटमा सशर्त र समपूरक बजेटसहित झण्डै ४ अर्ब बजेट प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाउनेछ । त्यसबाहेक कोभिड कोषबाट खर्च गर्ने र महामारीमै खर्च गर्न मिल्ने गरी सरकारकै अर्थ विविध शीर्षकमा पनि ठूलै रकम रहनेछ ।

सरकारले आगामी वर्षका लागि महत्वाकांक्षी र नयाँ योजना कुनै पनि समावेश गरेको छैन । गत वर्षदेखिका राम्रा मानिएका मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, स्मार्ट कृषिलगायतका अभियानमुखी कार्यक्रम निरन्तर हुनेछन् ।

त्यस्तै सडक, पुल, सिँचाइ, विद्युत्लगायतका पूर्वाधार विकासका क्रमागत योजनाका लागि पनि पर्याप्त बजेट व्यवस्थापन हुने आर्थिक मामिला तथा योजनामन्त्री चौधरीले बताए । रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्योग स्थापना, कृषिमा युवा सहभागिता, रोजगारी प्रवद्र्धन गर्ने सहकारी संस्थालगायतका कार्यक्रम पनि सरकारको प्राथमिकतामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर